arrow

'एमाले संविधान संशोधन गर्न तयार'

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
raghubir.JPG

काठमाडौं । एमाले नेता रघुवीर महासेठले फोरम र राजपा विना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकोले फोरम र राजपालाई विना शर्त तत्काल सरकारमा सहभागी हुन आग्रह गरे ।

उनले भने,‘उहाँहरुले अब सरकारमा आउन ढिलाई गर्नुहुँदैन्, उहाँहरु बिना शर्त सरकारमा पहिले आउनुपर्‍यो, यदि उहाँहरुको समस्या समाधान भएन भने उहाँहरु पछि फर्किनपनि सक्नुहुन्छ ।’

उनले आफूहरु फोरम र राजपालाई सरकारमा आउनको लागि आग्रहरत रहेको पनि विश्वास दिलाए । यद्यपि, उनले आफूहरुले फोरम र राजपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा ‘खाए खा नखाए घिच’ को व्यवहार भने नगरेको स्पष्ट पारे । महासेठले भने,‘हामी त उहाँहरुलाई स–सम्मान सरकारमा ल्याउन चाहन्छौं, यसैको लागि अहिले हामी प्रयासरत छौं, सरकारलाई सहयोग गर्नुहोस्, आउनुहोस् मिलेर देश बनाऔं भन्ने हाम्रो आग्रह छ ।’

पूर्वमन्त्री समेत रहेका नेता महासेठले आफूहरु देश र जनताको हितमा संविधान संशोधन गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘यदि साँच्चिकै संघीय समाजवादी फोरम र राजपाले भनेजस्तो संविधानमा समस्या छ भने उहाँहरु त्यसको लागि पहिले सरकारमा त आउनुपर्यो, हामी पनि संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

उनले आफूहरुले २ नम्बर प्रदेश सरकारलाई विना शर्त सहयोग र समर्थन गरेको प्रसँग उल्लेख गर्दै भने,‘हामीले २ नम्बर प्रदेशमा उहाँहरुको नेतृत्वमा रहेको वर्तमान सरकारलाई विना शर्त समर्थन गर्यौं, मधेशमा विकास होस्, शान्ति, सुरक्षा, अमनचयन कायम होस्, आर्थिक सम्पन्नता हाँसिल होस् भनेर नै एमाले–माओवादीका सांसदहरुले उहाँहरुलाई मत दिएका हुन् ।’ प्रतिनिधिसभाका निर्वाचित सांसद समेत रहेका नेता महासेठले केन्द्रको सरकारमा पनि फोरम र राजपा सहभागी हुनुपर्ने बताए ।

उनले उपेन्द्र यादव नेतृत्वको संघीय फोरम सरकारमा आउने विषयमा आफुहरु सकारात्मक रहेको पनि सुनाए । ‘नयाँ नेपाल बनाउन एमाले र माओवादी केन्द्रका नेतृत्वमा करिब दुई तिहाईको सरकार छ, तर यसमा उहाँहरुको पनि योगदान होस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

नेता महासेठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार मुलुकको राष्ट्रिय ढुकुटी करिब करिब रित्तिएको अवस्थामा गठन भएको सुनाउँदै भने, ‘हो, राष्ट्रिय ढुकुटी समाप्त भएको बेला बोज उठाउन हाम्रो अध्यक्ष ओलीजीको नेतृत्वमा सरकार गठन भएको छ, हामीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरिसकेका छौं, आउने साताभित्रै प्रधानमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिनुहुन्छ ।’

उनले मन्त्रिमण्डल विस्तारमा ढिलाई हुनुमा खास कारण केही नभएको जिकिर गरे । महासेठले भने,‘एमाले र माओवादीबीच एकता भैरहेको छ, केही प्राविधिक कामहरु द्रुत गतिमा भैरहेका छन्, नवगठित कार्यदलहरु आफ्नो काममा व्यस्त छन् ।’

वर्तमान सरकारको मुल उद्देश्य नै यसअघिको सरकारबाट सिर्जित बिसंगति र चाहिने÷नचाहिने कामलाई व्यवस्थित् गर्नु रहेको उनको भनाई थियो । उनले भने,‘अघिल्लो सरकारले गरेका कामहरुलाई हामी कानूनसम्मत् रुपमा व्यवस्थित् गर्छौं ।’ निर्वाचनको बेला जारी एमाले–माओवादीको संयुक्त घोषणापत्रलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पनि आफूहरुको अर्को प्राथमिकता रहेको महासेठले जानकारी दिए ।

वाम गठबन्धन नेतृत्वको वर्तमान सरकारले एक वर्षभित्रै मुलुक र जनतालाई केही अनुभुति दिलाउने गरि काम गर्ने उनको दाबी थियो । उनले भने,‘वाम गठबन्धनको सरकारले देश विकासमा केन्द्रित भएर काम गर्छ, सम्भवत् यही आउने चैत्रभित्रै हामी दुवै पार्टीवीच एकता घोषणा हुन्छ, त्यसपछि सरकारको कामको गति द्रुत हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ