arrow

कांग्रेसको मतदान तीव्र, ५० मिनेटमा ६३ मध्ये ३३ भोट खस्यो, सत्प्रतिशत पहिल्यै भए छिट्टै नतिजा

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
deuba-singh-laugh.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहेको छ । 

मतदान तीव्रगतिमा भइरहेको हो । सोमबारै संघीय संसदको बैठक बस्ने भएकाले पनि नेताहरु छिटोछिटो आफ्नो संसदीय दलको नेता छान्न उत्साही देखिएका छन् । 

निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु भएको जनाएको छ । 

५० मिनेटको अवधिमै ३३ मत खसिसकेको छ । 

मतदानको समय दिउँसो १ बजेसम्मलाई रहे पनि छिट्टै सतप्रतिशत मतदान भए तत्कालै गणना गरिने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलिरहेको छ । 

संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।

पहिलो मतदान भने सिंहले गरेका छन् । 


सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भइरहेको हो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ । 

सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ । 

यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ । 

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन् । उनी बहुमतप्राप्त छन् । 

देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ । 

देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन । 

काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो । 

त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो । 

देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने रु भन्दै आएको छ । 

दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ