arrow

पौडेलको पत्रले सहमति भाँडिएको देउवा पक्षको ठहर

विश्वप्रकाश शर्मा जुटे नेताहरुबीच सहमति गराउन

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
bishwo-prakash-tweet-deuba-poudel.jpg

काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा व्यहोरेको पराजय पछि पार्टी भित्र र बाहिर नेतृत्वका बारेमा अनेक टिकाटिप्पणी भएका छन्। यसै क्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको वैठकमा केन्द्रिय समितिका सदस्यहरुलाई बाँडेको पत्र अहिले काँग्रेस पार्टीका नेता कार्यकर्ता र काँग्रेसका शुभेच्छुकहरुका बीचमा टिप्पणीको बिषय भएको छ। 

नेपाली काँग्रेसको संसदीय दलको नेता चयन गर्नुअघी सार्वजनिक गरिएको पौडेलको पत्रले नेपाली काँग्रेसमा गुटगत राजनीतिलाई थप बढावा दिने आशंका काँग्रेसका एकथरी नेता कार्यकर्ताहरुको छ। पार्टी सभापति शेर बहादुर देउवालाई आक्रामक ढंगले आरोपित गरिएको सो पत्रले काँग्रेसका दुई नेताहरुबीचमा थप दुरी बढाएको महशुस काँग्रेसका केन्द्रीय तहकै नेताहरुको पनि छ। 

चुनावमा पार्टी पराजयको जस अपजस लिने दिने क्रम चले पनि अब भने काँग्रेसलाई एक बनाएर लाने चुनौती छ। यो चुनौती एक मन बनाएर बढेको काँग्रेसले मात्र सामना गर्न सक्छ विभाजित मन लिएर हिडेको काँग्रेसले होइन भन्छन पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा। 

नेपाली काँग्रेसको प्रवक्ताको जिम्मेवारी लिएका शर्मा पार्टी सभापति देउवाको खास विश्वासपात्रको रुपमा पार्टी र पार्टी सभापतिको लाइनलाई लिएर हिड्ने जिम्मेवारीमा भएपनि व्यक्तिगत हैसियतमा आफू पार्टी नेतृत्वको बीचमा बढेको दुरी कम गर्न लागेको बताउँछन्। 

प्रवक्ताको हैसियतमा नभइ पार्टीको कार्यकर्ताको हैसियतमा दुवै नेताहरुलाई भेटी सल्लाह दिएको शर्माले बताए। उनले आपसी मनमुटाव सार्वजनिक नगर्न आग्रह गर्दै एकतावद्ध भएर नेतृत्व गर्न वा अभिभावक भएर बस्न सुझाव दिएको बताए। अभिभावक भएर बस्दा समेत वैकल्पिक पङति नेतृत्वका लागि पार्टीमा तयार रहेको उनले सामाजिक सञ्जालमा सार्वजनिक गरे। 

पौडेलको पत्रको पीडा

पौडेलले सार्वजनिक गरेको चिठीले नेताहरुबीच सहमतिको सम्भावना क्षीण भएको बुझाइ देउवा पक्षका नेताहरुको छ। स्वयं देउवा पक्षका नेताहरु पनि आम मतदाता र कार्यकर्ताहरुमा पार्टी र पार्टी नेतृत्वप्रति सकारात्मक सन्देश प्रवाह हुने गरि सभापति देउवालाई संसदीय दलमा उमेद्वार नबन्न मनाइरहेका बेला अचानक सार्वजनिक भएको पत्रले 'इगो' मात्र बढाएको बताइदैछ। 

पौडेलको पत्रले समस्या सिर्जना गरेको संकेत शर्माले सामाजिक सञ्जालमा समेत व्यक्त गरेका छन्। उनले लेखेका छन, ' चिठीपत्रको शैली हामलाई छोड्नुस, चिया वैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्नोस,  देशभरिका काँग्रेसजनको यहि माग छ। '

संसदीय दलमा यतिखेर सभापति देउवा आफै उमेद्वार हुने र हुन नहुने भन्ने तर्क भइरहेको छ। देउवा निकटहरु देउवालाई नै संसदीय दलको नेता बनाउन खोजिरहेका छन्। कतिपय देउवा निकटहरु भने देउवालाई अर्को विकल्प दिन भनिरहेका छन्। 

संसदीय दलको नेता भए पनि प्रधानमन्त्री बन्न पाउने अवस्था नभएकाले चुनाव गरेर पार्टीभित्र अझै गुट–उपगुटलाई प्रश्रय दिइरहेको अपजस नलिन सभापति देउवालाई उनीहरुले आग्रह गरिरहेका छन् ।

पार्टीका नेताहरु प्रदिप गिरी, डा नारायण खड्का लगायतका नेताहरु देउवालाई सम्झाइरहेका छन्। पार्टी कमजोर भइरहेको अवस्थामा संसदीय दलको नेता सर्वसम्मत हुँदा त्यसले नेता कार्यकर्तामा सकारात्मक प्रभाव पार्ने भएकाले त्यसमा ध्यान दिन उनीहरुले भनेका छन्। तर यो पहल भइरहँदा सभापति माथि संगिन रुपमा लगाइएको आरोपले माहौल विग्रेको देउवा पक्षका नेताहरुको बुझाइ छ। पौडेल पक्ष सबै दोष देउवालाई थोपरेर पानी माथिको ओभानो बन्न खोजेको देउवा निकट एक नेताले बताए। नत्र पार्टी हित हुने बिषयमा सहमति खोज्न छोडेर किन पत्र सार्वजनिक हुन्थ्यो र ?

नेताहरु गिरी र खड्काले देउवालाई सम्झाइरहँदा प्रवक्ता शर्माले दुई नेताहरुलाई भेटेर सहमतीमा आउन आग्रह गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक नै गरे। उनले नै सार्वजनिक गरेको विषयभन्दा केहि बढी नै कुरा समेत शर्माले राखेको स्रोत बताउँछ। 

देउवा र पौडेलले मिलेर सर्वसम्मत रुपमा नेता चयन गर्न नसके जस्को नाममा सहमति हुन्छ उसैको नाममा सहमति बनाउन  शर्माले आग्रह गरेको स्रोतको दावी छ। उनले सहमतिमा जाँदा देउवाको नाममा सहमति हुन नसके संसदीय दलको नेता बन्न इच्छुक प्रकाशमान सिंहको नाममा सहमति हुन्छ भने उनको नाममा सहमति जुटाउन आग्रह गरे। सिंहको नाममा समेत सहमति नभए महामन्त्री डा शशांक कोइरालाको नाममा सहमति जुटाउन प्रयास गर्नुपर्ने बताए। कसैको नाममा पनि सहमति नभए नेताहरु आफै चुनावमा जान नहुने समेत सुझाव दिइएको बताइएको छ। 

सुझावहरुलाई ध्यानसाथ सुन्ने नेताहरुले निर्णचाहि कहि न कहिबाट प्रभावित भएर गर्दा समस्या सिर्जना हुने गरेको काँग्रेसका नेताहरुको भनाइ छ। प्रभावित भएर 'इगो' साध्दा यो लडाइमा नेपाली काँग्रेस नमिलोस भन्ने विभिन्न स्वार्थ समुह समेत हावी हुन थालेको छ। के काँग्रेसका नेताहरु यो सत्य स्विकार्न तयार छन्?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ