arrow

किन चाहन्छन् ओली राष्ट्रपतिमा भण्डारीलाई नै दोहाेर्‍याउन ?

ओलीको हिसावकिताब, सेनाको समर्थन

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
Oli-Bhandari.jpg

काठमाडौं । आउँदो २९ गते मंगलबार भावी राष्ट्रपतिका लागि मतदान हुँदैछ। २९ गतेको मतदानका आगि २३ गते वुधबार उम्मेदवारी दर्ता गराउनु पर्ने तालिका छ। अबको ४ दिनभित्र दलहरुले राष्ट्रपतिका लागि उम्मेदवारको टुंगो लगाउनु पर्नेछ। यही मेसोमा भावी राष्ट्रपति उम्मेदवारका लागि दलहरुवीच आन्तरिक रुपमा विमर्श भइरहेको छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले यो पदमा २८ महिना विताएकी छन्। तर उनले अर्को कार्यकालका लागि पनि चाहना राखेकी छन्। केही दिनअघि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा भण्डारीले अर्को कार्यकालका लागि पनि पद कायम राखिदिन  शुरुमा सांकेतिक र पछि खुलेरै अनुरोध गरिन्। अझ उनले आफुलाई नदोहोर्‍याए फेरी सक्रिय राजनीतिमा फर्किने सफ्ट चेतावनी समेत दिइन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकी विश्वासपात्र मानिने भण्डारीले भित्रभित्रै ओलीलाई कन्भिन्स गरिसकेको श्रोतको दाबी छ। सामान्यतः राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भएपनि, यसपाली प्राविधिक कारणवस २८ महिनामै बाहिरिनु पर्ने स्थिति आएको भन्दै भण्डारीले पद छाड्न आनकानी गरेको पनि श्रोतको जिकिर छ। पछिल्लो समय शेरबहादुर देउवाले राष्ट्रियसभाका ३ जनाको नाम स्वीकृत नगरी ओलीले सिफारिस गरेकाको नाम स्वीकृत गर्नुको एउटा कारण पनि राष्ट्रपति भण्डारीले वर्तमान गठबन्धनलाई फकाउनु रहेको बुझिएको छ।
 
ओलीको हिसावकिताब

चुनावको परिणाम सार्वजनिक भएदेखि नै एमाले पूर्व अध्यक्ष झलनाथ खनालले राष्ट्रपति पदका लागि आस राखेका थिए र अझै पनि छन्। उनले अन्तरवार्ताका क्रममा र सार्वजनिक कार्यक्रममा समेत आफुलाई राष्ट्रपति बनाएमा सहर्ष स्वीकार्ने बताउँदै आएका छन्। बिना प्रसंग राष्ट्रपति पदका लागि मुख खोल्दै हिंडेका खनालको पार्टीभित्र राम्रो पकड छैन।

पार्टीभित्रकै कुरा गर्दा खनाल पक्षधरले उनलाई फेरी एक पटक पार्टी अध्यक्षमा उठ्न भन्दै आएका छन्। तर उनी आफैं भने झन्झट कति व्यहोर्ने भन्दै राष्ट्रपति पद पाएमा आरामको जिन्दगी जिउने ध्याउन्नमा छन्। तर पार्टीमा राम्रो पकड बनाएका ओलीले खनाललाई त्यति रुचाएनन । त्यसमाथि पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल समेत आक्कल झुक्कल भेट्न जाने र उनकै गाडीमा हिँड्न थालेपछि, नेपाल पक्षधर युवा नेताहरु सशंकित भएका छन्। यही मौका छोपेर खनाललाई साइजमा ल्याउन पनि ओलीले भण्डारीलाई दोहोर्‍याउन चाहेका छन् ।

अर्को कुरा केही दिनअघिको बैठकमा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफुलाई प्रदेश ३ को मुख्यमन्त्रीमा हराइदिएका कारण भावी राष्ट्रपतिमा दावी गरिदिएपछि, ओलीलाई बरु भण्डारी नै दोहोर्‍याएर सबैलाई चुप लगाउने तयारीमा देखिन्छन्। ओलीको यो याेजनामा माओवादी केन्द्रले पनि भरपुर साथ दिएको छ। प्रधानमन्त्री एमालेले लिएपछि भण्डारी बाहिरिने भएमा, माओवादी केन्द्रले अमिक शेरचनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने मानसिकता बनाएको थियो। यो अवस्थामा राष्ट्रपति माओवादीलाई दिन ओलीलाई नैतिक संकट पर्नेवाला थियो। यी सबै हिसाव किताबको जोड घटाउ गरेपछि ओलीले भण्डारीलाई नै दोहोर्‍याउने निचोड निकालेको एमालेका नेपाल पक्षधर नेताहरुको विश्लेषण छ।

भण्डारीलाई सेनाको समेत समर्थन

राष्ट्रपति भण्डारीको कार्यकाल पूर्व राष्ट्रपति डा रामवरण यादवको बेलाको जस्तो विवादमा परेन। सरकारले प्रधान सेनापतिको नियुक्तिको पत्र दिइसकेका कुलबहादुर खड्कालाई रोकेर रुक्माङ्गद कटवाललाई नै थमौती गरेपछि, पूर्व राष्ट्रपति यादव विवादमा तानिएका थिए। तर वर्तमान राष्ट्रपति भण्डारीसँग कुनै तनावपूर्ण वातावरण बनेन्, सेनाको। र काम गर्न पनि सजिलो भएपछि, सेनाले पनि भण्डारीलाई नै निरन्तरता दिए हुन्थ्यो भन्ने मनसाय देखाएको एमालेभित्रकै नेताहरुले अनौपचारिक भेटघाटमा कुरा गर्ने गरेका छन्।

एकातिर सेनाको समेत चाहना र अर्कोतिर पार्टीभित्र र माओवादी केन्द्रलाई समेत मुखमा बुजो लगाउने रणनीति, ओलीले भण्डारीलाई नै निरन्तरता दिन थालेको प्रष्ट छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ