arrow

शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त, को हुन् पोखरेल ?

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
Shankar-Pokharel1.jpg

दाङ । एमाले प्रदेश ५ को संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्  । माओवादीको समर्थनमा आइतबार नै दावी पेश गरिएकामा वुधबार मात्रै प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विहिबार प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको सपथ लिने बताइएको छ । सपथ ग्रहणपछि मुख्यमन्त्री पोखरेलले विहिबारै एमाले माओवादीका मन्त्रीहरु सहभागि गराएर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने छन् । प्राविधिक कारणले मुख्यमन्त्रीको नियुक्ति ढिला हुन गएपछि प्रदेश ५ मा मुख्यमन्त्री भन्दाअघि सभामुख चुनिएको थियो ।

स्थायी समिति सदस्य समेत रहेका पोखरेल सबै भन्दा पहिले सर्वसम्मत प्रदेश संसदीय दलको नेता चुनिएका थिए । दाङ निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा ’क’ मा पोखरेलले २० हजार ७ सय ११ मत ल्याए । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेलाई हराएका हुन् । घिमिरेले ११ हजार ६१९ मत ल्याए ।

को हुन् पोखरेल ?
नेपालको वामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता मानिन्छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।

भारतमा पढ्दा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेले । तत्कालीन समयमा उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी सम्हाले  ।

कुनै समय दिवंगत मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिका निर्वाह गरे । २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल अहिले एमालेको स्थायी कमिटि सदस्य हुन् ।

उनी सर्वसम्मत प्रदेश ५ को संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने । २०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५–०४६ मा पञ्चायती व्यवस्था अन्त्यकालागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२–०६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व गरे ।

गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेलाहिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरे ।

जनकपुरमाभएको एमालेको सातौँ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उनले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुत गरेका थिए ।

राज्यको पुनसंरचना सम्वन्धि पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए ।  पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा उनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरियो ।  

त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गरेका पोखरेल भू्–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता हुन् । हाल पार्टीमा पोखरेलले पार्टी स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सृजनातर्फ पनिउत्तिकै सक्रियताका साथ कलमचलाएका छन् ।
पोखरेलले युगलहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन गरेका छन् ।

केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत सम्हाले । उनी पटक–पटक जेल गएका छन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य अहिले एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव छिन् । साथै उनी प्रतिनिधिसभाको जनजाती समूहमा एमालेको समानुपातिक कोटामा परेकी छन् । पोखरेलका दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ