arrow

गंगामायाको एउटै इच्छा रवि लामिछानेलाई भेट्ने, भनिन्–किन आएनन् होला रवि ?

‘यदि उनी आउन सक्दैनन् भने उनले जहाँ बोलायो त्यही पुग्छु’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन २० आइतबार
gangamaya.png

काठमाडौं । छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा रहेकी गंगामाया अधिकारी अहिले वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविनमा अनशनरत छिन् । अवस्था साह्रै नाजुक भइसकेको छ ।

हत्यारालाई कारबाही हुने आश्वासनमा उनलाई बारम्बार अनसन तोडाइन्छ । तर, उनको सत्याग्रहमा पूर्णविराम लाग्ने गरी कहिल्यै माग पूरा हुँदैन । उनले पछिल्लो पटक गएको माघ १६ गते शहीद दिवसकै दिन आमरण अनशन सुरु गरिन् । उनले त्यसलाई निर्जल अनशन भनेकी छन् ।

आइतबार, उनी चिकित्सकसँग भन्दैथिइन् । म अब औषधि खान्न । चिकित्सक विकास सहनी फकाउँदै थिए, ‘औषधि नखाई तपाई न्यायका लागि कसरी लड्न सक्नु हुन्छ । तपाईलाई झन् गाह्रो हुन्छ ।’

डा. सहनीले त्यही बेला अहिले कस्तो छ त, भनि सोधे ? गंगामायाले आफुलाई निकै अफ्ठ्यारो भएको सुनाईन् । उनले भनिन्,  ‘खुट्टा पोलिरहेको छ । शरीर पूरै दुखिरहेको छ । मलाई अब मर्न दिनुस् । औषधि नदिनुस् ।’ डाक्टरसँगकै सम्वादमा गंगामाया भक्कानिएर रोइन, हामीले प्रश्न सोध्ने आँट गर्न सकेनौँ । उनले आफै बेलिविस्तारमा भनिन् । पूरै समय उनी रोएरै बोलिन् ।

मलाई सजिलै मर्न दिए हुन्थ्यो भनिरहेकी उनले एउटा इच्चा भने व्यक्त गरिन् । उनले भनिन्, ‘सबै मिडियाहरु आए । तर, रवि लामिछाने भन्ने नाम सुनेको छु । म धेरै पटक सम्पर्कमा आउन खोजे । अहिलेसम्म भएन । रवि लामिछानेसँग कुरा गर्ने इच्छा छ । यदि उनी आउन सक्दैनन् भने म उनले जहाँ बोलाउँछन् । त्यहीँ जान्थे ।’ उनले यो पनि भनिन्, ‘डरले नआएका हुन् कि । उनलाई पनि डर होला ।’ गंगामाया उठ्न त सक्दिनन् । तर, रवि लामिछानेले जहाँ बोलायो त्यही पुग्छु, भन्नुले, उनी या सर्वोच्च अदालत भन्दामाथि कुनै न्यायायल भए त्यहाँको ढोका ढक्ढकाउन चाहन्थिन् वा अझै न्याय मूर्तिहरुलाई बिउँझाउने आवाजको खोजिमा छन् भन्ने बुझिन्छ ।

उनको आवाज उहील्यै दविसकेको छ । श्रीमान् नन्दप्रसाद अधिकारीको निधन अघिनै । उनको श्रीमानकै मृत्यु समेत अहिलेसम्म वेवारीसे छ । अस्पतालले मृत्युको घोषणा गरेपनि अन्तिम संस्कार नभएकाले नन्दप्रसादको मृत्यु वेवारीसे छ । गंगामायाको गुनासो नयाँ छैन । यही पूरानै हो । अपराधिलाई खोजेर दिँदापनि दण्ड दिन नसक्ने ? उनले प्रश्न गरिन् । अनि मलाई दुई चम्चा पानी खुवाउने ? मलाई अरुले जस्तै खाना खान मन लाग्छ, उनले अगाडि भनिन्, ‘तर, न्याय नपाएसम्म म कसरी साधारण जीवनमा फर्किऔँ । कि त न्याय मर्‍यो नै भनिदिनु पर्‍यो । कि मलाई सजिलै मर्न दिनु पर्‍यो । मलाई यसरी थुनेर राखिएको छ । ता कि म उल्टै कैद सजाय भोगिरहेको छुँ ।’

केले बचाइरहेको उनलाई ?
डा. विकास सहनी भन्छन्, ‘औषधिको नाम हैन लिष्ट दिन सक्छु ।’ औषधि कसले दिइरहेको छ ? ‘अस्पताल बाहिरको फार्मेसीबाट आउँछ । फार्मेसीको नाम चैँ थाहा छैन । खर्च सरकारले नै दिन्छ ।’ पहिले गंगामायालाई दिइने ‘टिपिएन’ को थैली ‘हनुमान फर्मा’ले उपलब्धि गराउँथ्यो ।

कस्तो छ अवस्था ?
उनलाई रगत सम्बन्धी रोग छ । नियमित औषधि भएन भने फोक्सोलाई असर गर्छ, डा. सहनीले भने, ‘उहाँ औषधि खान मान्नु हुन्न । तर, हामीले फाएर औषधि नियमित गराएका छौँ । औषधिनै लिनु भएन भने आइसीयुमा भर्ना गर्नु पर्छ ।’ औषधि लिनु भएन भने के गर्नु हुन्छ ? जवाफमा डा. सहनी भन्छन्, ‘उहाँलाई फकाउनु पर्छ । तपाई हामी सबैले भन्यौ भने मान्नु हुन्छ । छोड्न मिल्दैन ।’

अन्नपानी छुटेको धेरै भो
सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी गंगामायाले अन्नपानी छोडेको लामो समय भइसक्यो । उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् । मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भयो । त्यस बेला गंगामायाको अवस्था पनि निकै नाजुक थियो । बोल्न नसक्ने उनलाई मानव अधिकारकर्मी र चिकित्सकहरुले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झण्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर अनसन तोडाएका थिए ।

एक्लै न्यायको लडाई
तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् ।

आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि सम्पर्कविहिन छन् । अहिले गंगामाया एक्लै न्यायको लडाई लडिरहेकी छन् ।

कथा धेरै लामो छ । किटानी जाहेरी दिएको लामो संघर्षपछि समातिएका अभियुक्तलाई चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यो आदेश विरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सरिरहने अदालती प्रक्रियाबाट थप अशान्त छिन् ।

फागुन १३ को आदेश
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरी दिने अर्थात् कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ । म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने उनले बताए । यसअघि पनि पटक–पटक सर्दै आएको पेशी फागुन १३ गतेका लागि सरेको थियो ।

२०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । अदालतले झिकाउने भनेका नुरप्रसादले बुबा नन्दप्रसादको शव नबुझ्ने भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ