arrow

ओली र प्रचण्डले भारतसँग सम्बन्ध बिगार्ने बारे सपनामा नि सोच्न सक्नुहुन्न: कोशियारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीवीच कहिल्यै पनि सम्बन्ध खराब नरहेको जिकिर

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
kosiyari_India.jpg

काठमाडौं। नेपाल–भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतसँग सम्बन्ध बिगार्ने बारे सपनामा नि सोच्न नसक्ने आफुसँगको भेटमा बताएको  कोशीयारीले जानकारी दिए। 

रिपाेटर्स क्लबको साक्षात्कारमा उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढि केन्द्रित हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आँतुर छ, यहाँ स्थायित्व कायम होस्, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस्।’

साक्षात्कारमा बोल्दै उनले आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए । 

उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरु हुनुहुन्छ उहाँहरु सबैको भारतसँग राम्रो सम्बन्ध छ । जहाँसम्म पब्लिकको भारतसँगको सम्बन्धको कुरा छ । उहाँहरुको त झनै अटुट सम्बन्ध छ । म सोच्छु कि दुधमा यदि चिनी मिलाईयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न । यस्तै भारत र नेपालको सम्बन्ध छ । अहिले नेपालमा नयाँ सरकार बनेको छ । जनताको यो सरकारसँग धेरै ठूलो अपेक्षा छ ।’

भाजपाका पूर्व उपाध्यक्ष समेत रहेका संयोजक कोशियारीले नेपाल बसाईको क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेको जनाए । 

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा के–के विषयमा छलफल भएको थियो ? भनेर  सोधेको एक प्रश्नमा उनले भने,‘हेर्नुहोस्, जब वान–टु–वान भेटवार्ता हुन्छ, बैठकमा भएका कुराहरु हुबहु बाहिर ल्याउन मिल्दैन्। मैले देउवासँग पनि भेटे गरें । प्रधानमन्त्री ओलीजीसँग पनि भेट गरें । प्रचण्डजीसँग पनि भेट गरें । मलाई राम्रो लाग्यो कि सबै नेताहरुले हामी भारतसँग कहिल्यै सम्बन्ध बिगार्नेबारे सोच्नपनि सक्दैनौं भन्नुभयो । उहाँहरुले यो त हामी सपनामा पनि सोच्न सक्दैनौं भन्नुभयो ।’

कोशियारीले नेपाल–भारत सम्बन्ध युनिक रहेको उल्लेख गर्दै भने,‘यो सम्बन्ध उदाहरणीय छ । नेपालका सबै नेताहरुले एउटै कुरा गर्नुभएको छ । उहाँहरु तीन जनाकै पार्टी अलग–अलग छन् । तर तीनै जनाको एउटै स्वर छ । भारतसँगको नेपालको सम्बन्ध सनातन छ । विकासको लागि मिलेर काम गर्ने उहाँहरुले मलाई आश्वासन दिनुभएको छ।’

भर्खरै गठन भएको नयाँ सरकार स्थायी हुने भएकोले आफूहरुको ध्यान अब विकासमा केन्द्रित हुने उनको भनाई थियो । उनले थपे,‘केबल हाम्रो ध्यान: विकास, विकास र विकास मात्रै हो ।’

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीवीच कहिल्यै पनि सम्बन्ध खराब नरहेको जिकिर गरे । कोशियारीले भने,‘तर कुनै प्रसँगबस घरमा पिता र पुत्रबीच लडाई हुनसक्छ, मतभिन्नता हुनसक्छ । पत्रकाहरुकोबीचमा पनि कहिलेकाहीँ मतभिन्नता हुन्छ ।’

त्यस्तै उनले हिजो समाप्त भएको ईपिजी बैठकबारे प्रकाश पार्दै भने,‘प्रबुद्ध समूहको हिजो समाप्त भएको बैठकको पत्रकार सम्मेलनमा मैले आफ्नो कुरा संक्षिप्त रुपमा राखेको थिएँ ।’

नेपालमा वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्दै कोशियारीले भने,‘म यति भन्न चाहन्छु कि यो एकदमै हर्षको कुरा हो । नेपालमा प्रजातान्त्रिक रुपमा पहिलोपटक विधिवत् र संविधान अनुसार सरकार गठन भएको छ । म भन्न सक्छु कि यो धेरै धेरै ठूलो उपलब्धि हो । यस्तो उपलब्धि नेपाली जनताले दिएका छन् । निर्वाचनमा खुन खबाडा केही भएन् । जनताले सरकार बनाउनको लागि भारी बहुमत दिए । म नेपालका जनतालाई अभिनन्दन गर्न चाहन्छु। उनीहरुको प्रशंसा गर्छु ।’

प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको दुःख र दर्दहरु दुर गरोस् भनेर आफूले भगवान पशुपतिनाथसँग कामना गरेको पनि उनले बताए । कोशियारीले भने,‘मेरो त भगवान पशुपतिनाथसँग प्रार्थना छ कि जुन यहाँ नयाँ सरकार बनेको छ, यसले जनताको हितको लागि काम गरोस्। ज्नताका हरेक दुःख दर्दहरुको दुर गरोस् । सरकारमा स्थायित्व आओस् । विकास र समृद्धिको लागि स्थायित्व अनिवार्य हुन्छ ।’

नेपाल–भारत प्रवुद्ध समूहले चाँडै प्रतिवेदन ल्याउने पनि उनले जनाए । कोशियारीले भने,‘जहाँसम्म ईपिजीको सवाल छ, चाहे १९५० को सन्धिको कुरा छ, चाहे ट्रेड एण्ड ट्रान्जिट होस्, चाहे पानी होस्, चाहे कनेक्टिभीटी होस्, भारतबाट नेपालमा रेल आउनुपर्छ, साईबर क्राईमबारे मिलेर काम गर्नुपर्छ, वातावरणीय विषयहरु छन् । यी सबै विषयमा कसरी हामी आपसमा मिलेर काम गर्न सक्छौं भनेर व्यापक छलफल गरेका छौं । अब आउने प्रतिवेदन दुवै देशको हितमा हुन्छ । प्रतिवेदन आएपछि नेपालीहरु खुशी भएको हेर्न चाहन्छु । प्रशन्न भएको देख्न चाहन्छु । यसमा हाम्रो प्रयास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ