arrow

'सेलिब्रेटी' सिलवाल

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
nabaraj-silwal-selfie.jpg

काठमाडौं। संघीय संसदमा सांसदहरुले सपथ लिने पहिलो दिन आज संसदमा रौनक थियो। सानो नेपालको झल्को त्यहाँ देखिन्थ्यो। सांसदका रुपमा पहिलो पटक संसद पुगेकाहरु पनि एक अर्कामा खुसी साट्न व्यस्त देखिन्थे। संसदका चर्चित र लोकप्रिय नेताहरुसँग तस्विर खिच्नेहरुको भीड थियो। यहि भिडमा थिए एमाले सांसद नवराज सिलवाल।

प्रहरीको खोजी सूचीमा रहेका भनिएका एमाले सांसद नवराज सिलवाल बानेश्वरस्थित संघीय संसद भवन पुगेर सपथ लिएपछि उनी मिडियाकर्मीको घेरामा परे। उनले मिडियाकर्मीहरुलाई अन्तर्वार्ता दिए। मिडियाकर्मीले पनि उनीसँग तस्विर खिचे, सेल्फी लिए। उनी ' सेलिब्रेटी ' सांसदका रुपमा संसद परिसरमा सबैको ध्यान खिचिरहेका थिए। लामो समयदेखिको विवादका बीचमा उनलाई नचिन्ने अब नेपालमा कमै होलान। प्रहरी सेवाबाट अवकाश लिने बेलामा शुरु भएको उनको विवाद सांसद भएर संसद भवनमा सपथ लिने बेलासम्म जारी छ। 

संसद भवनमा दोस्रो पटक सपथ लिन प्रवेश गरेका सिलवालसँग सञ्चारकर्मीहरुको पनि निकै जिज्ञासा थियो। तर आइतवार उनले संक्षिप्त कुरा गरे। संसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षणमा सहभागी जनाउन उनी शनिवार नै संसद भवन पुगेका थिए। शनिवार उनी संसद भवनमा पुग्दा उनलाई सञ्चारकर्मीहरुले आइतवार जस्तै गरि खोजेका थिए। आइतवार भने सिलवाल मिडियाकर्मीहरुसँग संसदमा आफ्नो पहिलो अनुभव साटिरहेका थिए। 

प्रहरीको खोजी सूचीमा रहेका भनिएका उनी संसद भवनभित्र छिरेपछि सबैको नजर उनि माथि परेको थियो। आइजिपी बढुवा सम्बन्धी मुद्दामा कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी फरार रहेको बताइए पनि सिलवालले भने आफू विरुद्ध कुनै पनि अदालतमा मुद्धा दायर नभएको भन्दै आफू फरार नभएको टिप्पणी गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर वालुवाटार प्रवेश गरे लगत्तै फरार भनिएका उनले वालुवाटार प्रवेश पाएका थिए। नेपाल प्रहरीले यसअघी देशभर जहाँ भेटेपनि पक्राउ गर्न आदेश दिएका सिलवाल नयाँ सरकार बनेसँगै निष्फिक्री भएका छन्।

काँग्रेस नेता विमलेन्द्र निधीले राजपा सांसद रेशम चौधरी सहित सिलवालको मुद्धा सरकारले फिर्ता लिनुपर्ने बताएका बेला सिलवाल फरार व्यक्तिबाट सेलिब्रेटी नेता बन्ने पक्का भएको छ। यसैबीच सिलवाल प्रकरण लम्ब्याउन नदिन सरकारले उनको मुद्धा अदालत नपुर्‍याई टुङग्याउन तयारी गरेको बताइन्छ। 

सांसदको सपथ समेत लिइसकेपछि सिलवालले संवाददाताहरुसँग अब एक जनप्रतिनिधीको हैसियतमा काम शुरु गर्ने बताए। सिलवालले आफुमाथी कुनै औपचारिक अभियोग दर्ता नभएको र आफु फरार ब्यक्ति पनि नभएको जनाउँदै अब पूर्ण रुपमा जनताको सेवामा लाग्ने बताए। विवादका बीचमा सेलिब्रेटी सांसदको संसद यात्रा भने प्रतिक्षाकै बिषय भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ