arrow

सिरियाको गुटामामात्र दुई हप्तामा तीन सय ४६ नागरिक मारिए

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
airstrike-syria.jpg

जेनेभा। संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३४६ नागरिक मारिएका बुधबार जनाएको छ। सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ। “दामास्कसको आवास क्षेत्रमा मात्र कम्तीमा ३४६ जनाको मृत्यु भएको छ भने अरु ८७८ जना घाइते भएका छन्,” राष्ट्रसंघीय कार्यालयले भनेको छ।

मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन्। उक्त सेनामा यस क्षेत्रमा यसै महिनाको सुरुदेखि निकै आक्रामक रुपमा हवाई कारबाही सुरु गरेको बताइएको छ। यसरी मारिनेमध्ये ९२ जना नागरिकको गत सोमबार भएको हवाई कारबाहीका क्रममा ज्यान गएको हो। गत सोमबार अर्थात एकैदिनमा १३ घण्टाभित्र ती सर्वसाधारण नागरिक मारिएका यसअघि नै बताइएको थियो।

राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले भनेको छ– गुटामा यही फेब्रुअरी ४ देखि हवाई तथा स्थल कारबाही भएको हो र त्यसमा परी दई हप्तामा मात्रा यति धेरै नागरिक हताहत भएका छन्। मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका छन् भने।

उनीहरु आधारभूत आवश्यकताका सेवा सुविधाहरुबाट समेत बञ्चित भएका छन् भने बम आक्रमणहरु पनि उत्तिकै खेपिरहेका छन्। गत सोमबार र मङ्गलबार मात्रै पनि दर्जनौँ हवाई आक्रमण र सयौँ स्थलमार्गबाट हुने आक्रमण गुटाको विभिन्न आवासीय क्षेत्रमा भएको छ। त्यस्तो आक्रमण बुधबार पनि जारी रहेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन्। गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन्। उनीहरु सुरक्षित ठाँउ खोज्दै अन्यत्र गएको पाइएको छ। उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ। गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ। पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो।

यसबाट तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन्। मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन्। त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थतापित भएका वा शरणर्थीको रुपमा बस्न बाध्य भएका छन्। सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन्।  रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ