arrow

तयारी बिनाको रडाको, भूमरीमा फसे एमाले–माओवादी, जबजको जात्रा

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
uml-maobadi-new.jpg

काठमाडौं । ‘बिना योजना लडाइंको घोषणा गर्ने सेनापति युद्धमा होमिएपछि सुरुमै मर्न बेर लाउँदैन । गहिराई पत्तो नलगाई नदीमा हाम फाल्ने मानिस फर्कन गाह्रो हुन्छ । त्यस्तै लाइट नलगी रातमा हिंड्ने घर पुग्दैन ।’

यस्ता भनाइहरु अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको विषयलाई लिएर मिल्न थालेका छन् । चुनावी एकता र पार्टी एकता भन्ने कुरा आकाश जमीनको फरक हो भन्ने थाहा पाउन नसकेर अहिले दुवै दलका नेताहरुलाई एकता प्रक्रिया ‘निल्नु न ओकल्नु’ भएको छ । 

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका दुई दलले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरण लम्बिएको छ । 

भनाइमा कुर्सी प्रक्रिया नमिलेको बताइए पनि पार्टीहरुको फरक राजनीतिक धार र सिद्धान्तले अहिले आपसमा घुँडा जुधाइरहेको अवस्था छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीकै समर्थनमा प्रधानमन्त्री बने पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया भूमरीमा फसेको छ । 

ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोप्य छलफलमा भेट्छन् तर उनीहरुले एकीकरणको चुरो कुरो दोस्रो तहका नेताहरुलाई बताउँदैनन् । 

यो गुपचुप स्थितिले एकता प्रक्रिया झनै संकटमा फसेको छ । ओली शान्त छन् भने प्रचण्ड आफ्नो कमजोरी लुकाउँदै मनको कुण्ठालाई ‘पार्टी एकता नगर्न बाह्य दबाब बढ्यो’ भनिरहेका छन् । 

पार्टी एकीकरणको खाका तयार पार्नका लागि केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठक बस्न बसेको छैन।

एकीकरणका सम्बन्धमा दुवै नेताबीच भएको तयारीबारे जानकारी नपाउँदा अन्य नेताहरु असन्तुष्ट बन्दै गएका छन् । ‘दुवै नेताहरुबीच सहमति भयो भन्ने विषय आउँछ तर के भयो भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘सहमति भएको हो कि नभएको हो त्यस विषयमा हामी अन्योलमा छौं ।’

अल्झन के मा ? 
दुई पार्टीबीचको सबैभन्दा ठूलो अल्झन सिद्धान्तमा हो । दुवै पार्टीका सिद्धान्त मिल्दैनन् । चुनावमा मिलेको त केवल स्वार्थका लागि मात्र थियो । 

एमाले ‘जनताको बहुदलीय जनवाद’ जबज अबको पार्टी सिद्धान्त हुनुपर्ने अडानमा देखिएको छ । तर ज्यानको बाजी लगाएर सशस्त्र द्धन्द्धमा होमिएको माओवादीलाई जबज स्वीकार्य छैन । 

सहमतिको बाटोमा गएर आफ्नो पार्टीको नैतिकता नै बिर्सन थालेको भन्दै प्रचण्डको पार्टीभित्रै आलोचना हुन थालेको छ । 

एक माओवादी कार्यकर्ताले भने, ‘हामी परिवार गुमाएर यही पार्टीको सर्वहारा सिद्धान्त बोकेर हिंड्यौं अहिले कुर्सीको स्वार्थका लागि हामीलाई लात्तीले कुल्चिरहेका छन् ।’

जनताको बहुदलीय जनवादलाई एमालेले नै भुल्दै गएको छ । तर यसपटक यो बहस चर्किएको छ । 

एमाले नेताहरु जबज ब्यूँताउने राम्रो अवसर भएको प्रतिक्रिया दिन्छन् । एमाले नेता विष्णु रिजाल लेख्छन्, ‘जनताको बहुदलीय जनवाद (जबज) को साँच्चै ‘च्याप्टर ओपन’ हुने भएछ । पाँचौँ महाधिवेशनले अत्यधिक मतबाट कार्यक्रमका रुपमा पारित गरेको, छैटौँले समृद्ध गरेको र सातौँ, आठौँ र नवौँ महाधिवेशनले मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गरेको जबजलाई मार्गदर्शक सिद्धान्तबाट हटाएर अब आवश्यक छ कि छैन भनेर माओवादसँगै बहसमा लैजाने भएपछि ‘च्याप्टर ओपन’ भएन त ?’

चुनावमा जाँदा ६०–४० र प्रदेश सत्ता बाँडफाँडमा ७०–३० को भागबण्डा लिएको एमालेले पार्टी मिलनका बेलामा पनि आफ्नो हिस्सा पक्कै छोड्ने छैन । यो अवस्थामा के एमालेले माओवादीको एजेन्डा मान्ने देखिन्छ र ? 

एक माओवादी नेता एमालेले जबजको जात्रा गरेको आरोप लगाउँछन् । उनले हाम्राकुरासंग भने, नेतृत्वले जवरजस्ती एकता गर्न खोजेर यस्तो भएको हो, कुनै पनि एंगलबाट एमाले र माओवादी मिल्ने स्थिति देखिँदैन, सिद्धान्त नै मारेर त के राजनीति गर्नु ? के हामी अब फेरि सुरुदेखि नै राजनीति गर्ने हो र ?’

उनको भनाइमा माओवादीले जबज मान्नु भनेको त पार्टी एकता हैन सीधै एमालेमा प्रवेश जस्तै हो ।

त्यसैले पनि माओवादीका दोस्रो तहका धेरैजसो नेताहरु पार्टी एकतामा राजी छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ