- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ललितपुरको पाटनमा नवनियुक्त कुमारी निहिरा वज्राचार्य शनिबार विधिवत् रुपमा कुमारी घर प्रवेश गर्दैछिन । गएको माघ २२ गते छनौट भएकी ५ वर्षीया कुमारी निहिरा बाजागाजाका साथमा हखाबहालबाट रत्नाकर बिहारस्थित कुमारी घरमा प्रबेश गर्न लागेकी हुन् ।
बेलुकी करिब ५ बजे कुमारी निहिरा परिवारका साथमा कुमारी घर प्रवेश गर्न लागेकी हुन । हखावहाल स्थित रत्नाकर विहारमा आवद्ध रहेका बज्राचार्य कुलकी बालिका मात्रै पाटनकी लायकु कुमारी बन्न पाउने नियम छ ।
नवनियुक्त कुमारी निहिरालाई विशेष तासको पहिरन र बिभिन्न गहनामा सजाएर तलेजुको मुल पुजारीको पट्को स्थित घरमा राखेर तान्त्रिक विधि अनुसार गोप्य पुजा साधना गर्ने परम्परा छ ।
पुजामा कुमारीसँग दिक्षान्त लिएका पुजारी र उनकी श्रीमतिबाहेक अन्य बस्न पाउदैनन् । पुजापछि त्यहा पुजारीको घरबाटै सास्कृतिक बाजागाजा सहित रत्नाकर विहारस्थित कुमारी घरमा प्रबेश गराई कुमारीलाई सिंहासनमा राखेर तलेजुको तरवार , नबरत्न जडित मुकुट , जन्तर , नागमाला , कलात्मक तायो लगाइदिने तलेजु पुजा समितिले जनाएको छ ।
कुमारीले आजदेखि रातो पहिरनमात्रै लगाउने , कुखुरामासु , अण्डा, प्याज बार्नुपर्ने, बाहिरको खाना खान नहुने , बाहिर जुनसुकै बेला निस्कन नहुने र बिद्यालय पढ्न जान नहुने परम्परा छ ।
अबदेखि कुमारी घरमै बसेर निहिराले आफनो पढाई गर्नेछिन । कुमारी निहिरासँगै उनको परिवार पनि यही दिन कुमारी घरमा पवेश गर्नेछ । कुमारी रेखदेखका लागि ललितपुरको पाटनमा छुट्टै चिताइदारको व्यवस्था नभएकाले उनको रेखदेख घरपरिवारका आमा बुबाले गर्नुपर्ने निहिराकी आमा मोहिनी बज्राचार्यले बताएकी छिन् ।
मोहिनी स्कुल पढाउने गरेको तर छोरीलाई कुमारीका रुपमा विशेष पुजा गर्नुपर्ने भएकाले शिक्षण पेशा छोडेको सुनाउछन् । समयबजी सहितको दैनीक कुमारी पुजा गर्न र आरतिका लागि मासिक रुपमा दश हजार खर्च लाग्ने गरेको छ ।
कुमारी व्यवस्थापनका लागि ललितपुर महानगरबाट मासिक ५ हजार , कौशितोषाखानाबाट २ हजार १ सय र गुठी संस्थानबाट तीन हजार रुपैया पाउने व्यवस्था गरिएको छ ।
कुमारीलाई तुलजा भवानीको प्रतिकका रुपमा राष्टको रक्षाको देवी मानिन्छ । यसअघि , रजस्वला भएर युनिका बज्राचार्य गएको पुस मसान्तमा कुमारीबाट अबकाश पाएकी हुन ।
रजस्वला भएमा , दात झरेमा वा घाउचोटपटक लागेमा कुमारीले अवकाश पाउने र नया नियुक्त हुने परम्परा छ । प्हिले टोलटोलमै कुमारी रहने परम्परा रहेपनि आर्थिक कारणले धेरैजसो कुमारी लोप भइसकेका छन् । अहिले सरकारबाट मान्यता प्राप्त देशभरीमा ८ स्थानमा कुमारी रहने परम्परा कायमै छ ।