arrow

फोरम र राजपा दुवैलाई सरकारमा ल्याउन पहल गरिरहेका छौं : अधिकारी

प्रमुख प्रतिपक्षीलाई पनि विश्वासमा लिएर संशोधनको पहल गर्छौ : शर्मा

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
rabindra-adhikari-uml.jpeg

काठमाडौं । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वर्तमान सरकार सम्भव भएसम्म सबैलाई सरकारमा सहभागी गराउने गृहकार्यमा जुटिरहेको बताएका हुन् । उनले भने,‘राजनीतिक संक्रमण पनि सम्पन्न भएको छ, अब मुलुकलाई राजनीतिक स्थायत्वि र समृद्धिको यात्रामा अघि बढाउनको लागि पनि बलियो सरकार बनाउने पक्षमा हामी छौं।’

अधिकारीले भने,‘हामीले राजनीतिक स्थायित्व हाँसिल गर्नकै लागि वाम गठबन्धन बनाएर निर्वाचनमा गएका हौं, यो सँगै एकता प्रक्रिया अघि बढाएका छौं, सरकार बनाएका छौं, बलियो सरकार बनोस् भन्ने हाम्रो चाहना छ, हिमाल, पहाड र तराई सबैलाई मिलाएर अघि बढ्न चाहन्छौं, यसकोलागि राजपा र फोरमलाई सँगै लिएर जान चाहन्छौं, सकारात्मक कुराहरु भैरहेका छन्।’

उनले आफूहरु संविधान संशोधनको लागि कहिल्यैपनि बाधक नभएको जिकिर गरे । यद्धपी उनले सबैलाई जायज लाग्ने विषयमा संविधान हुने स्पष्ट पारे । उनले थपे,‘हामीलाई मात्रै जायज लागेर हुँदैन, फोरमलाई मात्रै लागेर पनि हुँदैन, राजपालाई पनि लागेर हुँदैन, सबैलाई जायज लाग्नुपर्यो, अनि संविधान संशोधन गर्छौं।’ उनले संविधानको धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे ।
नेता अधिकारीले आउने आईतबार वा सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाए । उनले भने,‘क्याविनेट विस्तार हुन्छ, अब आउने सोमबारसम्म भैसक्छ, राजपासँग पनि राम्रो कुराकानी भएको छ, राम्रो मात्रै होईन, धेरै राम्रो कुराकानी भएको छ, कुराकानीले आकार लिएपछि हामी पत्राचार गर्छौं।’

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संघर्षपनि सरकारभित्रै बसेर गर्दा राम्रो हुने भएकोले राजपा र फोरम दुवै सरकारमा सहभागी हुन जरुरी रहेको बताए । उनले भने,‘संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ, तर हामी प्रमुख प्रतिपक्षी दलसँगपनि सहमति कायम गरेर अघि बढ्नुपर्छ।’

नेता शर्माले आफूहरु प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नेबारे पहल गर्न सकारात्मक रहेको सुनाए । उनले भने,‘सबै दल अब एक ठाउँमा बस्नुपर्छ, आरोप–प्रत्योरोप गर्ने छुट छैन।’

शर्माले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल प्रतिपक्षमा बस्नुभन्दा पनि सरकारमा सहभागी भए राम्रो हुने भएकोले आफूहरुले राजपा र फोरम दुवैलाई सहभागी गराउन प्रयत्न गरिरहेको सुनाए ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधनबारे सहमति भए आफूहरु एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताए । उनले भने,‘संविधान संशोधन गर्नेबारे सरकार र हामीबीच सहमति भयो भने अब हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, अहिले सकारात्मक छलफल चलिरहेको छ, फागुपुर्णिमाले गर्दा बार्ता लम्बिएको हो।’

महासचिव यादवले संविधान संशोधनमा लिखित प्रतिबद्धता आए आफूहरु सरकारमा जाने नआए नजाने जिकिर गरे । उनले थपे,‘सरकारको नीति तथा कार्यक्रममा यो कुरा आउनुपर्यो, संशोधनबारे लिखित प्रतिबद्धता आउनुपर्यो, हामी तयार छौं भनेर सरकारले भन्नुपर्यो, त्यसपछि कार्यदल बनाएर संविधानको कुन कुन धारा सशोधन गर्ने भन्ने कुरा टुँगो लाग्छ।’

पहिला संशोधनबारे कुरा टुँगो लागेपछि अनि सरकारमा सहभागी हुनेबारे कुरा आउने उनको तर्क थियो । उनले थपे,‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाम्रो अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ, सकारात्मक छलफल भएको छ।’ यसबारेमा चाँडै टुँगिने सम्भावना रहेको उनले जनाए ।

उनले सिमांकन हेरफेरको लागि अवरोधको रुपमा रहेको संविधानको धारा २७४ लाई संशोधन गर्नुपर्ने पनि बताए । त्यस्तै उनले प्रदेश नम्बर २ को नाम मधेश राखिन सकिने जानकारी दिए ।
राजपा नेपालका नेता मनिष सुमनले केन्द्रिय सरकारमा जाने जनमत आफूहरुसँग नभएकोले अहिले त्यतातिर बल नगरेको स्पष्ट पारेका छन् । उनले भने,‘फोरम र राजपा सँगै मिलेर चुनाव लडेकोले जनताले त्यही अनुसारको म्याण्डेट दिए, हामीलाई मिलेर प्रदेश सरकार चलाउने जनमत दिएका छन्, त्यसैले राजपाले केन्द्रिय राज्यसत्तामा बल गरेको छैन।’

सुमनले आफूहरुसँग अहिले सरकारले आफूहरुसँग गम्भिर वार्ता नगरेको गुनासो पोखे । उनले भने,‘हामीसँग खासै त्यस्तो गम्भिर वार्ता भएको छैन।’ उनले आफूहरुले खोजेको भनेको नै संविधान संशोधन गर्नु भएकोले केन्द्रिय सरकारमा जानेबारे कुनै हतारो नगरेको स्पष्ट पारे । यद्धपी उनले फोरम नेपालले सरकारमा जानको लागि हतारो गरेको आरोप लगाए ।

संविधान नै विभेदपूर्ण रहेकोले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो । उनले भने,‘राजपा र फोरम दुवै मधेशका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि, या यो सरकारको दोस्रो प्रधानमन्त्री बनेपनि र देशको पूरै सुरक्षा फोर्स लिएर गएपनि मधेशमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुन सक्दैन्।’

उनले अहिले मधेशको भू–भागमा प्रधानमन्त्री ओली गए त्यहाँ जनतो दुर्वव्यवहार हुन सक्ने बताए । उपेन्द्र यादवलाई मधेशको विद्धानको संज्ञा दिँदै उनले ठिक ठिक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए । उनले भने,‘संविधानलाई मधेशमैत्री बनाउनुपर्छ, अब ओली सुध्रिएलान भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन्।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ