arrow

सुन तस्करीः सहकर्मी भरियाबाटै शाक्यको हत्या

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
gold-pure.jpeg.jpeg

विराटनगर । महिनादिनअघि केरुङ नाकाबाट भित्रिएको ३३ किलो सुन तस्करीमा संलग्न सनम शाक्यको उनकै सहकर्मीले हत्या गरेको खुलेको छ । तीन भरियाले उनलाई चार दिनसम्म ठाउँ सार्दै करेन्ट लगाएर यातना दिएको प्रहरीले जनाएको छ । 

सुन भारत पुर्‍याउने जिम्मेवारी लिएका शाक्य भद्रपुर पुगेर सम्पर्कविहीन भएपछि बाँकी भरियाले उनको खोजी सुरु गरेका थिए । सुन गायब पारेको आशंकामा उनीहरूले चार दिनअघि उर्लाबारीका ३३ वर्षीय शाक्यलाई घरबाटै नियन्त्रणमा लिएका थिए ।

भरिया समूहले शाक्यलाई सुन देखाइदिन भन्दै चारकोसे जंगलको पथरी, धरान र सिरहाका विभिन्न स्थान डुलाउँदै यातना दिएको थियो । त्यस क्रममा पथरीको जंगलमा शाक्यको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । ‘घटनास्थल हेर्दा अरूको पनि संलग्नता देखिन्छ,’ उनले भने, ‘घटनास्थलमा निकै जना बसेर खाना खाएजस्तो देखिन्छ ।’

गायब पारिएको सुन लेनदेनमा हिसाबकिताब नमिलेपछि भरिया समूहले शाक्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ‘तर, उनीहरू कसैले सुनका मालिकको नाम बताएका छैनन्,’ एसपी बीसीले भने ।

प्रहरीको केन्द्रीय अपराध अनुसन्धान महाशाखाको टोलीले तीनै जनालाई विराटनगर महानगरपालिका–३ को कन्यामार्गबाट नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो । 

टोलीले बा१२च ५९६३ नम्बर स्कारपियो गाडीको सिटमुनि शाक्यको शवसमेत बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्ले छन् । प्रहरीका अनुसार उनीहरू पनि सुन बोक्ने भरिया भएको पुष्टि भएको छ ।

टोलीले भरियाहरू सवार स्कारपियो लहानदेखि पिछा गर्दै विराटनगर पुगेर नियन्त्रणमा लिएको थियो । गाडीबाट इन्भर्टरका दुईवटा ब्याट्री र करेन्ट लगाउन प्रयोग गरिने उपकरणसमेत बरामद भएको थियो । 

भरियाहरू शव जंगलमा गाड्ने नियतले गाडीमा राखेर चारैतिर भौंतारिएको हुन सक्ने प्रहरी बुझाइ छ । स्रोतका अनुसार सुनसहित शाक्य बेपत्ता भएपछि मालिकले उनलाई पटकपटक सम्पर्क प्रयास गरे । 

तर, फेला नपरेपछि बाँकी भरियालाई उनको खोजीमा खटाए । उनीहरूले पनि निकै दिन प्रयास गरेपछि शाक्य उर्लाबारीमै रहेको पत्तो पाए । त्यसपछि शाक्यलाई फोन गरेर १५ फागुनमा आफूहरू भएको स्थानमा बोलाए । 

शाक्य पुग्नासाथ उनीहरूले स्कारपियोमा राखेर बेपत्ता बनाए । शाक्य फागुन १५ गते सम्पर्कविहीन भएको मोरङ प्रहरीलाई जानकारी थिएन । तर, तस्करी घटनालाई नजिकबाट नियालिरहेको अपराध अनुसन्धान महाशाखाले गिरोहलाई पछ्याइरहेकै थियो । 

महाशाखाले डीएसपी प्रजित केसीको नेतृत्वमा टोली खटाएको थियो । टोलीले उक्त स्करपियोलाई शनिबार बिहान ३ बजे लहानबाट पछ्याउँदै नियन्त्रणमा लिएको हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ