एमाले–माओवादी एकता भए कांग्रेस खुशी नै हुन्छ, मध्यस्थता गर्नुपरे पनि तयार छ : मन्त्री विश्वकर्मा

प्रकाशित मिति : २०७४ फाल्गुण २ बुधबार , ७,०४१ पटक हेरिएको
फाइल तस्विर

काठमाडौं । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीवीचको एकताको पक्षमा रहेकोले एमाले–माओवादीबीच एकता भए मुलुक र जनताको लागि पनि शुभ हुने विश्वास दिलाए । उनले भने,‘म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि कांग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु।’

नेता विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधि सभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाए आजै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउन सक्ने पनि स्पष्ट पारे । उनले भने,‘आयोगले आज मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्यूले आजै साँझ राजिनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौं।’

उनले मुलुकलाई सही दिशातर्फ डोर्याउनको लागि कांग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गराए । विश्वकर्माले भने,‘हामीले मुलुकमा जातीय, सामाजिक तथा क्षेत्रीय सद्भावलाई एकताबद्ध बनायौं, देउवा नेतृत्वकै सरकारले मुलुकमा एकता कायम गर्न सफल भएको छ, सबै निर्वाचन समयमै सम्पन्न गरेको छ, यो सरकार पूर्ण रुपमा सफल भएको छ, हामीले देश र जनताको हितमा केन्द्रित भएर काम गरेका छौं।’

त्यस्तै उनले आफूहरुले गरेका निर्णयहरुमा अरु दलले विरोध जनाएपनि ती निर्णयहरु पूर्णतयः देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर गरिएकोले विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । ‘हामीले वृद्धभक्ताको लागि ७० वर्षबाट घटाएर ६५ वर्ष बनायौं, यो निर्णय जनहितमा जारी छ, यसको लागि स्वयम मैलेपनि धेरै नै जोड गरेको थिएँ, यो काम राम्रो हो।’–उनले थपे।

मन्त्री विश्वकर्माले देउवा नेतृत्वको सरकारले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुमधुर बनाउनुको साथै अन्र्तराष्ट्रिय सम्बन्ध पनि राम्रो बनाउन सफल भएको स्पष्ट पारे । उनले वर्तमान सरकारले रचनात्मक र जनप्रिय कामहरु गरेको फेहरिस्त सुनाएका थिए । त्यस्तै उनले आफूहरुले भुकम्पपीडितको लागि थप एक लाख दिने निर्णयपनि सोचविचार गरेर नै गरेको जिकिर गरे ।

त्यस्तै उनले विकास निर्माणको लागि पनि आफूहरुले महत्वपर्ण निर्णय तथा कामहरु गरेको विश्वास दिलाए । उनका अनुसार जोगबनीमा आईसीपी बनाउने, दोधार–चाँदनीमा ड्राई–पोट बनाउने र अन्र्तराष्ट्रिय व्यापारलाई प्रर्वद्धन गर्न वर्तमान सरकारले जोड दिएको हो ।

त्यस्तै जनताको जीवनमा प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा पनि आफूहरुले महत्वपूर्ण योगदान पुर्याएको विश्वकर्माको विश्वास थियो । उनले भने,‘मृगौला, क्यान्सर, ब्रेन ट्युमर, मुटुरोगीहरुलाई माँसिक पाँच हजार दिने निर्णय गर्यौं, यो निर्णय गर्दा धेरै विरोध गरे।’

नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने स्पष्ट पारेका छन् ।

उनले भने,‘सरकार भनेको पार्टीको हुँदैन्, यो त देश र जनताको हो नि, देउवा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन्छौं, सरकारले गरेका निर्णयहरु किन उल्टाउनुपर्यो र ?’

यद्धपी उनले कतिपय निर्णयहरु उल्टाउनुपर्ने केही भए ती निर्णयहरुबारे जष्टिफाई हेरिनेपनि जनाए । अधिकारीले थपे,‘जनउपयोगी र लोककल्याणकारी निर्णयहरुलाई निरन्तरता दिन्छौं, सरकार त नेपाल देशको हो नि, राम्रा निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो।’ अधिकारीले राजनीतिक रुपमा अब बन्ने सरकारलाई आर्थिक असर पार्ने उद्देश्यले वा नियतले गरेका निर्णयहरुमा भने नयाँ सरकारले पूनरावलोकन गर्न सक्ने बताए ।

एमाले–माओवादीवीचको एकताले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने भएकोले एकताप्रति सबै जनता खुशी रहेको उनको विश्वास थियो । उनले भने,‘दुई पार्टीवीचको एकताले राजनीतिक अस्थिरताको अन्त्य समेत गरेको छ, अब सरकार दिगो हुन्छ, विकास निर्माणका कामहरुले गति लिन्छन्, मुलुकलाई समृद्ध बनाउने नै हाम्रो मुल उद्देश्य हो।’

डा. अधिकारीले ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको बहार ल्याउने र मुलुकको कायापलट गर्ने समेत विश्वास दिलाए ।

 

 

 

नयाँ