arrow

एमाले–माओवादी मिलाउन चीनले खेल्यो अहम् भूमिका, राजदूत होङ सक्रिय

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
hong-oli-prachanda.jpg

काठमाडौं । नेकपा एमालेका एक विश्लेषकले सुनाए, ‘भारतले हल्ला गरेर आफ्नो पक्षमा पारेको भ्रम पार्छ चीनले रातारात नेताहरुलाई आफ्नै पकडमा राखेर सहमति गराउँछ ।’

उनको यो भनाई सोमबार रातिको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सात बुँदे सहमतिले स्पष्ट पार्छ । 

अब फेरि कुनै अनिष्ट नभए एमाले र माओवादीबीच एकताको सम्झौता भएको छ । त्यो सम्झौता अनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ । 

यो संगै एमाले र माओवादी पार्टीको अस्तित्व विलिन भएको छ । नयाँ पार्टी जन्मिएको छ । 

एकतापछि प्रतिनिधिसभाको कुल २७५ सिटमा १७४ सिट अर्थात् ६३.२७ प्रतिशत सांसद हुनेछन्।

केही सांसद जोडेर अबको नेकपाले जस्तासुकै निर्णय पनि संसदबाट गराउन सक्नेछ । एकछाप कम्युनिष्ट शासन गराउन पनि सक्नेछ । 

कसरी भयो यो मध्यरातमा निर्णय ? 

मध्यरातको एमाले–माओवादीको निर्णयमा सबैभन्दा ठूलो भुमिका चीनले खेल्यो । नेपालका लागि चिनियाँ राजदूत यु होङले सक्रिय भूमिका देखाइन् । 

चीनको चाहना अनुसार नै सहमति भएको हो । राजदूत होङले साँझदेखि नै एमालेका नेताहरुलाई राजधानीको एक पाँच तारे होटलमा भेटेर जसरी पनि सहमतिका लागि दवाव दिइन् । 

मोडल पनि एउटै दिइन् । दरवारमार्गमा रहेको अन्नपूर्ण होटलमा उनीहरुबीच लामो छलफल भयो । 

होटलका एक कर्मचारीले भने, ‘उहाँहरु पटक पटक आउँदै जाँदै गर्नुभयो ।’

उक्त छलफलमा एमालेका सचिव प्रदीप ज्ञवालीसमेत रहेका थिए । ज्ञवाली समन्वय गर्दै कुरा मिलाउँदै थिए । 

होङ बालुवाटार पनि पुगेकी थिइन् । त्यसपछि थप दवावका लागि होटलमै डाकेर कुराकानी गरेकी हुन् । 

के हो चीनको चाहना ? 
चीनको स्पष्ट चाहना छ कि नेपालमा कम्युनिष्टको बलियो सरकार गठन होस् । अनि आफ्नो पकडमा रहेर सरकारले काम गरोस् । 

यसअघि एमाले–माओवादीको चुनावी गठबन्धनमा पनि चीनले भूमिका खेलेको थियो । 

पार्टीहरु मिल्नु राम्रो हो । तर यदि अबको सरकार प्रो–चाइना भएर मात्र अगाडि बढ्न खोज्यो भने के होला । 

को हुन् होङ ? 
होङ प्रभावशाली मानिन्छिन् । होङ ०७३ सालको कार्तिक २२ गते नेपालका लागि चिनियाँ राजदूत भएर काठमाडौं आएकी थिइन् । 

एशिया मामिलामा राम्रो जानकारी राख्ने उनी वरिष्ठ कुटनीतिज्ञ पनि हुन् ।

५२ वर्षीया होङ नेपाल आउनुअघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिइन् ।

होङको चातुर्य देखेरै बेइजिङले उनलाई नेपाल पठाएको थियो । उनको झट्ट प्रतिवाद गर्ने बानी छैन । नेताहरुलाई धेरै भेट्ने बानी पनि छैन । 

तर निकट सूत्र भन्छ परेका बेलामा उनी निकै कठोर अडान राख्न पछि पर्दिनन् । 

स्रोत भन्छ बेइजिङको निर्देशनमा होङले राखेको अडानमै एमाले–माओवादी मिलन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ