arrow

आफुले भनेको नटेर्ने कर्मचारीलाई लोकमान भन्थे, ‘भक्ते कहाँ पठाईदिउँ ?’

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
lokman_karki.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की अहिले काठमाडौंमा छन् या बाहिर भन्ने यकीन छैन । केही समय अघि चर्चाको शिखरमा रहेका कार्की यतिबेला गुमनाम छन् । कार्कीका बारेमा धेरै चर्चा परिचर्चाहरु पनि चले । सरकारी सेवामा हुँदादेखि नै तानाशाही प्रवृत्ति देखाउने अख्तियार प्रमुख कार्कीको नाम सुन्ने वित्तिकै तत्कालीन समयका कर्मचारीहरुमा त्यत्तिकै झस्किन्छन् । 

शुक्रबार यस्तै अनुभव सुनाए भन्सार विभागमा महानिर्देशक समेत बनेका एक कर्मचारीले । त्यतिबेला लोकमानसिंह कार्की मुख्यसचिव बनेका थिए । माओवादी शसस्त्र द्धन्द चलिरहेको बेलामा सिडिओको पनि व्यापक हेरफेर भएको थियो । तर, सिडिओ बन्ने सूचीमा नाम परेर पनि भाग्यले सिडिओ बन्नु नपरेका ती कर्मचारीलाई मन्त्रालयमा नै काममा खटाउने निर्णय भएको रहेछ । द्धन्द्धको समय भएकोले सिडिओको लागि कर्मचारीमा त्यत्ति उर्जा पनि मिल्ने समय थिएन । त्यही समयमा गृहमन्त्रालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरी भन्सार विभागको महानिर्देशक बनाउने निर्णय गरियो । 

त्यतिबेला लोकमानको शासन नै त्यस्तै थियो । उनी मुख्यसचिव त्यसैमाथि तानाशाही प्रवृत्ति र राजाको प्रत्यक्ष शासन । उनी राजा बाहेक अरु कसैसँग पनि डराउने कुरै भएन । त्यतिबेलाका एक सहसचिव भन्छन् ‘‘उनले भनेको नमानेको खण्डमा उनी ‘भक्ते कहाँ पठाईदिउँ ?’ भन्दै धम्की दिने गर्दथे ।’’

‘भक्ते’ अर्थात् भक्तबहादुर कोइराला । आफ्नो प्रत्यक्ष शासन कालमा राजाले भ्रष्टाचार नियन्त्रण गर्नको लागि भनेर भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरेका थिए । त्यसले भ्रष्टाचार गरेको प्रमाण भेटियो भने सिधैं कारबाहीको फैसला समेत गर्नसक्ने अधिकार दिईएको थियो । त्यतिबेला त्यसको अध्यक्ष भक्तबहादुर कोइरालालाई बनाईएको थियो । 

ती सहसचिवले त्यतिबेला लोकमानलाई भनेका थिए ‘मैले केही नराम्रो गरेकै छैन भने तपाईँ किन मलाई त्यसै धम्काउने काम गर्नुहुन्छ ’ लोकमान भन्थे ‘ म मुख्यसचिव हुँ । यसले भ्रष्टाचार गरेको आशंका छ मात्रै भनेँ भनेपनि तिमी त कारबाहीको भागिदार अवश्य हुनेछौं ।’ ती सहसचिवसँगै लोकमानले झण्डै आधा दर्जन बढी कर्मचारीहरुलाई त्यही ठाउँबाट भक्तेकहाँ पठाउने धम्की दिँदै आफ्नो स्वार्थ पूरा गर्ने प्रयास  गरेको उनले बताए । 

लोकमानका बाबु भूपालमानसिंह कार्कीले तत्कालीन राजा वीरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाई सेवाको अवसरका लागि विन्ती विसाएपछि उनको निजामती सेवामा यात्रा सुरु भएको थियो । उनको यात्रा त्यहीँदेखि नै शक्तिको पूजा गर्ने र आफू भन्दा सानालाई दबाएर राख्ने प्रवृत्ति सुरु हुन थाल्यो । त्यतिबेला राजाको निगाहा भएपछि लोकसेवाको झण्झट पनि बेहोर्नु पर्ने थिएन । उनले बहादुर भवनस्थित राजसभा स्थायी समितिमा सीधै उपसचिवका रूपमा जागिर पाएका थिए । दरबारको प्रभाव र कठिन प्रणालीका सामु निरीह सावित भएका उनी आफ्ना निकटस्थ मित्र महेश आचार्य ०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा अर्थराज्यमन्त्री बनेको मौकाको फाइदा उठाउन चुकेनन्। दरबारबाट सेवा परिवर्तन गरेर राजस्व सेवामा कार्की जसरी प्रवेश गरे त्यसैगरी उनको विकास हुन थाल्यो । 

उनी प्रशासन सेवाबाट कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर बढुवाको ढोका खोले । उनी सहसचिव भएपछि पनि शक्तिकै आधारमा राजश्व समूह तर्फ प्रवेश गरे। सहसचिव बने लगत्तै उनको यात्रा भन्सारतिर लम्कियो । अरुसँग कुराकानी गर्ने कुनै अवसर नै नदिने र तानाशाही प्रवृत्ति देखाउने उनी भन्सार विभागका महानिर्देशक बनेसँगै भन्सारको हालत के भयो भनेर त्यतिबेलाका कर्मचारीहरु बताउँनै नसकिने सम्झन्छन् ।

राजश्व सेवामा पुगिसकेपछि अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयहरु भन्सार विभाग, राजस्व अनुसन्धान लगायतमा उनलाई जान रोक्ने हिम्मत नै कसको ? धेरै तिर उनले आफ्नो शासन जमाईराखे । सहसचिव भएको पाँच वर्षपछि नै ०५८ मा उनी खेमराज नेपाल, चण्डीप्रसाद श्रेष्ठ, भानु आचार्य, अनन्त पाण्डेसँगै सचिवमा बढुवा भए। उनी सचिवमा पनि एउटै मन्त्रालयमा सीमित भएनन् । माघ १९ गते सरकारले आफ्नो शासन हातमा लिएपछि लोकमानको पनि भाग्य चम्कियो । तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टका प्रियपात्र मानिएका उनी विष्टकै दबाबले १५ जना सचिवलाई पाखा लगाएर मुख्यसचिव बनेका हुन् । 

यसरी लोकमानको तानाशाही प्रवृत्तिको शिकार बनेका कतिपय कर्मचारीहरु त्यो बेलाको सरकारी सेवालाई सम्झिएर अहिलेपनि झस्किने गर्छन् । अझ बढी त उनले भक्तेको नाममा देखाएको धम्कीबाट झनै बढी त्रसित हुने गरेको अनुभव सुनाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ