arrow

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
pakistan-pm.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासी काठमाडौं ओर्लिएका छन् । अपरान्ह ४ बजेतिर उनी त्रिभुवन अन्तर्रााष्ट्रिय विमान स्थल ओर्लिएका हुन् । विमानस्थलमा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरे ।

पाकिस्तानी सेनाको विशेष विमानबाट काठमाडाैँ अाेर्लिएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका हुन् । विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी गएका छन् ।

अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आएका हुन् । उनको  भ्रमणलाई राजकीय भ्रमण भनिएको छ । पहिले अन्तर्राष्ट्रिय विमानस्थलमै सम्मान दिने गरिएकोमा यो पल्ट पाहुनालाई विमानस्थलबाट भित्र्याइसकेर ‘गार्ड अफ अनर’ दिइने भएको छ । नयाँ संविधान अनुरुप गठित नयाँ सरकारले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबाटै सम्मानको परम्परा फेर्न लागेको हो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिइने छ । नेपाली सेनाको टुकडीले उहाँलाई सैनिकमञ्चमा सलामी अर्पण गर्ने छ ।

सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएपछि अब्बासी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेट हुनेछ । भेटमा दुई देशको सम्बन्ध, सार्कको स्थगित सम्मेलन र विकासका क्षेत्रमा हुनसक्ने साझेदारीबारे छलफल हुने बताइएको छ ।

साँझ प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रीभोज आयोजना गर्ने छन्  । पाकिस्तान फर्किने दिन मंगलबार बिहान ९ बजे अब्बासीले शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । अब्बासी मंगलबार मध्यान्ह स्वदेश फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ