arrow

राष्ट्रपतिमा नेम्वाङ ? विद्या र झलनाथ जिल्लिँदै !

ओली तनावमा 

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
subash-chand-nembang.jpeg

काठमाडौं । पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुनः दोहोरिने इच्छा र एमालेका वरिष्ठ नेता झलनाथ खनालको तीव्र चाहना विपरीत नेम्वाङको राष्ट्रपतिमा सम्भावना बढेको स्रोत बताउँछ । 

सभामुख बन्नुअघि पनि नेम्वाङको राष्ट्रपतिमा नाम आएकै थियो । तर समय र परिस्थितिले विद्या राष्ट्रपति भइन् । 

यसपटक राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेम्वाङको सम्भावना बढेको हो । नेम्वाङ जनजातिको कोटामा समेत आउँदा एमालेले भागबण्डा पनि राम्रोसंग गरेको देखिने बताइन्छ । 

जनजातिहरु पनि गौरव गर्न सक्ने स्थिति देखिने भए पनि एक जनजाति नेता भने आफूहरुको आन्दोलनलाई नेम्वाङले खासै नसघाएको गुनासो गर्छन् । 

उनले भने, ‘रिसईवी नसाँध्ने हो भने नेम्वाङ राष्ट्रपति बन्नु हाम्रा लागि गौरवकै विषय हो । '

के गर्दैछन् त नेम्वाङले ? 
विद्यादेवीको दोहोरिने इच्छा र झलनाथ खनालको पनि जिम्मेवारी आए पछि हट्दिन भन्ने लबिङका बीचमा आएका नेम्वाङले आफ्नो भनसुन तीव्र पारेका छन् । 

शुक्रबारको दिनसम्म ५० प्रतिशतको सम्भावना बोकेका नेम्वाङ शनिबारदेखि ५१ प्रतिशतमाथि लागेको स्रोत बताउँछ । 

स्रोत भन्छ, ‘उहाँको सम्भावना बढेर आयो, उहाँले राखेका विचारलाई उच्चतहबाटै सकारात्मक रुपमा लिइएको छ ।’

नेम्वाङले सिनियर नेताहरुसंग आफ्नो इच्छाबारेमा अवगत गराइसकेका छन् । 

के होला विद्या र झलनाथको ? 
विद्याले अतृप्त हुँदै पुनः दोहोरिने इच्छा देखाएकीमात्र छैनिन् सत्ता साझेदार माओवादी केन्द्रसंग पनि सेटिङ मिलाएकी छन् । 

उनले उपराष्ट्रपतिमा माओवादीका नन्दबहादुर पुन पनि पुनः दोहोरिनुपर्ने धारणा राखेकी छिन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगका पटकपटकका भेटमा उनले बफ्नो इच्छा जनाइसकेकी छिन्। 

यसको मतलब उनले आफू पनि दोहोरिने भनेकी हुन् । विद्याले आफूलाई सहज होस् भन्नका लागि कानुन नै नहेरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ल्याएको प्रस्तावमा राष्ट्रिय सभाका तीन प्रतिनिधिमा लालमोहोर लगाएकी थिइन् । 

जबकी त्यो विषय मुद्दा बनेको छ । यो मुद्दामा विद्या अनावश्यक फसेकी छिन् । प्रतिपक्षी उनको विरुद्ध खुलेर सडकमा आएको छ।

झलनाथ पनि आफू नै राष्ट्रपतिको बलियो दावेदार भएको प्रचारप्रसार गर्दै हिंडेका छन् । सीधै नभनेर उनले राष्ट्रपतिको जिम्मेवारी आए पछि नपर्ने बताएका छन्।  

झलनाथले अझै हिम्मत हारेका छैनन् । 

के गर्लान् ओलीले ? 
प्रधानमन्त्री केपी ओलीले आफ्नो वश चल्यो भने फेरि पनि विद्यालाई नै दोहोर्याउँथे । तर सबै कुरा उनमा मात्र निहित छैन । 

नेम्वाङ पनि उनी समर्थक नै हुन् । त्यसैले गर्दा नेम्वाङको हकमा के गर्न सकिन्छ भनी उनी चिन्तित हुन थालेको बालुवाटार स्रोत बताउँछ । 

ओली तनावमा रहेको बुझिन्छ । पार्टीभित्र पनि भागबण्डा मिलाउनु पर्ने भएकाले उनलाई पनि सकस नै छ । 

नेम्वाङ वा अरु कोही राष्ट्रपति बन्दा विद्यासंग जस्तो ट्युनिङ नमिल्ने हो कि भन्ने आशंका ओलीलाई बढेको छ । त्यसकारण पनि ओली सकेसम्म अझै पनि विद्यालाई नै राष्ट्रपति बनाउन चाहिरहेका छन्। तर नेम्वाङको व्यवस्थापन गर्ने सन्दर्भमा उनलाई राष्ट्रपतिको उमेद्वार बनाए आश्चर्य नहुने एमालेका नेताहरुको बुझाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ