arrow

प्रदेश ५ मा राजधानी सार्न चलखेल, समस्या र असुबिधा देखाउँदै मुख्यमन्त्री पोखरेल

गर्मी र लामखुट्टेले हैरान पारेको बहाना

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २० आइतबार
shankar-pokhrel.jpg

बुटवल । प्रदेश ५ को राजधानी सार्न चलखेल शुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बुटवलबाट अन्यत्र राजधानी सार्न असुविधा र भौतिक पूर्वाधारको अभाव देखाउन थालिएको छ ।

२ तिहाई नपुग्ने भएपनि असुविधा र भौतिक पूर्वाधार अभावको कारण देखाएर सांसद्हरुलाई सहमत गराउने प्रयास थालिएको कांग्रेसका एक सांसद्ले बताए । ‘हामीहरुलाई अनौपचारिक रुपमा राजधानी दाङ सार्नुपर्छ भन्ने खालको कुरा आउन थालेको छ ।'  उनले भने–'बुटवल उद्योग वाणिज्य संघले असहयोग गर्‍यो, यहाँका संघसंस्थाले असहयोग गरे, पूर्वाधार अभाव भयो भन्ने बहाना देखाएर दाङ सार्न लविङ हुन थालेको हो ।’

यो लविङका नेतृत्वकर्ता हुन्, मुख्यमन्त्री शंकर पोखरेल । उनलाई साथ दिइरहेका छन्, सभामुख पूर्ण बहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ।  मुख्यमन्त्री पोखरेलले भेटघाटका लागि जाने अतिथिहरुसँग अभाव र समस्या देखाउने गरेका छन् । उनले बुटवलको गर्मी र लामखुट्टेले हैरान पारेको बताउँदै ‘बुटवल ठीक छैन’ भन्न थालेका छन् । सभामुख घर्तीले त औपचारिक कार्यक्रममै बुटवल उद्योग वाणिज्य संघले असहयोग गरेको भन्दै बुटवलबासीको आलोचना नै गरे ।

पूर्वाधार अभावको बहाना बनाएर अहिलेसम्म सरकारले मन्त्रिमण्डल विस्तार गरेको छैन । जबकी मन्त्रालयका लागि कुनै पनि समस्या नहुने प्रतिवेदन र त्यसका सबै खाकाहरु देउवा सरकारकै पालामा बनेको अध्ययन समितिले बुझाएको थियो ।

सरकारले आन्तरिक राजस्व कार्यालय, इलाका वन कार्यालय, सडक डिभिजन कार्यालयको कम्पाउन्डभित्र रहेका इलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतका कार्यालयहरु प्रयोग गर्न सकिने अवस्था छ । यस्तै निर्माणाधीन सरकारी वकिलको कार्यालय पनि मन्त्रालय र अरु कार्यालयहरु राख्नका लागि उपयुक्त छ । यस्तै हाटबजारलाईनको बाल विद्या मन्दिर पनि प्रयोगविहीन छ । यसमा पनि मन्त्रालय वा विभागहरु राख्न सकिन्छ ।

मणिग्राममा रहेको राममणि क्याम्पसले ४ वटा मन्त्रालयका लागि पर्याप्त हुने २ वटा भवनहरु ५ वर्षका लागि निशुल्क दिने बताइसकेको छ । त्यसबारे सरकारले छलफल नै गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ