arrow

पाकिस्तानी प्रधानमन्त्रीलाई लिन ओली विमानस्थल नजाने, टुँडिखेलमा ‘गार्ड अफ अनर’

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
oli-abbasi.png

काठमाडौं । पाकिस्तानी प्रधान मन्त्री शाहिद खाकन अब्बासी सोमबार दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार अब्बासी दिउँसो २ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल ओर्लिँने छन् ।

उनको भ्रमणको खास कुनै कारण बताइएको छैन । नेपाल सार्क राष्ट्रको अध्यक्ष भएको नाताले सार्क अध्यक्ष राष्ट्रको नयाँ प्रधानमन्त्रीलाई बधाई दिन आउन लागेको भनिएको छ । परराष्ट्रमन्त्रालयले जारी गरेको वक्तव्यमा समय उल्लेख छैन तर, औपचारिक (अफिसियल) दुई दिने भ्रमण भनिएको छ । परराष्ट्रको वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको पनि उल्लेख छ । 

प्रोटोकल फेरियो
नयाँ सरकारले पहिले अन्तर्राष्ट्रिय विमानस्थलमै सम्मान दिने गरिएकोमा यो पल्ट विमानस्थलबाट भित्र्याइसकेर ‘गार्ड अफ अनर’ दिने भएको छ । नयाँ संविधान अनुरुष गठिन नयाँ सरकारले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबाटै आफ्नो प्रोटोकल फेर्न लागेको हो ।   

परराष्ट्रमन्त्रालयले पाकिस्तानी दूतावासलाई उपलब्ध गराएको भ्रमण तालिकामा उल्लेख भए अनुसार दिउँसो २ बजे नेपाल ओर्लिने प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा अपराह्न ५ बजे ‘गार्ड अफ अनर’ दिइने छ । नेपाली सेनाको टुकडीले उनलाई सैनिकमञ्चमा सलामी अर्पण गर्ने छ ।

यसअघि नेपाल आउने विदेशी अतिविशिष्ठ पाहुनाका सम्मानमा त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्ष बाहिर ‘गार्ड अफ अनर’ स्वरुप सलामी अर्पण गरिँदै आएको थियो । नेपाल आउने पाहुनाको स्वागतमा यसअघि समान हैसियत भएका उच्च नेतृत्व नै विमानस्थल पुग्नु पर्ने र त्यही समयमा विमानस्थलमै गार्ड अफ अनर प्रदान गरिँदै आएको थियो । यसपटक त्यो परम्परा तोडिएको छ । पूरानै परम्परा रहेको भए प्रधानमन्त्री केपी ओली नै विमानस्थल जानु पर्दथ्यो । अब स्वागत गर्न सरकारले पठाउने कुनै एक जना मन्त्री गए पुग्छ ।

सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएपछि अब्बासी सोझै बालुवाटार पुग्ने छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रीभोज आयोजना गर्दै छन् । पाकिस्तान फर्किने दिन बिहान ९ बजे अब्बासीले शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । अब्बासी मंगलबार मध्यान्ह स्वदेश फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ