arrow

लौ खुल्यो चीन जोड्ने ट्रयाक 

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
nepal-china-flag.jpeg

गोरखा । तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । बेनीघाट–लार्के सडकखण्ड अन्तर्गत हावाडाँडाबाट सुरु गर्दै तातोपानीसम्म ट्रयाक खोलिएको हो । 

लार्के सडकखण्ड अन्तर्गत लापुबेंसी, न्याउली, खानीबेंसी, माछाखोला र खोर्लाबेंसी हुँदै हाल तातोपानी क्षेत्रमा काम भइरहेको सेनानी निशान्त क्षत्रीले बताए । ‘गएको वैशाखको ११ बाट औपचारिक रूपमा हामीले काम सुरु गरेका हौं,’ उनले भने, ‘हालसम्म १४ किमि क्षेत्रमा काम भइरहेको छ ।’

सडक निर्माणका लागि चालु आर्थिक वर्ष १० करोड रुपैयाँ विनियोजन भएको थियो । राष्ट्रिय गौरवका आयोजनामा परेको उक्त सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको उनले बताए । 

‘हावाडाँडादेखि लापुबेंसीसम्मको डेढ किमि सडक सबैभन्दा अप्ठ्यारो थियो, ब्लास्ट गर्दै खोलेका हौं,’ उनले भने, ‘धेरैजसो ठाउँमा कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग नगरी काम गर्न गाह्रो छ ।’ 

न्याउली खोलादेखि खोर्लाबेंसीसम्मको ९ किमि क्षेत्रको चट्टान फोर्न पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । ‘लापुबेंसी खण्डको केही क्षेत्रमा मात्र माटो भेट्यौं, अन्यत्र सबै ठाउँमा चट्टानै हो,’ उनले भने, ‘सर्वे भएको १६ किमिको काम गरिरहेका छौं, बाँकी खण्डको पनि सर्भे भइरहेको छ ।’ 

सडकको ट्रयाक खोल्न नेपाली सेनासहित २ सय ७० जना कामदार खटिएका छन् । बेनीघाटदेखि लार्केसम्मको १ सय ८६ किमिमध्ये ६२ किमिको काम भने सडक विभागले गरेको छ । हावाडाँडादेखि लार्केसम्मको १ सय २० किमि सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो ।

सडक निर्माणले तीव्रता पाएसँगै चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । ‘यस्तो ठाउँमा सडक आउँछ भनेर सोचेकै थिएनौं,’ चुमनुब्री ३ सिर्दिवासका सुकमान गुरुङले भने, ‘मोटरबाटो आएपछि खच्चडलाई बोकाउन पर्दैन, अनि सस्तोमा सामान पनि पाइन्छ ।’ 

सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकामा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ