arrow

जनतालाई किन ढाँट्दैछन् केपी र प्रचण्ड ?

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
oli-prachanda.jpg.jpeg

काठमाडौँ । एकता प्रक्रियाबारे माओवादी र एमालेका अध्यक्षबीच मंगलबार भएको एक्लाएक्लै वार्ता र त्यसमा भएको भनिएको सहमतीमाथि यावत शंका गर्ने ठाउँ भेटिएको छ । मंगलबार वार्ता भईसकेको भनेको विषयलाई पनि बुधबार बसेको संयोजन समितिको बैठकले पूर्णता दिन नसकेको र त्यसमा थप छलफल आवश्यक रहेको भन्न थालेपछि एक्लाएक्लै वार्तामा समेत ठोस निर्णय भयो नै भन्न सक्ने अवस्था नरहेको हो । एक्ला एक्लैै वार्ताका क्रममा विभिन्न विषयमा सहमती भएको र बुधबारको संयोजन समितिको बैठकमा त्यसको अनुमोदन गर्ने भनिएको भएपनि बुधबारको संयोजन समितिको बैठक पनि ठोस निर्णय विना नै उठेको छ । 

एकताको खाकालाई निष्कर्षमा पुरयाउन बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको एमाले नेताहरुले बताएका छन् । अहिले सरकारमा दुबै दल सहकार्य गरेर जाने विषयमा यस अघि पनि विवाद थिएन र यसमा संयोजन समितिको बैठकले गरेको यो निर्णयलाई त्यस्तो ठूलो निर्णय मान्नुपर्ने अवस्था पनि देखिँदैन । 

एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको नेताहरुले बताएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष आजै बुझाएकाले अब आफूहरुले तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनेमा कुनै दुविधा नभएको संयोजन समितिका सदस्य एवं केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

मंगलबारको दुई अध्यक्षहरुको बीचमा भएको भनिएको सहमतीबारे पनि समितिको बैठकले केही पनि निर्णय गरेन । एकता बैठकअघिको एमाले स्थायी कमिटीको बैठकले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको सन्दर्भमा एकता प्रक्रियालाई पनि तीव्रता दिन दुई दलले निर्णायक वार्ता गरेका हुन् । यस अघि नै प्रधानमन्त्रीमा माओवादीले दाबी पनि गरेको छैन । माओवादीले पार्टी अध्यक्षको लागि अहिले एमालेसँग वार्गेनिङ गरिरहेको छ । यही नेतृत्वको विषयमा अहिलेसम्म कुनैपनि सहमतीमा पुग्न नसकेका यी दुई दलका अध्यक्षहरुबीच मंगलबार भएको एक्ला एक्लै वार्तामा पनि केही सहमती हुन नसकेको आशंका गर्न थालिएको छ । 

आफ्ना कार्यकर्ताहरुमा एकता प्रक्रियाप्रति नकारात्मक भावना जागृत हुन नदिनको लागि नै दुई अध्यक्षबीचको वार्तामा सहमती नभएको विषयमा पनि सहमती भएको सन्देश फैलाउने गरेको समेत भेटिएको छ । मंगलबारको बैठकमा दुबै दल सहअध्यक्ष बन्न तयार भएको विषयमा सहमती भएको भन्ने विषय सार्वजनिक भएपनि आजको संयोजन समितिको बैठकमा यसबारे सहमती हुन नसकेपछि दुई अध्यक्षहरुले जनतालाई ढाँटिरहेको पुष्टि भएको हो । तर, उनीहरुले जनतालाई भने किन ढाँटिरहेका छन् भन्ने बारेमा भने सबै कुरा बाहिर आउन सकिरहेको छैन । माओवादी स्रोतका अनुसार नेतृत्वको विषयमा दुबै पार्टीले ठोस सहमती गर्न नसकेको भएपनि जनतासँग मत लिन गएको बाचा नेतृत्वको लागि भुलेको भनेर आरोप लाग्ने देखेपछि उनीहरु सधैंभरी सहमती भएको भनेर जनतालाई झुक्याउने गरेका छन् । 
 
मंगलबार ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले दुई पार्टीका अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता र गृहकार्यको बिफ्रिङ भई गम्भीरतापूर्वक छलफल भएको तर केही विषयमा टुङ्गो लगाउन पुनः बैठक बस्ने नेताहरुले बताएका छन्। “कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने । 

संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताए तर उनले थप प्रतिक्रिया दिन चाहेनन्। दुई पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो वा कसरी कार्यविभाजन गर्ने तथा वैचारिक राजनीतिक सिद्धान्तमा थप छलफल हुँदै आएको छ । 

संगठन र विचारसम्बन्धी कार्यदल बन्ने 

आजको बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने जनाउँदै भने, “एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, ५ प्रतिशत मिलाउन पुनः बस्ने तय भएको हो, अब एकता हुने भन्नेमा कुनै विवाद छैन ।” दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ