arrow

४० वर्षदेखि कबाडीमै खाने कबाडीमै सुत्ने विरलालका साहु चैँ ब्याचलर पढेका !

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन ५ शनिबार
kabadi_news.jpg

काठमाडौं । नाम-आयुष श्रेष्ठ । घर-काभ्रे पनौती । पढाई ब्याचलर । काम-‘कबाडी साहू । उनी काठमाडौं आएको १२ वर्ष भयो ।

उनले सुरुमै आफ्नो आन्तरिक कुरा भनिहाले, ‘परिवारमा सबै जना छन् । तर, मेरो विहे चैँ भएको छैन ।’ निकै हँसिला पनि छन् आयूष । उतिकै मिजासिला ।

कबाडी उठाउनु अहिले उनको दैनिकी हो । तर, उनी आफू साहू । अरुले कबाडी उठाएर ल्याउँछन् ।
कबाडी उठाउनु भन्दा पहिले के गर्नु भो ? जवाफमा उनले भने, ‘धेरै काम गरे । कम्प्युटर टिचिङ पनि गरे ।’ यसमा कसरी आउनु भो त ? ‘दाईले सुरु गर्नु भएको थियो । दाईलाई सघाउन भनेर आएको यसैमा लागे । अरु साथीहरु पनि छन् । उनीहरु नभएको बेलामा मात्र म बस्छु’, उनको जवाफ थियो ।

आफुहरुसँग अहिले काम गर्ने तीन–चार जना रहेको उनले बताए । अरु ठाउँमा कबाडी उठाउनेहरुलाई पनि बस्ने ठाउँ दिएका छन् उनले । कति दिनुहुन्छ काम गर्नेलाई ? जवाफमा उनले भने, ‘हेरेर पाँच हजार देखि माथि ।’ घरबाट निस्कने फोहर, अफिसलाई काम नलाग्ने सामान उठाउँछौँ ।

उठाईसकेपछि फलाम, धातु, कागज र प्लाष्टिक छुट्याउँछौँ, उनले भने, ‘बेच्न पनि छुट्टा–छुट्टैलाई बेच्छौँ ।’
उनका अनुसार यसबाट फाइदा हुन्छ तर देखिँदैन । पछि हिसाब गर्दा ठिकै लाग्छ । पहिले अफिसको सामान बेच्दा ठिकठिकै नाफा भएपछि एउटा ठाउँ लिएर कबाडीको व्यापार गर्ने सोंच आएको सुनाउँछन् उनी ।

यो काममा उत्तिकै दुःख छ, उनले भनेका छन्, ‘फोहर चलाउनै पर्छ । सानो सानो फलाम निकाल्न मिहेनत चाहिन्छ । सामान लिन गयो भने घरबेटीले घर नै सफा गर्न लगाउँछन् ।’ कुनै सामान दिउँसो उठाउन सकिँदैन, उनले भने, ‘अफिसको सामान दिउँसो उठाउन सकिँदैन । विहान वा बेलुका पार्नु पर्छ । दिन रात भन्न पाइँदैन ।’

यो काम गरेपनि उनले आफुलाई लागेको ऋण तिरे । घरखर्च चलिरहेको छ । यहाँको भाडा, स्टाफ खर्च पुगिरहेको छ । दिनमा कति कमाउनु हुन्छ ? जवाफमा उनले भने, ‘फिक्स हुँदैन । ५० हजार देखि डेढ लाखसम्म कमाई हुन्छ ।’

कहाँ बेच्नु हुन्छ ? ‘ललितपुरको सानेपामा हामी मध्यम स्तरका व्यापारीलाई दिन्छौँ । उनीहरुले ठूला व्यापारीलाई दिन्छन् ।’ यहीँ प्रयोग हुने सानमा यतै प्रयोगमा ल्याउने बनाइन्छ । यहाँ पुनःनिर्माण नहुने सामान भारत पठाइन्छ, उनले भनेका छन् ।

रौतहटका विरलाल यादव कबाडी उटाउँछन् । काठमाडौं आएको ४० वर्ष भयो भन्छन् उनी । कबाडीमै खान्छु, कबाडीमै सुत्छु, कबाडी टिप्न हिड्छु, उनले भने, ‘घर–घर चहार्छु । गाउँमा के गर्नु हुन्थ्यो ? जवाफमा उनले भने, ‘गाउँमा ज्याला मदजुरी थर्गे । जग्जा कमौति गर्थे ।’ परिवारका अन्य सदस्यले ज्यादा मजदुरी नै गर्ने उनले सुनाए । घरमा दुई चार कक्षा बाहेक ससैले उच्च शिक्षा हासिल गरेका छैनन् ।

उनले भनेका छन्, ‘गाउँमा खेतीपातीको काम सकेर काठमाडौँ आउँछु ।’ दिनमा कति कमाई हुन्छ ? ‘२ सय कमाउँछु, एक सय खान्छु एक सय बचाउँछु ।’ ढाँट्नु भो ? ‘हैन किन ढाट्नु । यसले परिवार धान्दैन । हामीले अरुको जस्तो घर गग्जा जोड्ने कुरा सोच्न सक्दैनौँ ।’

कराउँदै हिँड्दा वाक्क लागेन ? ‘दिक्क त लाग्छ । तर, नगरी के गर्नु ? दुई तिन लिटर पानी बोकेर हिँड्छु घाँटी सुक्छ ।’ के गर्नु निकै गाह्रो छ  । कहिले काँही साइकल विग्रिन्छ, कबाडी टाउकोमै बोक्नु पर्छ । साइकल मर्मत गर्न पनि पैसा नै चाहिन्छ । १५–१५ दिनै बनाउनु पर्छ ।

रौतहटबाटै आएका विराराय यादव पनि विरलाल जस्तै कबाडी उठाउँछन् । उनको घरमा ६ जना छन् । काठमाडौँ आएको २२ वर्ष भयो । घरमा तीन जना कमाउने ६ जना खाने छन् । उनले अरुले काम गरेको देखेर खाली बस्न मन लागेन भने । यही काम गर्न अब बानी परिसक्यो, उनी भन्छन्, ‘बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खट्छु ।’

बोलेको बोल्यै गर्दा थाकिन्छ, मान्छेहरुले पनि कराउँछन्, उनले भने । घरमा महिनाको ६–७ हजार पठाँछन् उनी । के खानु हुन्छ ? ‘कहिले काँही नुन र भात मात्रै । कहिल्यै त राम्रै खान्छौ । कमाई नभएको दिन साहुसँग सापटी मागेर पनि चलाउँछौँ’ उनले जवाफ दिए ।

कहिल्यै त भोकै पनि हुन्छौँ । यो काम गर्न थालेपछि दुःख गरेर खान पुगेको छ, उनले भने, ‘यसैमा खुसी छौँ ।’ विरलाल र विरारायले नपढेकै कारण कबाडी उठाउनु परिरहेका छ भने, आयूष ब्याचलर पढेर पनि कबाडी उठाईरहेछन् । सरकारले यसलाई रोजगारीमा गन्ला कि नगन्ला ?  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ