arrow

बराहपोखरीमा डुंगा सरर

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
boat.JPG

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो ।

उचित संरक्षण र संवद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि डुंगा सयर गर्ने व्यवस्था मिलाइएको बराहपोखरी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष देवीप्रसाद रेग्मीले बताए ।

 “बराहपोखरी त्यसै पनि सुन्दर छ ।” उनले भने, “तरपनि अवलोकन र दर्शन गर्न आउने पर्यटक र दर्शनार्थीलाई थप मनोरञ्जन दिलाउन डुंगा पनि सञ्चालनमा ल्याइएको हो ।”

तत्कालीन सांसद विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट आव २०७३–०७४ मा विनियोजन गरिएको बजेटमध्ये रु छ लाख ५० हजारमा भारतबाट खुट्टाले चलाउन मिल्ने तीनवटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको छ । एकपटकमा चारजना अट्ने डुंगामध्ये हाल एकवटा मात्र सञ्चालनमा ल्याइएको छ ।

करिब ४ दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीलाई आकर्षक गन्तव्य थलोका रुपमा विकास गर्न नजिकका राँकुली खोलाबाट पाइपबाट पानी ल्याएर बिहीबारदेखि डुंगा सञ्चालनमा ल्याइएको जनाइएको छ । 

मुहान र निकास हुने ठाउँ नदेखिए पनि बा-है महिना टम्म पानी हुने पोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थी एवं घुमफिरमा आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालनमा ल्याइएको हो ।

‘अर्धचन्द्राकार’को बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गरेको छ । ‘मुहान नदेखिने तर कहिल्यै नसुक्ने’ बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीय बताउँछन् ।

सधैँ स्वच्छ पानीले भरिभराउ रहने निलो पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ । मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

विकास, संरक्षण र संवद्र्धन गर्दै जिल्लाकै प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना बोकेको बराहपोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ । डुंगा सञ्चालनमा आएपछि हाँस आउन नपाउँदा रातो माछा संरक्षण हुने अध्यक्ष रेग्मीले बताए ।

बराहपोखरी पुग्नका लागि धाप्लाङ–धर्तुङ–बराहापोखरी सडक सञ्चालनमा रहेको छ । बराहपोखरीको पानीले स्नान गर्दा रोगब्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीको भीड लाग्ने गर्दछ ।

सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको बराहपोखरीमा विशेषगरी प्रत्येक हरिबोधनी एकादशीको दिन र अघिल्लो दिन सतबीज छर्ने चलन छ । सधैँ स्वच्छ पानी रहने निलो पोखरीको पश्चिम किनारामा शंखेश्वर महादेवको मन्दिर छ ।

खोटाङका सबै क्षेत्र तथा छिमेकी जिल्ला उदयपुर, भोजपुर, सोलुखुम्बु, ओखलढुंगालगायत र तराईका विभिन्न जिल्लाबाट पनि दर्शनार्थी तथा पर्यटक आउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ