arrow

फागुमा काँग्रेस नेताहरुको घोचपेच र ठट्टा,  'शुरुमै सकाएपछि आनन्दै भयो नी !'

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
lunch-meeting-holi-tokha-koirala-niwas.jpg

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बुधवार पार्टी सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुलाई निम्तो गरेर टोखास्थित आफ्नै निवासमा फागु पूर्णिमाको शुभकामना आदान प्रदान गर्ने माहौल बनाए । निम्त्याइएका सबै नेताहरु समयमै पुगेका थिए। काँग्रेस केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु, हालै प्रतिनिधि सभा र राष्ट्रिय सभामा पुगेका र पुर्‍याइएका काँग्रेसका सांसदहरु, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरु कोइरालाको अतिथि थिए। 

कोइरालाको टोखाको फराकिलो घर कम्पाउण्डमा काँग्रेस दोस्रो तहका नेताहरु पालमुनि रमाइला गफमा मस्त थिए। पार्टी सभापति र बरिष्ठ नेता सहितका केहि अग्रज नेताहरुको प्रतिक्षा थियो। आएकाहरुलाई महामन्त्री कोइराला आफै स्वागतमा खटिएका थिए। सबैलाई फागु पूर्णिमाको शुभकामना वाँडिरहेका थिए। नेताहरु एक पछि आउने क्रमसँगै ठट्टा हसिमजाक र घोचपेच चलिरह्यो ।

शुरु देखि नै नेपाली काँग्रेसका निवर्तमान प्रमुख सचेतक चीनकाजी श्रेष्ठ काँग्रेस नेता डा मिनेन्द्र रिजालसँग हसिमजाकमा थिए। साथमा अरु नेताहरु पनि थपथाप गर्दै थिए। राजनीतिका कुरा सँगै उमेरका कुरा आउँदा चिनकाजीले मिनेद्रलाई भने म संसदमा सचेतक हुँदा मिनेन्द्रजी विश्वविद्यालय पढ्दै थिए। सहभागी सबै हाँसोको फोहोरा फुट्यो। चिनकाजीको कुरा भुइमा झर्न नपाउँदै मिनेन्द्रले जवाफ फर्काए १५ सालकै संसदमा होकी ? आफूलाई सिनियर देखाउने नाममा चिनकाजीले गरेको व्यङग्यमा मिनेन्द्रले १५ सालको झटारो हानेका थिए। 

रमाइलोकै बीचमा समानुपातिकबाट सांसद भएका तथा राष्ट्रिय सभामा पार्टीका तर्फबाट सांसद भएकाहरुलाई वधाई लिने दिने क्रम पनि जारी नै थियो। फागुको शुभकामना आदानप्रदान पनि चलेकै थियो। नेताहरुको कटाक्ष पनि जारी नै थियो। सहभागि हुन नेताहरु आउने क्रमसँगै उनीसँगै जोडिएर नयाँ प्रसङग आइहाल्थ्यो।

काँग्रेसको संसदीय दलमा सभापति शेर बहादुर देउवासँग चुनाव लड्छु भनेका प्रकाशमान सिंह पनि माहौलमा मिसिए। उनी आएको केहि छिनमै थपिए विमलेन्द्र निधी। त्यसपछि शुरु भयो राजनीतिक घोचपेच  र ठट्टा। 

विमलेन्द्रले दिएको एक अन्तर्वार्तामा सभापति शेर बहादुर देउवा संसदय दलमा निर्विकल्प भएको भनाइको चर्चा भइरहँदा त्यो कुरा त्यहाँ पनि उठ्यो। आफ्नो भनाइको प्रष्टिकरण दिदै निधीले भने करिव ४० जना सांसद देउवालाई समर्थन गर्ने अवस्थामा उनी स्वभाविक रुपमा संसदीय दलको नेतामा निर्वाचित हुने आफ्नो भनाइ रहेको सुनाए। देउवाको विकल्प रामचन्द्र पौडेल हन सक्ने भएपनि पौडेल संसद चुनावमै पराजित भएको अवस्थामा उनको विकल्प अर्को हुन नसक्ने निधीले बताए। निधीले सिंहको मुखैमा भने देउवाजीको विकल्प प्रकाशजी हुन सक्नुहुन्न। 

आफ्नै अगाडी निधीले यस्तो कुरा गरिसकेपछि प्रकाशमानले पनि मुख खोले। उनले भने अहिलेसम्म पार्टीको कुनै चुनाव हारेको छैन। पार्टीका नेता कार्यकर्ताहरुले छान्ने चुनावमा न्याया पाएको नै छु। 'काठमाडौंको तत्कालिन सभापति हुँदा तत्कालिन महामन्त्री शुसिल कोइरालाले एक जना बाहेक सबै आफ्नो विपक्षी राखेर चुनाव गराउँदा त चुनाव जितेको थिए यो पटक पनि सबै विवेकी नेता साथीहरु नै मतदाता भएको अवस्थामा आफू चुनाव जित्नेमा ढुक्क छु ', सिंहले आत्मविश्वास देखाए।  

संसदीय दलको नेताको बिषयमै नेताहरुको गफ, व्यङग्य र घोचपेच चलेको थियो। एकजनाले बीचैमा प्रश्न गरे सभापति वरिष्ठ नेताहरु चाहि कतिखेर आइपुग्नुहुन्छ? शुरु देखिनै माहौल तताइरहेका मिनेन्द्रले भने कोत भण्डारखालमा को कतिखेर बोलाइएका छन अनि कतिखेर आइपुग्छन हेर्दै जाउँ। 

कुराकानीकै बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल आइपुगे। शशांकले स्वागत गरेर चौरमा टेन्ट गाडेको ठाउँसम्म पुर्‍याए। पौडेलको प्रवेशसँगै मिनेन्द्रले भने शेर बहादुरजी निर्विकल्प भन्नुभयो नी निधीले तपाइले सुन्नुभयो। 

मिनेन्द्रले भन्न नपाउँदै प्रकाशमानले भने सोसल मिडियामा निधीजीको कुरा व्यापक छनी। निधीले थपे देउवाजीको विकल्व पौडेलजी हो तर उहाँ त शुरुमै सकिइहाल्नुभयो। उनले तनहुँमा चुनाव हारेका कारण पौडेल संसदीय दलमा चुनाव उठ्न नपाएकोतर्फ संकेत गर्दै थिए। निधीको कुरा सकिन नपाउँदै पौडेलले मसिनो स्वरमा भने शुरुमै सकाएपछि आनन्दै भयोनी। 

नेपाली काँग्रेसबाट फुटेर प्रजातान्त्रिक काँग्रेस बन्दा एकै ठाउँमा रहेका सिंह, निधी र मिनेन्द्रले नयाँ पार्टी घोषणाका बेलामा रामचन्द्र पौडेलले अन्तिम समयमा नयाँ पार्टीमा नआएको प्रसङग पनि स्मरण गरे। त्यतिखेर आएको भए पार्टी सभापति हुनुहुन्थ्यो अहिलेसम्म धेरै कुरा हुन्थ्यो। उहाँलाई पनि हुने बेलामा भाग्यले पनि साथ नदिने निधीले फेरि चुनावमा हारेको कुरालाई जोडे। 

चुनावमा व्यहोरेको हारको कुरामा निधीलाई मिनेन्द्रले पनि जवाफ दिएका थिए । सिंहले पार्टीको चुनावमा आफूले कहिल्यै पराजय नव्यहोरेको भनिरहँदा मिनेन्द्रले भने त्यो कुरा त निधीजीलाई जति कस्लाई थाहा होला र रु निधी र सिंह महामन्त्रीमा आमनेसामने हुँदा निधी पराजित भएका थिए भने सिंह विजेता भएका थिए। निधीले स्विकारोक्ती जनाउँदै भने चुनाव उठ्ने चर्चा नै नभएको मान्छे महामन्त्रीमै उठेर मलाइ नै हराए नी प्रकाशजीले। प्रकाशमान सिंह नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसको एकिकरण भएपछि आफ्नो विरोधी भनिएको कोइरालाहरुसँगै मिलेर देउवा समुहसँग चुनावी प्रतिष्पर्धामा गएका थिए। त्यो चुनावमा पनि देउवा सभापतिमा शुसिल कोइरालासँग पराजित भएका थिए।

Image may contain: 4 people, people smiling, people standing and outdoor

छलफलकै चीमा साँढे वाह्र बजेतिर सभापति देउवा कोइराला निवास टोखा पुगे। उनलाई कोइरालाले स्वागत गरे। देउवा पालतिर लम्कदै गर्दा उनलाई सबैले उठेर स्वागतसँगै अभिवादन गरे। देउवा त्यहाँ आए लगत्तै निधीले देउवालाई सुनाए तपाइको निर्विकल्पको कुरा भइरहेको छ। देउवा मुस्कुराइमात्र रहे। शुरुदेखि नै पौडेलसँगै रहेका योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल र स्वर्णिम वाग्लेले ठाउँ छोडिदिए। पौडेलसँगै केहि छिन सँगै बसेका देउवाले फर्कने हतारो देखाइहाले। उनले हतारो देखाएपछि आयोजकका रुपमा महामन्त्री कोइरालाले काँग्रेस मिलेर जानुको विकल्प नभएको भन्दै सबैलाई एकताको सन्देश दिन आग्रह गरे। करिव १ मिनेटमा उनले स्वागत गर्द  गर्दा पार्टीको भविष्यका लागि सबै एक ठाउँमा आउनुपर्ने बताए। 

महामन्त्रीले दिएको दिवाभोजमा करिव १५ मिनेट मात्र बसेका देउवाले फर्कदै गर्दा संवाददाताहरुलाई आफू संसदीय दलको चुनावमा उमेद्वार हुने बताए। उनको कुरा सुनेका पौडेलले संसदीय दलमा नयाँ अनुहार खोज्नुपर्ने बताए। सभापतिका देउवाका आलोचक रहेका सिंहले पार्टीमा अवसर पाएर पनि गर्न नसकेका देउवालाई अब संसदीय दलमा ल्याउन नहुने बताए। उनले आफ्नो उमेद्वारी नयाँ काँग्रेसका लागि भएको बताए। 

महामन्त्री कोइरालाले भने जजस्ले उमेद्वारी घोषणा गरेपनि चुनावको प्रक्रिया शुरु हुन बाँकी रहेको जनाउँदै अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने बताए। यतिखेर काँग्रेस नेतृत्व चुनावमा जानु पार्टीको हितमा नहुने उनले प्रष्ट्याए। चुनावमा जानु नेतृत्वबीचमा झन खाडल फराकिलो बनाउनु हो। अहिले एकताको आवश्यक छ कोइरालाले भने। 

फागु पूर्णिमाको अवसरमा कोइरालाले गरेको होली मिलनमा काँग्रेस नेताहरुले जे जस्तो कुरा राखेपनि कार्यकर्ताहरुमा भने केहि सकारात्मक सञ्चार हुने अपेक्षा त्यहाँ रहेका तेस्रो पुस्ताका नेताहरुको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ