arrow

के खुवाए मेडिकल कलेज सञ्चालक प्रँसाईले ओली–प्रचण्डलाई ?

वार्ता गर्ने ठाउँ फेरियो, ‘ ठेकेदारको घर सानो भो, मेडिकल कलेज सञ्चालककाे घर शान्त’

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
oli-_prchnd.jpg

काठमाडौँ । एमाले र माओवादीको वाम एकताको छलफलका क्रममा विभिन्न औपचारिक भन्दा पनि अनौपचारिक विभिन्न दृष्यहरु देखिन थालेका छन् ।

वाम एकतालाई मूर्त रुप दिन भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकान्त खोज्ने क्रममा ललितपुरबाट भक्तपुर सरेका छन् ।

शान्त वातावरण खोज्दै केही दिन पहिले ललितपुरको मानभवन पुगेका दुई शीर्ष नेता शान्त वातावरणकै लागि भक्तपुरको ठिमी पुगेका हुन् । केही दिन पहिले एमालेको आकस्मिक स्थायी समिति बैठक ललितपुर मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्यो।

ठेकेदार अधिकारी दाहाल निकट व्यवसायी हुन् । पछि पार्टी एकता संयोजन समितिको बैठक पनि त्यही बस्यो । त्यो घरमा बसेको बैठकबाट निष्कर्ष निस्केन । त्यो घर साँघुरो लाग्यो र त्यो भन्दा शान्त तथा बढी  फैलावट भएको हल चाहियो । र, ठीमी पुगे ओली–दाहाल ।

ठीमीमा ओली–प्रचण्ड पसेको घर हो,–झापामा प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको । उनी पनि दाहाल निकट व्यवसायी हुन् । प्रसाईँले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लबिङ गरिरहेका छन् । ओली र दाहाल त्यसप्रति सकारात्मक रहेको कुरा बाहिर आइसकेको छ ।  

बी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिन वाम गठवन्धनको कार्यदल

बी एण्ड सी, मनमोहन मेडिकल कलेज लगायतलाई सम्बन्धन दिलाउन भन्दै वाम गठबन्धनले एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सुझाव कार्यदल बनाएको छ। त्यो कार्यदलले सोमबार सुझाव एकता संयोजन समितिलाई बुझाउने छ । जहाँ ओली र प्रचण्ड लगायत शीर्ष नेताहरु छन् ।

सुझाव बुझाउने अघिल्लो दिन बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको घरमा दुई शीर्ष नेता नै भात खान पुगे । आइतबार विहान ११ बजेदेखि छलफलमा जुटेका उनीहरुले नेपाली सादा खाना  खाएको भनिएको छ । ओली–दाहाल र प्रसाईँ एउटै टेबुलमा खाना खाइरहेको तस्वीर पनि बाहिरिएको छ । एक्ला एक्लै भेटका कुराहरु बाहिर नआएपनि अनौपचारिक कुराहरु बाहिर आइरहेका छन् ।

के खुवाए त व्यवसायी प्रसाईले ?

‘ओली–र दाहालका लागि ‘ब्राउन राइस’ र केही थरि दाल, तरकारी र सागको  व्यवस्था गरे ।’ ओलीले खाना खाँदा काँटा तथा चम्चा प्रयोग गरे भने, दाहालले सँधैझै हातैले खाए । खानाका क्रममा मात्रै व्यवसायी प्रसाईं मिसिए । एक्ला एक्लै वार्तामा ओली र दाहाल फेरि छिरे ।

गएको वुधबार राति मानभवनमा भएको समझदारीले खासै प्रगति भएन। एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने अडान लिएपछि सम्वाद लम्बिएको छ । शनिबार पनि ओली र दाहालबीच भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ