arrow

हाम्रो लक्ष्यः सशक्त विचार र सुदृढ संगठनको काँग्रेस

logo
नविन्द्रराज जोशी,
प्रकाशित २०७४ फागुन ७ सोमबार
congress-leaders-interaction-nabindraraj.jpg

काठमाडौं। नेपाली काँग्रेसले वर्तमान राजनीतिक परिस्थितीमा कस्तो भूमिका खेल्छ ? आफ्नो जिम्मेवारपूर्ण लोकतान्त्रिक शक्तिको सेतुरुपी परिचयलाई अब कसरी उजिल्याउँछ र जनताबीच प्रभावकारी रुपमा पुनर्स्थापित हुन के नयाँ कार्यक्रम ल्याउँछ भनेर सम्पूर्ण लोकतन्त्रवादी शक्ति र लोकतन्त्र समर्थक जनमानस प्रतिक्षारत छन् । लोकतन्त्रवादी मात्र होइन नेपालको भविष्य प्रति चिन्तित सम्पूर्ण नेपाली जनतालाई नेपाली काँग्रेसले लिने नयाँ कदमको विषयमा चासो र चिन्ता छ । यस अवस्थामा नेपाली काँग्रेसले विगत देखि वर्तमानसम्म मातृभूमिका लागि गरेको त्याग र तपस्याको जनतामा सही मूल्यांकन गराउने र अझ सबल रुपमा जनताको सच्चा प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिको रुपमा कसरी अगाडि बढ्दै जाने भन्ने विषयमा राष्ट्रिय रुपमै छलफल, बहस गरी नीति तय गरी यसको प्रभावकारी कार्यान्वयन गर्न अत्यन्त जरुरी छ।

नेपालको मूल राजनैतिक आन्दोलनहरुको मियो, संघीय, गणतान्त्रिक संविधान निर्माणमा स्पष्ट नेतृत्व, र संविधानतः स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचन जिम्मेवारीपूर्वक गराउने नेपाली काँग्रेसलाई जनताले सरकारमा पुग्न चाहिने यथेष्ट समर्थन किन दिएनन् ? वाम गठबन्धनका कारण हामी हारेका हौं भन्ने जवाफ सजिलो होला तर त्यो मात्रै सम्पूर्ण आधार होइन। हाम्रो पार्टिको सांगठनिक स्थिति, विचार प्रवाह, जनता संगको संवाद, विरोधिहरुका मिथ्यापूर्ण प्रचारको जवाफ, प्रचार संयन्त्र जस्ता विषयहरु पनि गम्भिर विश्लेषणका विषयहरु छन्। वर्तमान परिस्थितीमा जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बसेर अग्नि परिक्षाबाट गुज्रिनका लागि अभिमत व्यक्त गरेको देखिन्छ। यो अग्नि परिक्षामा हामी सफल हुन सकेनौ भने नेपाली काँग्रेसको आदर्श अनुरुपको देशको भविष्य बनाउन निकै लामो समय लाग्ने संभावना देखिएको छ, जुन देशको लागि विडम्बना हुनेछ । त्यसैले हामीले कुन कुन विषयमा कस्तो नीति र कार्यक्रम तय गर्ने र क–कसले कस्तो भूमिका निभाउने ? जनताको हित, भावना र चाहना अनुसार समर्पित हुँदै जाने भन्ने जस्ता विषयमा बुँदागत छलफल गर्न यो भेला आयोजना गरेका हौं। यसलाई मूलभूत रुपमा तीन खण्डमा विभाजित गरेका छौंः

क)गतिशील प्रतिस्पर्धी पार्टी र सक्षम नेतृत्व
ख)विधानको सर्वोपरिता र समयोचित संशोधन
ग)अगाडिको बाटो  

क) गतिशील प्रतिस्पर्धी पार्टी र सक्षम नेतृत्व
नेपाली काँग्रेसले नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम र गणतान्त्रिक लोकतन्त्रको गौरवशाली नागरिक बनाउनका लागि जे जस्तो भूमिका खेलेको छ त्यसलाई सशक्त ढंगले जनता सामू ल्याउन सकिएको छैन। नेपाली जनतालाई जहानियाँ शासकको रैतीबाट संघीय, लोकतान्त्रिक गणतन्त्रको स्वतन्त्र जनता बनाउनका लागि यो दलले खेलेको भूमिका सारा मानव जातिको लागि गौरवशाली इतिहास हो, र अघिल्ला पुस्ताको यो पौरखको लागि हामी कृतज्ञ छौं ।  

हाम्रा अग्रजहरूले ‘लोकतन्त्रको जगमा उभिएर राष्ट्र निर्माण गर्न’ का निम्ति पार्टिको स्थापना गरेका थिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली काँग्रेसले आफ्नो आदर्शका रूपमा ग्रहण गरेको छ । यी आदर्श अंगिकार गर्दै हरेक नागरिकको आर्थिक, राजनीतिक र सामाजिक अवस्था सुदृढ तुल्याउनु काँग्रेसको उद्देश्य हो । यी उद्देश्य प्राप्तिका लागि नेपाली काँग्रेस आफैपनि सशक्त, सुदृढ र सुसंगठित हुनु जरूरी हुन्छ। 

नेपाली काँग्रेसको नेतृत्वले निर्वाचनको परिणामलाई विश्लेषण गर्न आवश्यक छ । पार्टीको नेतृत्वले मुलतः जिम्मेवारी लिनु पर्दछ । विगतका दिनमा पार्टीका संगठनका संयन्त्रहरुलाई दुरुस्त राख्न नसक्नु, सत्तामा रहँदा उठेका विवादास्पद विषयहरु जस्तै अख्तियार प्रमुख, प्रधान न्यायधिस राजदुत नियुक्ती जस्ता विषयहरुमा जनता समक्ष स्पष्ट रुपमा प्रस्तुत हुन नसक्नु, विपक्षहरुको रणनीतिलाई पहिचान गरेर चिन्न नसक्नु, विपक्षहरुका भ्रम र मिथ्याहरुको डटेर सामना गर्न नसक्नु, पार्टीका सबै साथीहरुलाई समेटेर पूर्णतया निर्वाचनमा होमिने उत्साह दिन नसक्नु जस्ता कमि कमजोरी नेतृत्व तहको रह्यो । यसप्रति नेतृत्व तहले गहन जिम्मेवारी बोध गर्न आवश्यक छ । हाम्रो प्रचारको कमिका साथै नेतृत्वले टेलिभिजन र पत्रिकामा व्यक्त गर्ने विचार र प्रदर्शन गर्ने विचारप्रति पनि संवेदनशील हुन आवश्यक छ ।

नेपाली काँग्रेस सत्तामा गएन भन्दैमा देश र जनताप्रतिको यसको जिम्मेवारी कुनैपनि अवस्थामा कम हुँदैन । संघीय तथा प्रदेश स्तरमा छाया सरकार तथा स्थानीय तहमा न्यायपूर्ण शासन व्यवस्था र सूशासनको प्रत्याभूति गराउन निगरानी समूहको गठन हुनु पर्दछ । जनताका मुद्दाहरु उठाउँदै लैजानु पर्दछ । यस्ता छायाँ सरकार तथा निगरानी समूहमा रहेका व्यक्तिले जनहितको विषयमा सशक्त ढंगले आमसंचार माध्यमलाई समेत विश्वासमा लिएर सरकारका प्रत्येक क्रियाकलापको मूल्यांकन गर्नु पर्दछ । साथै खुलेआम र नीतिगत भ्रष्टाचारलाई दूरुत्साहन गर्नु पर्दछ । 

२०७४ सालको शूरुवातमा भएको स्थानीय तहको निर्वाचनमा वामपन्थी दलको अवस्था बलियो देखिएको थियो। तत्कालिन अवस्थामा पार्टीको स्थितिको मूल्यांकन र भावी रणनीति तयार पार्न नसक्दा हामी पछाडी पर्यौं‍। र असोजमा वाम गठबन्धन बनिसकेपछि रणनितिगत रुपमा कुन पार्टीसँग सहकार्य गर्ने हो त्यसको यथार्थ विश्लेषण गर्न सकेनौं । कतिपय अवस्थामा आफ्नै दलका साथीहरूले स्थानिय निर्वाचनमा अन्तर्घात गरेको देखिएको थियो, तर तिनको विरुद्ध कुनै कारवाही प्रक्रिया अघि बढेन । र त्यसले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रश्रय पायो । विना पूर्वाग्रह आवश्यक कारवाही र पार्टीका कार्यकर्ताहरुलाई अनुशासित बनाउँदै गतिशिल र प्रतिष्पर्धी पार्टी बनाउन जरुरी छ । 

नेपालको राजनीतिक प्रणालीलाई कहिले उग्र राष्ट्रवाद र कहिले उग्र साम्यवादले कहिल्यै पनि स्थिर र संस्थागत हुन दिएन अनि जनतालाई भ्रममा पार्ने निरन्तरका खोक्रा क्रान्तिवादले देशलाई सधैं अस्थिर र कमजोर बनाइराख्यो । आज बाम गठबन्धनको नाममा सबै राजनीतिक दलहरुले स्वीकारेर संविधानमा व्यवस्था गरिएको मूल राजनैतिक संसदीय प्रणाली माथि नै प्रश्न उभ्याएर देशमा अस्थिर राजनीतिक या द्वन्द्वात्मक राजनीतिक अभ्यास अगाडि बढाउने दुराशयपूर्ण नियत देखिएको छ। तसर्थ यसबाट प्रष्ट हुन्छ बामहरुको लोकतन्त्रप्रति प्रतिबद्धता भरोसायोग्य छैन। लोकतन्त्रको खोल ओढेर अधिनायकवाद र साम्यवादका अग्ला पर्खाल खडा गर्ने प्रयास कतिपयले यद्यपि गरिरहेकै छन् । लोकतन्त्रको बर्को ओढेर एउटा पाइला ‘साम्यवाद’ अनि अर्को पाइला ‘व्यवहारवाद’का नाममा ‘अवसरवाद’ मा टेक्ने दोहोरो चरित्र बोकेका बाम पार्टीहरूको व्यवहारले गर्दा देश अव्यवस्थाको दलदलमा फस्ने सम्भावना छ। यस अर्थमा पनि नेपाली काँग्रेसले आफ्नो संगठनलाई मजबुत बनाउन आवश्यक छ । साथै नेपाली काँग्रेसले आफूलाई कार्यकर्तामुखी भन्दा अधिकाधिक लोकतन्त्र समर्थक जनताको प्रतिनिधिमूलक पार्टी बनाउनु पर्दछ । 

ख) विधानको सर्वोपरिता र समयोचित संशोधन
नेपाली काँग्रेस विधि र कानूनी शासनको सशक्त हिमायती हो। आजसम्मको लडाईंको मर्म पनि ‘व्यक्तिभन्दा विधि सर्वोपरि हुन्छ’ भन्ने नै हो । तसर्थ विधानको प्रावधान अनुरुप संगठन संचालन गर्नु हाम्रो आधारभूत कर्तव्य हो। तर विडम्बना काँग्रेस पार्टीमा संसदीय बोर्ड बन्दासम्म विधानको सम्मान भएको देखिएन । विधान अनुरुप पदाधिकारीहरुको मनोनयन र विभाग गठनका बारे विगतको केन्द्रीय समितिमा समेत धरै सन्दर्भ उठे। विधानलाई बेवास्ता गर्दा स्वेच्छाचारी बढ्न गयो र सम्पूर्ण संगठन कमजोर बन्यो। विधानमा व्यवस्था भए अनुसारको पार्टि संचालन गर्ने र विधान अनुरुप नभएका सबै संरचनाको विघटन गरी र विधान अनुरुप पुनर्गठन तत्काल आवश्यक छ। 

राजनीतिक रूपमा कार्यगत रूपमा संघिय प्रणालीको व्यवस्थामा हामी प्रवेश गरि सकेका छौं । संवैधानिक रूपमा स्थानिय तह निर्माण गर्नेका छौं र संवैधानिक रूपमा स्थानिय तह निर्माण गरेका छौ र काँग्रेसको यस्मा महत्वपूर्ण भूमिका छ । सो अनुरूप पार्टीको संरचना निर्माण र रणनीतिगत कार्य गर्न सकेनौ । अहिलेको संविधान अनुसारको संरचना, विधानमा व्यवस्था भए अनुसार प्रदेश तहमा पार्टीको संरचना वनाई आन्तरिक निर्वाचन गर्न आवश्यक छ । तर विधान संशोधन गर्ने नाममा पदाधिकारीको संख्या बढाएर कुनै गुट विशेषलाई मात्र फाइदा हुने काम भएको खण्डमा यो दलका लागि अत्यन्त हानिकारक हुने कुरामा दुई मत छैन ।

गुटगत राजनीतिमा नेतृत्वले जनताले नरुचाएका र असक्षम व्यक्ति आउने सम्भावना बढी हुन्छ । क्षमतावान्, उर्जावान्, इमान्दार र शिक्षित कार्यकर्ता पंक्तिनै हाम्रो आधार हो । यो विधानको पालनाबाट यस्ता व्यक्तिहरु नेतृत्वमा आउने सम्भावना हुन्छ ।

नेपाली जनताले नेपाली काँग्रेसलाई मासवेस्ड (जनतामुखि) पार्टीका रुपमा स्विकारेका हुन् । त्यसैले यसले गर्ने प्रत्येक क्रियाकलापहरुमा जनता निरन्तर नियाली रहन्छन् । आफ्ना मान्छेका नाममा सुविधाभोगी र पैसा भएका कारणले मात्रै सहजै पार्टीका टिकट प्राप्त गरेकोमा रोष पनि व्यक्त गरेका छन् । देशलाई बाटो देखाउने पार्टीका रुपमा जनताले स्विकारेको हुनाले अपेक्षा पनि सोहि रुपमा गरेका छन् । नेपाली काँग्रेस वास्तवमा आम जनतामुखी (मासबेस्ड) पार्टी हो र हुनु पर्दछ । कुनैपनि अराजनीतिक र गैरराजनीतिक व्यक्तिले मतदान केन्द्रमा गएर निसंकोच रुपमा रुखमा छाप लगाउने दलको रुपमा हामीले आफूलाई विकसित गर्नु पर्दछ । यसको लागि लोकतान्त्रिक मूल्य र मान्यता राख्ने आम जनतालाई स्थानीय तहको उमेदवार छान्न पाउने व्यवस्थाको विकास गरिनु पर्दछ। यसो गर्दा यो दल साँच्चैको आम जनतामुखी दल हुनजान्छ । सक्षम, इमान्दार र जनताका प्रीय व्यक्तिले काँग्रेसमा महत्वपूर्ण राष्ट्रिय भूमिका समेत निभाउन पाउने व्यवस्था आवश्यक छ । काँग्रेसको पदाधिकारी हुनका लागि भने पाँच वर्षको अनुभव हुनैपर्ने बाध्यकारी नियम बनाउन सकिन्छ । 

ग) अगाडिको बाटो 
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक तत्काल बसी हर दृष्टिकोणबाट चुनावी परिणामको विश्लेषण मूल्याङ्कन आवश्यक छ । र देखिएको अन्यौलता चिर्दै कार्यकर्ताहरुमा विश्वस्त बनाउने वातावरण तयार हुनुपर्दछ ।

नेपाली काँग्रेसको सांगठनिक अवस्था आन्तरिक र वाह्य चुनौतिहरु, रणनीति र कार्यक्रमहरुका बारे संगठनको तल्लो तहसम्म बहश र छलफलका साथै सवै वर्ग र विद्धुत समुदायसँग आवश्यक बहस गरी बलियो काँग्रेस निर्माणका लागि रणनीति तयार पारिनु पर्छ ।

संस्थागत निर्णय र कार्यान्वयनको परिपाटीः नेपाली काँग्रेसभित्र गम्भीर छलफल गरेर संस्थागत निश्कर्ष निकाल्ने र त्यसको कार्यान्वयन गर्ने अभ्यास निकै कमजोर छ । तसर्थ निर्णय गर्ने परिपाटिलाई परिमार्जन गरी गम्भिर छलफलबाट निर्णय गर्ने र निर्णयको अक्षरस पालना गर्ने व्यवस्था अत्यन्त आवश्यक छ । केन्द्रिय समितिले गरेको निर्णयलाई उल्लघंन गर्नु भनेको संस्थागत निर्णयको उपहास हो । तसर्थ निर्णय अनुसारको कार्यान्वयन हुनै पर्दछ । मूल र गम्भिर विषयका निर्णयहरुमा उपस्थितिमा मात्र होइन निर्णयमा नै सहभागिहरुको हस्ताक्षर आवश्यक छ । 

शसक्त विचारको पार्टीः पार्टीको निर्माण नै विचारबाट हुने र विचारले नै पार्टीलाई संगठित बनाउने र जनतासामु सशक्त रूपमा उभिन मद्दत पुर्या‍उने भएकोले यो पक्षलाई पनि नेतृत्व र कार्यकर्ताले उत्तिकै महत्व दिनु जरुरी हुन्छ । लोकतान्त्रिक मूल्य–मान्यता र आदर्श बोकेको देशको एक मात्र पुरानो पार्टी भएका नाताले लोकतान्त्रिक विचारको नेतृत्व समेत यही पार्टीले गर्नुपर्ने तथ्य बिर्सन मिल्दैन ।

नेपाली काँग्रेसको आधार नै भातृ संस्था र यसका शुभेच्छुक संस्थाहरु हुन् । यसलाई चुस्त दुरुष्ट राख्न नसक्नु पार्टीको कमजोरी हो । तसर्थ यसको मुल्याङ्कन गरी भातृ संस्थाहरुलाई पुर्नसंरचना र भूमिकालाई पूर्णव्याख्या हुन आवश्यक छ ।

पार्टीका कार्यकर्ताका विचमा अर्थपूर्ण र सारपूर्ण एकता आवश्यक छ । सबैलाई समान अवसर र आज नपाएकाले भोली पाउने निश्चिन्तता आवश्यक छ । 

निर्वाचित केन्द्रिय सदस्यहरु, जिल्ला सभापतिहरु र महत्वपूर्ण साथीहरुलाई, आवश्यक जिम्मेवारी र अवसर दिने कुरामा नेतृत्वले देखाएको कमजोरीलाई मनन गर्नुपर्छ ।

राज्यको पुनर्संरचना पश्चात सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिसभाको निर्वाचनको दौरानमा र आज सम्म पनि कामचलाउको रुपमा रहेका वडा समिति, गाउँपालिका समिति, नगर समिति क्षेत्रीय समिति र जिल्ला समितिहरुको नयाँ अधिवेशन अहिलेको प्रादेशिक ढाँचा अनुसार अवलम्बन गरिनु पर्दछ ।

युवानै उर्जाः नेपाली काँग्रेसले विशेषत युवाहरुलाई आकर्षित गर्ने कार्यक्रमहरु ल्याउनु आवश्यक छ । युवाहरुलाई केन्द्रमा राखेर भूमिका दिनु आवश्यक छ । युवाहरुलाई रचनात्मक कार्यमा प्रेरित गर्न आवश्यक छ । साथै रोजगारीको लागि अवसरको श्रृजना गर्न काँग्रेसले महत्वपूर्ण भूमिका निभाउन आवश्यक छ । युवाहरूले जीवनको स्वर्णिम युग विदेशीको व्यापार र व्यवसायको उन्नति गरेर तिनकै देश धनी बनाएर अन्त्यमा उत्पादनहीन जिन्दगी बिताउन नेपाल आउने परम्पराको अन्त्यका लागि कांग्रेसले जगबाटै सशक्त नीति बनाउने र कार्यान्वयन गर्नुपर्दछ । 

भ्रष्टाचार विरुद्ध काँग्रेसः जसरी समाज र राजनीतिको हरेक क्षेत्रमा नेपाली कांग्रेसले यो देशको नेतृत्व लिएको छ त्यसरीनै भ्रष्टाचाररुपी विकारको समाप्तिका लागि पनि काँग्रेसले विशेष पहल लिनुपर्नेे छ । हरेक क्षेत्रमा ईमान्दार, स्वच्छ छवि भएका र जनहितका लागि प्रेरित व्यक्तिहरूलाई मौका प्रदान गर्दै देशलाई ईमान्दार राजनीतिको एक प्रतिविम्ब बनाउन आवश्यक छ । 

वैदेशिक सम्बन्धको पुनरावलोकनः नेपाली कांग्रेसले निरन्तर अध्ययन र बैदेशिक सम्बन्धको पुनरावलोकन गर्न आवश्यक छ । 

ईमान्दार र प्रतिस्पर्धी दलको रुपमा पुनर्स्थापित गरौं ।
नेपाली काँग्रेसलाई जनताको आस्था पुन्ज बनाऔं ।

(यो लेख जोशीले नेपाली काँग्रेसका संगठन सुदृढीकरण अभियानमा राखेको कार्यपत्रबाट लिइएको हो।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ