arrow

राजपा र फोरम किन चाहियो बाम गठबन्धनको सरकारलाई ? 

के माओवादी प्रति सशंकित छन ओली ?

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
oli-upendra-yadav.png

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको तीन सदस्यीय मन्त्री परिषद्ले पनि एक सप्ताह पूरा गरिसकेको छ । तर, एक सातासम्म पनि न त बाम गठबन्धनको साझेदार माओवादीले मन्त्री पठाउन सकेको छ न त एमालेले नै थप मन्त्री परिषद् वितार नै गर्न सकेका छन् प्रधानमन्त्री ओलीले । 

लामो समय हानाथाप भएको मन्त्रालयको भागवण्डा बिहीबारको दुई दलीय बैठकले टुङ्गाएको भनिएको छ । बिहीबारको सहमती अनुसार एमालेलाई १० मन्त्रालयको प्रस्ताव गरिएको छ । एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना–सञ्चार तथा विज्ञान प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा खेलकुद मन्त्रालय पाउने भनिएको छ । 

त्यस्तै, माओवादी केन्द्रले गृह मन्त्रालय, जलस्रोत तथा ऊर्जा, सहरी विकास आवास खानेपानी तथा सरसफार्इ, उद्योग वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, कृषि सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालबालिका मन्त्रालय पाउने भनिएको छ । 

तर, यत्ति भागवण्डा भएपनि प्रधानमन्त्री केपी ओली भने माओवादीसँग मात्रै भन्दा पनि फोरम र राजपालाई पनि सरकारमा ल्याउने तयारीमा जुटीरहेका छन् । पटक पटकको छलफल पछि संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत पनि देखाएको छ । 

उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन । सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकै रुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ । सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मकढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

त्यस्तै, वाम गठबन्धनका तर्फबाट एक साताअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले सरकारमा मधेश केन्द्रित राजपालाई पनि सहभागिता गराउनेबारे विभिन्न पहल गरिरहेका छन् । कतिपय अनौपचारिक तवरबाट भएका छलफलमा समाजवादी फोरम मात्र हैन राष्ट्रिय जनता पार्टी ९राजपा० का शीर्ष नेतासँग पनि छलफल भएको बताइएको छ । 

यी दुर्इ दलसँगको ओलीको छलफल पछि ओली किन राजपालाई पनि सरकारमा ल्याउन लागिरहेका छन् ? भन्ने आशंका उब्जिएको छ । ओली ५ वर्ष नै आफ्नै शासन गराउन चाहन्छन् र मधेश बादी दलहरु अहिले सरकारमा आउन चाहन्छन् । यस्तो अवस्थामा बीचमा माओवादीको घुर्की र धम्कीबाट बच्नको लागि ओलीले यति धेरै कसरत गरिरहेको त हैन ? भन्ने प्रश्न पनि उब्जिएको छ । 

अहिले एमालेले माओवादी वा कुनै एउटा मधेशी दललाई साथमा लिएर अघि बढेको खण्डमा सरकारको लागि बहुमत पुर्याउन सकिने भएकोले माओवादीको वार्गेनिङ पावर घटाउनको लागि त यस्तो गरिएको हैन ? भन्ने प्रश्न पनि उब्जिएको छ । ओलीको मधेशी दलहरुलाई सरकारमा ल्याउन गरेको कसरतले पनि त्यही बुझाउने जानकारहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ