arrow

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

logo
प्रकाशित २०७४ फागुन ५ शनिबार
Ctevt.jpg.jpeg

भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ ।  भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताए ।

गरी खाने शिक्षा नै प्राविधिक शिक्षा भएकाले अब प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालयले बजारमा बिक्न सक्ने गरी युवा तथा विद्यार्थीलाई तयार गर्नुपर्नेमा उनले जोड दिए ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै पाठ्यक्रम विकास केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय पाठ्यक्रम, उत्पादित जनशक्ति, देशमै खपत हुने गरी पाठ्यक्रम निर्माणको तयारीमा रहेको जानकारी दिए ।

उनले अहिले उत्पादन भइरहेका जनशक्ति विदेश पलायन भइरहेका तर देशमा भने काम गर्ने युवाको अभाव हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको छ भने।

भेलामा संघीय तथा स्थानीय तहमा प्राविधिक शिक्षाको स्थान, कक्षा थप, व्यावहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालीम प्राप्त उपलब्धिको स्थायित्व, विद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल गरिनाका साथै प्रदेश र जिल्लास्तरमा समेत सञ्जाल निर्माणबारे विस्तृत बहस हुने सञ्जालका केन्द्रीय अध्यक्ष एवं पद्म उमाविका प्राचार्य राम हाडाले बताए ।

सञ्जालका अध्यक्ष हाडाले भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने सय विद्यालयका प्राचार्य वा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको जानकारी दिए ।

सञ्जालका सचिव ध्रुव गिरीले भेलाका क्रममा प्रदेश नं १ देखि ७ सम्मका बिद्यालयको समूहगत समस्या तथा सुझाव संकलन गरी निर्णय अभिलेखीकरण गरिने बताए ।

सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको आधार मान्दै छनोटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्लनमा ल्याएको थियो । हाल देशभरका २८४ विद्यालयमा प्राविधिक, शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ भइरहेको सञ्जालले जनाएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ