arrow

आफैंलाई सर्वसम्मत बनाउने देउवाको प्रयास

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
sher-bahadur-deuba.jpeg

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । पार्टी पराजित भएको अवस्थामा दलको नेता नबन्न देउवालाई चौतर्फी दबाब छ । 

ती सबै दबाबलाई बेवास्ता गर्दै देउवाले दलको नेतामा आफै सर्वसम्मत बन्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संवाद थालेका हुन् । 

कांग्रेस संसदीय दलको नेताका लागि सोमबार निर्वाचन हुँदैछ । उम्मेदवारी मनोनयन भने आइतबार साँझ नै छ । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ देउवाको सन्देश लिएर शनिबार साँझ बोहराटारस्थित पौडेल निवास पुगेका थिए । 

त्यस अवसरमा श्रेष्ठले संसदीय दलको नेतामा देउवालाई सहयोग गर्ने गरी उपनेता, दलको प्रमुख सचेतक र उपसचेतकमध्ये एक पद र दलको कार्यसमितिमा समेत भागबन्डा मिलाउने देउवाको प्रस्ताव सुनाएका थिए ।

पौडेलले भने चारपटक प्रधानमन्त्री भइसकेको व्यक्ति फेरि किन संसदीय दलको नेता बन्नुपर्‍यो भन्दै सभापतिले नयाँ ढंगले सोच्नुपर्ने जवाफ दिएका थिए ।

‘उहाँहरू (देउवा पक्षीय नेता) आउनुभएको थियो । मैले सभापतिजीले नयाँ ढंगले सोच्नुपर्छ भनेको छु,’ दुई पक्षीय कुराकानीपछि पौडेलले भने, ‘संवाद हुँदै छ, हेरौं के हुन्छ ।’

देउवानिकट नेता रमेश लेखकले पार्टीभित्र द्वन्द्व बढन नदिनकै लागि सभापति देउवाले सर्वसम्मतको प्रयास थालेको बताए । ‘चुनाव हारेपछि देशभर कार्यकर्ताको मनोबल खस्केको छ, यस्तो बेलामा चुनाव नहोस्, सर्वसम्मतिबाट दलको नेता होस् भन्ने चाहना सभापतिजीको छ,’ लेखकले भने, ‘दलको नेता सभापतिलाई दिएर अन्य पदमा मिलाउन सकिन्छ ।’ 

चुनाव हुने अवस्था भयो भने सभापति नै दलको नेताका लागि प्रतिस्पर्धा गर्नु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लेखकले थपे, ‘सकभर सर्वसम्मत गर्ने हो । भएन भने चुनाव त छँदै छ, प्रतिस्पर्धा गर्नुहुन्छ ।’

दलको नेताका लागि देउवा र वरिष्ठ नेता पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह अघि बढेका छन् । महामन्त्री शशांक कोइराला सभापति देउवाले आफूलाई सहयोग गरेमा सर्वसम्मत हुने भन्दै दलको नेता बन्ने आकांक्षा देखाइरहेका छन् । 

तर, उनले चुनावी प्रतिस्पर्धामा भने नउत्रने बताए । गत बुधबार आफ्नै निवासमा आयोजना गरिएको दिवा भोजमा महामन्त्री कोइरालाले आफूलाई दलको नेताका लागि सर्वसम्मत बनाउन सभापति देउवालाई आग्रह गरेको तर उनले आफैं अघि बढ्ने भन्दै सहयोग मागेपछि प्रतिक्रियाविहीन भएको जानकारी गराएका थिए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ