arrow

पानी ट्यांकरमा स्टिकर मात्रै ? 

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
watar-tanker.jpg

काठमाडौं । व्यवसायलाई व्यवस्थित गर्ने भन्दै सरकारले पानी ट्यांकरहरूलाई स्टिकर लगाएर वर्गीकरण गरे पनि अनुगमन भने हुन सकेको छैन । वर्गीकरण अनुसार ट्यांकरले पानी बोके नबोकेको अनुगमन हुन नसकेको सम्बन्धित व्यवसायी नै बताउँछन्।

पानी बोक्ने ट्यांकरलाई पानीको गुणस्तर अनुसार वर्गीकरण गर्ने भन्दै केही समयअघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निर्देशिका बनाएर स्टिकर लगाउने व्यवस्था गरेको थियो । हाल काठमाडौं उपत्यकामा चल्ने अधिकांश पानी ट्यांकरलाई बोर्डले तीन प्रकारका स्टिकर लगाएर वर्गीकरण गरेको छ ।

‘ट्यांकरहरूको वर्गीकरण त भयो तर त्यस अनुसार चलेको छ कि छैन भन्ने अनुगमन नै भएको छैन,’ उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले भने, ‘सरकारले स्टिकर लगाएपछि ट्यांकरले कस्तो पानी बोकेको छ भनेर पनि हेर्नुपर्छ ।’

पानी ट्यांकरहरूलाई निलो, हरियो र पहेँलो स्टिकर लगाएर वर्गीकरण गरिएको छ । जस अनुसार खानेपानी बोक्ने ट्यांकरलाई निलो, घरायसी प्रयोजनको लागि हरियो र खान नमिल्ने पानी बोक्ने ट्यांकरमा पहेँलो स्टिकर लगाइएको छ । 

निलो स्टिकर बोर्डकै ट्यांकरलाई दिइएको छ । व्यवसायीका अनुसार उपत्यकामा चल्ने अधिकांश ट्यांकरलाई हरियो स्टिकर लगाइएको छ । हरियो स्टिकर लगाएको पानी उमालेर पिउन मिल्ने भनिएको छ ।

यसरी स्टिकर टाँसिए पनि स्टिकर अनुसारको पानी बोकेका छन्, छैनन् हेरिएको छैन । सरकारले विशेष संयन्त्र बनाएर अनुगमन गर्ने भने पनि त्यसो हुन नसकेको दाहालले बताए ।

 ‘निर्देशिका त आयो, लागू हुन कसको छैन,’ उनले भने।हाल उपत्यकामा झन्डै ६ सय ५० पानी ट्यांकर सञ्चालनमा छन् । तीमध्ये भक्तपुर बोर्डका केही ट्यांकरबाहेक सबैमा स्टिकर लगाइसकिएको छ ।  

उपत्यकामा लगभग दुई सय व्यवसायीले ६ सय ५० हाराहारी पानी ट्यांकर सञ्चालन गरिरहेका छन् । उनीहरूले उपत्यकाका विभिन्न ६५ स्रोतबाट पानी भरेर उपभोक्तामाझ वितरण गरिरहेका छन् ।

ट्यांकरहरूले स्यालो ट्युबवेल, डिप ट्युबवेल र सतहको पानी प्रयोग गरिरहेका छन् । मातातीर्थ, चोभार, गोदावरी क्षेत्रबाट सतहको पानी प्रयोग हुन्छ भने जोरपाटी क्षेत्रमा स्यालो ट्युबवेल र बालाजु, स्वयम्भु क्षेत्रमा डिप ट्युबवेल प्रयोग भइरहेको व्यवसायी बताउँछन् । 

पानीको स्रोत र ट्यांकरको अनुगमन नहुँदा कस्तो पानी प्रयोग भइरहेको छ भन्नेमा उपभोक्ता अलमलमा छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ