arrow

डा. गोविन्द केसीका तीन जन्म मिति, भने–मानवीय त्रुटि !, अब सच्याउने

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामाथि प्रश्न गरेका बरिष्ठ चिकित्सक गोविन्द केसीले आफ्नो जन्म मिति सार्वजनिक गरेका छन् ।

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्म मिति भेटिएको छ ।  

त्यसको खुलासा डा. केसी आफैले गरेका छन् । डा. केसीले फरक–फरक प्रयोजनका लागि फरक–फरक जन्म मिति पर्नुलाई मानवीय त्रुटि भनेका छन् । उनले त्यो गल्ती स्वीकारेका छन् । त्यति मात्रै होइन, उनले अब त्यो त्रुटि सम्बन्धित निकायमा गएर सच्याउछुँ, समेत भनेका छन् ।

वुधबार पत्रकार सम्मेल गरेर केसीले आफ्नो जन्ममितिबारे लामो फेहरिस्त सार्वजनिक गरे । केसीले सार्वजनिक गरेको वक्तव्य अनुसार, उनको नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको छ । यस्तै, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

उनले भनेका छन्, ‘जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’ डा. केसीले आफ्नो जन्ममिति मात्रै फरक परेको तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले धेरै नागरिकता लिएको र मिति सच्याएको भनि प्रश्न उठाउँदै आएका छन् ।

प्रेस विज्ञप्ति


आदरणीय पत्रकार मित्रहरु
मेरो जन्म मिति र मैले विभिन्न समयमा भरेका आवेदनहरुबारे एक सञ्चार माध्यममा भ्रमात्मक रुपमा आएका समाचारहरुप्रति मेरो ध्यानाकर्षण भएको छ ।

त्यसरी यो विषयमा सार्वजनिक रुपमा कुरा उठेपछि सञ्चार कर्मी साथीहरु तथा आम नागरिकको समेतको जिज्ञासा मेटाउन मेरो नागरिकता तथा शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरु देखाउनु म आफ्नो कर्तव्य ठान्छु । तीमध्ये एसएलसीको चारित्रिक प्रमाणपत्रबाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा मेरो जन्म मिति २०१३ साल असोज २७ गते रहको छ भने प्राविधिक त्रुटिवश एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०१३ माघ २४ गते हुन गएको छ ।

जहाँसम्म मैले बढुवाका लागि भरेका आवेदनहरुमा पर्न गएका फरक जन्म मितिको कुरा छ, तिनमा मानवीय त्रुटि भएको म स्वीकार्छु । साथै त्यस्ता त्रुटि नहोउन् भनेर त्यसरी भरिएका आवेदनहरुलाई सम्बन्धित कार्यालयमा बुझाइएका नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरुसित रुजु गर्ने अभ्यास हुन्छ । यस प्रसंगमा त्यसरी रुजु गरेर सच्याउन आग्रह गरिएको भए ती त्रुटि उहिल्यै सच्चिइसक्ने थिए । हाल ती त्रुटिहरुका वारेमा मैले जानकारी पाएको हुँदा सम्बन्धित निकायमा गई विधिसम्मत तवरले ती त्रुटी सच्याउन पहल गर्नेछु ।  

मैले बुझाउँदै आएको नागरिकताको प्रमाणपत्र नबुझाएको तथा सिटरोल नभरिएको भनेर लगाइएको आरोप सत्य होइन । बरु ती कागजात त्रिविका भ्रष्ट पदाधिकारीहरुले गायब गरिदिएर अनावश्यक विवाद सिर्जना गर्न खोजेको देखिन्छ । स्मरण रहोस्, जागिर लम्ब्याउने लगायत गलत नियतले मैले उमेर फरक पारेको भए एसएलसीको चारित्रिक प्रमाणपत्र बमोजिमको जन्ममिति (२०१३।१०।२४) अन्य शैक्षिक प्रमाणपत्रहरुमा समेत कायम गरेको हुने थिएँ । बरु, मैले नागरिकताको प्रमाणपत्र लिँदा, कलेज भर्ना हुँदा र अन्तिम बढुवा प्रयोजनका लागि आवेदन गर्दा लेखाएको जन्ममिति (२०१३।६।२७) अनुसार मेरो सेवाअवधि कम हुन गएको स्पष्ट छ । यदि यस विषयमा थप स्पष्टताका लागि छानवीन गर्नु पर्ने भएमा त्यसलाई म हार्दिकतापूर्वक स्वीकार गर्दै जस्तोसुकै प्रकारको सहयोग गर्न तयार भएको जानकारी गराउँदछु ।    

साथै गौरी बहादुर कार्की आयोगले दोषी भनेर बर्खास्तीको सिफारिश गरिएका त्रिवि उपकुलपति तीर्थ खनिया र कानुन संकायका डिन तारा सापकोटा तथा कैयौं नागरिकताका प्रमाणपत्र र उही तहका कैयौं शैक्षिक प्रमाणपत्रहरु पेश गरेर नाजायज लाभ लिएका प्रधान न्यायधीश गोपाल पराजुलीको मिलेमतोमा त्रिविमा बुझाइएका कागजपत्र नै गायब गरेर नबुझाएको भनेर अफवाह फैलाउने काम भएको हाम्रो ठम्याइ छ । त्यसो गरेर त्रिविका पदाधिकारीहरुको बर्खास्ती र प्रधान न्यायधीश पराजुलीको राजीनामा वा महाभियोगका लागि सशक्त रुपमा उठेका मागहरुबाट ध्यान मोड्ने प्रयास स्वरुप यो विवाद सिर्जना गरिएको पनि प्रष्टै छ ।
साथै जसरी हामीले भएका प्राविधिक त्रुटि स्वीकारेर आफ्ना नागरिकता र शैक्षिक प्रमाणपत्रहरु खूल्ला रुपमा पेश गरिरहेका छौं, त्यसै गर्न विवादास्पद प्रधान न्यायधीश पराजुलीलाई पनि चुनौती दिन चाहन्छौं । साथै यस्ता हास्यास्पद प्रयासहरुका कारण सुशासन र जवाफदेहिताका लागि हामीले चलाएको अभियानलाई कुनै फरक नपर्ने बरु झनै सशक्त रुपमा अघि बढ्ने कुरा पनि जानकारी गराउन चाहन्छौं ।
डा‍. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७४।११।९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ