arrow

एमाले–माओवादी एकताः नाममा के राखेको छ र ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ फागुन ९ बुधबार
uml-maobadi-new.jpg

काठमाडौं । कार्यकर्तादेखि चीनसम्मको दबाब र मिडियामा आएका चर्चापरिचर्चा सहन गर्न नसकेर जवरजस्ती ल्याइएको ७ बुँदे सहमितको खेस्राले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ भन्ने ग्यारेन्टी नदिए पनि नयाँ बहस भने सिर्जना गरेको छ । 

७ बुँदेलाई दस्तावेज बनाएर एमाले र माओवादीले मज्जासंग सरकारमा रजाइँ गर्न पाउने छन् । अब माओवादीलाई ‘तपाईहरु पार्टी एकता नभइ किन सरकारमा जानुभयो ?’ भनी प्रश्न सोध्न नमिल्ने भएको छ । 

सबैभन्दा ठूलो रडाको बनाइएको जनताको बहुदलीय जनवाद जवज वा माओवाद भन्ने पश्न पनि सोध्न नमिल्ने बनाइदिएको छ ७ बुँदेले । ७ बुँदेअनुसार अब पार्टीको सिद्धान्त महाधिवेशनले तोक्ने भनिएको छ । महाधिवेशन हुन कम्तीमा डेढ वर्ष लाग्नेछ । 

सहमतिमा त्यसलाई लम्ब्याउन मिल्छ । फेरि माओवादी अध्यक्ष प्रचण्ड तीन दशकदेखि अध्यक्ष हुँदै आएका । त्यसैले चुनावको मिति फेरि सर्न पनि सक्छ । यसरी लम्बिएको छ चक्र । 

त्यसैगरी आलोपालो प्रधानमन्त्री र आलोपालो अध्यक्षको सहमतिलाई ७ बुँदेमा नसमेटेकाले केही दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाउँठाउँका भाषणमा स्पष्टिकरण दिँदै हिंड्ने छन् र यो विषय गौण बन्दै जानेछ । 

यत्तिले पुग्यो र ? पुगेको छैन । पार्टीको नामले चर्को बहस बनाउने छ । 

ठूला दलले जे गरे पनि हुन्छ भन्ने बलमिच्याईंमा अब जोडतोडले आवाज उठ्ने छ । 

एमाले–माओवादीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ भनेर राख्ने निर्णय घातक सिद्ध भएको छ । अहिले नेत्रविक्रम चन्द विप्लवको पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी हो । त्यसैगरी ऋषिराम कट्टेलको नाममा यसअघि नै यही नामको पार्टी निर्वाचन आयोगमा समेत दर्तारत छ । 

यो बलमिच्याइँलाई भने निर्वाचन आयोगले पनि नमिल्ने बताइसकेको छ । 

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न मिल्ने व्यवस्था छैन । 

यस्तो अवस्थामा त्यही नाम नै राख्नका लागि एकीकृत पार्टीले पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ । 

नामकै लागि ६३.५ प्रतिशत सांसद रहेको ठूलो दलले भारभुरे दलसंग किन एकता गर्दथ्यो होला र । 

आखिर ठूलै दलहरुको बलमिच्याइँमै थ्रेसहोल्ड लगाएर साना दललाई मर्नु न बाँच्नुको बनाइसकेका छन् । 

तर ०६९ मा कट्टेलको नाममा दर्ता दलले ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा समेत भाग लिएको जानकारीसमेत दुई पार्टीमा रहेनछ भन्ने ज्ञान त स्पष्टै भयो । 

यसैले त कट्टेललाई पनि झोंक चलेको छ । उनले भनेका छन्, ‘एकता पनि गर्दिन र पार्टीको नाम पनि दिन्नँ ।’ अब कट्टेलले बल्ल आफ्नो महत्व बुझेका छन् । 

अहिले कट्टेल चर्चामा छन् । अब कट्टेल डटेर लाग्छन् कि एमाले–माओवादीले विकल्प सोच्छ त्यो हेर्न बाँकी छ । 

विप्लवको पार्टी भने निर्वाचन आयोगमा दर्ता नभएकाले खासै समस्या छैन । 

यसमा विप्लव पक्षबाट पनि कडा प्रतिक्रिया आएको छ ‘अवसर गठबन्धन’ ।

विप्लवका एक अर्धभूमिगत रहेका नेताले हाम्राकुरालाई भने, ‘पदका लागि मिल्ने भ्रष्टहरु जो कम्युनिष्ट भन्न समेत लायक छैनन् तिनीहरुसंग मिल्ने भन्ने कल्पनासम्म पनि गर्न सकिँदैन ।’

उनले भने, ‘आफूहरु नै गुटउपगुटमा विभाजन हुनेहरु एउटै पार्टीमा मिलेर बस्छन् भन्ने कल्पनासम्म पनि गर्न सकिन्न ।’ उनले, ‘सत्ताका लागि भएको गठबन्धन धेरै नटिक्ने पक्का छ’ भने । 

अन्त्यमा, एउटा भनाइ छ ‘नाममा के राखेको हुन्छ र !’ अब हेर्नुछ एमाले र माओवादीलाई नामले के समस्या पार्दोरहेछ । 

७ बुँदेले धेरै कुराको थान्को त लगायो तर नामले ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ