arrow

पशुपतिनाथले नसरापेको पशुपति प्रसाद

पशुपतिनाथलाई दुरुपयोग नगरी बनाइएको कारणले पनि यो फिल्मलाई पशुपतिनाथको श्राप भने पक्कै लाग्ने छैन ।

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
Pasupati.jpeg.jpeg
काठमाडौं । गत पौष २४ मा रिलिज भएको फिल्म ‘बागमती’ प्रदर्शनमा आएपछि त्यसलाई हेर्ने दर्शकले व्यापक आलोचना गरे । फिल्म बागमती जस्तो पवित्र हुन सकेन । पशुपतिनाथको अगाडिबाट बग्ने बागमती प्रति धर्मावलम्बीहरुको जुन आस्था छ, त्यसलाई फिल्म बागमतीले निरन्तरता दिन सकेन । 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म पशुपति प्रसाद पनि पशुपतिमै छायांकन गरिएको छ । तर फरक यति हो कि बागमती जस्तो पशुपतिप्रसाद झुर भने पक्कै छैन । यो फिल्मको मुख्य आकर्षण कलाकारको अभिनय त छँदैछ, यो बाहेक फिल्मको संवाद पनि महत्वपूर्ण छ । 

फिल्मको कथा बाबुले लिएको ५० हजार ऋण तिरेर स्वर्गको ढोका खोल्ने चाहना बोकेको छोरा पशुपति प्रसाद वरपर घुमेको छ । वैशाख १२ गतेको भूकम्पको चपेटामा परेर घरमै अस्ताएका बाबुआमाले लिएको साहुको ५० हजार ऋण तिर्न पशुपति प्रसाद खकुरेल(खगेन्द्र लामिछाने)ले पशुपतिनाथमा लाश पोल्ने काम गर्दै आएका मीत बासँग बसेर गरेको संघर्षलाई फिल्मले प्रस्तुत गरेको छ ।

फिल्मको कथा अनुसार सिन्धुपाल्चोक घरमा बाबु आमा बितेपछि काठमाडौं आएको पशुपति प्रसाद मित बासँगै बस्छ । मित बाले पशुपतिनाथमा आफ्ना साथीले औठी भेटाएपछि उसको भविष्य बनेको कुरा पशुपतिप्रसादलाई सुनाए पछि पशुपति प्रसादलाई पनि औठीको ध्याउन्न हुन्छ । बाबुको ऋण तिर्नकै लागि पशुपतिपं्रसादले बागमतीमा सुन खोज्नेदेखि लिएर लाशका फ्यालिएका कपडा बेच्ने समेत काम गर्छ । 

अभिनयको हिसाबले खगेन्द्रले फिल्ममा उत्कृष्ठ काम गरेका छ । पटकथा पनि उनैले लेखेको कारण पनि फिल्मको संवाद र कथा पूर्ण रुपमा अग्र्यानिक किसिमको छ । हल्का प्रेम, हल्का एक्सन मिश्रित यो फिल्ममा काम गर्ने कलाकारहरुले पनि अभिनयमा न्याय गरेका छन् ।

फिल्मकी नायिका वर्षा शिवाकोटीको अभिनय पनि राम्रो छ । तर उनको क्लाइमेक्सको सस्पेन्स पाटो भने आश्चर्यजनक नै छ । पशुपतिनाथको डनका रुपमा आफुलाई चिनाउने भष्मे पात्र विपिन कार्कीको अभिनय पनि आफैमा अब्बल छ । खगेन्द्र र विपिनबीचको द्वन्द्वले पनि दर्शकलाई मनोरञ्जन दिन्छ । 

हरेक राम्रा र नराम्रा फिल्ममा कमि कमजोरी पनि हुन्छन् । यो फिल्म पनि बिना कमजोरी अघि बढेको छैन । फिल्ममा बोल्न नसक्ने पात्रको रुपमा देखिएकी वर्षालाई कलेजको विद्यार्थीका रुपमा प्रस्तुत गरिएको छ । बोल्न सक्ने विद्यार्थीको भीडमा बोल्न नसक्ने विद्यार्थीका रुपमा वर्षालाई प्रवेश गराउनु पनि आफैमा हाँस्यास्पद छ ।

फिल्ममा भष्मे पात्रको रुपमा देखिएका विपिन पशुपतिमा हनुमानको रुपमा प्रस्तुत भएका रविन्द्रसिंह बानिँयासँग निकै डराउँछन् । तर भष्मे हनुमानसँग किन डराउँछ भन्ने कुरा फिल्ममा खुल्दैन । फिल्ममा कलाकारको पृष्ठभूमि पनि देखाइएको छैन, जसकारण दर्शकलाई अन्यौलता भने पक्कै हुन्छ ।

१३ दिनमा सुटिङ सकिएको फिल्मले क्लाइमेक्समा पनि १३ दिनको नै झल्को दिन्छ । तर कस्तो झल्को दिन्छ, त्यो बुझ्न भने दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । पशुपति परिसरमा खिचिएको कारण पनि यो फिल्मलाई पशुपतिनाथको आशिवार्द लागेको छ। फिल्मले पशुपतिनमा दैनिक देखिने क्रियाकलापलाई प्रस्तुत गरेकाले पनि पशुपतिनाथलाई दुरुपयोग गरिएको छैन । त्यसकारण पनि फिल्मले सबैबाट तारिफ पाएको छ । पशुपतिनाथलाई दुरुपयोग नगरी बनाइएको कारणले पनि यो फिल्मलाई पशुपतिनाथको श्राप भने पक्कै लाग्ने छैन । समग्रमा भन्ने हो भने २ घण्टा ११ मिनेटको पशुपति प्रसादले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ