arrow

ओली सरकारमा पहिलो इन्ट्री मार्ने लालबाबु अलपत्र, 'मन्त्रालय नअाएकाे धेरै दिन भाे'

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
lalbabu.jpg

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने कसरतले वाम गठबन्धनको मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिईसक्नुपर्ने मिति नजिकै आइसक्दा मन्त्रिपरिषद् भने दोस्रो पटकपछि विस्तार गर्न सकेका छैनन् ।

अहिले उनको मन्त्रिपरिषद् ७ सदस्यीय मात्रै छ । मन्त्रालयको संख्या घटेपछि त्यही मध्यका केही मन्त्री अलपत्र परेका छन् । प्रधानमन्त्री केपी ओलीसँग फागुन ३ गते जनसंख्या तथा वातावरण मन्त्रीको सपथ खाएका लालबाबु पण्डित नै अलपत्र परेका हुन् । उनीसँगै सपथ लिएकी थममाया थापाको पनि हालत उही हो ।

लालबाबुको सपथ रोचक थियो । पाँच मिनेटमा सपथ खान शीतलनिवास आउन भन्दा उनले दुई मिनेटमा दौरा सुरुवाल लगाएका थिए । तर अहिले उनी अलपत्र छन् ।

सोमबार उनको मन्त्रालय पुग्दा कर्मचारी थिए । उनी भेटिएनन् । उनको ढोकामा झुण्ड्याइएको ‘नेम प्लेट’मा बाहिर लेखिएको थियो । त्यही काम गर्ने एक जना कर्मचारीले सोधिहाले कसलाई खोज्नु भा ? मन्त्रीज्यूलाई । उनले भने, ‘उहाँ नआउनु भएको त कति भइसक्यो ।’ कारण केही होइन । उनको मन्त्रालय अब उनीसँग रहेन ।

उनी रहेको मन्त्रालयको जनसंख्या स्वास्थ्यमा र वातावरण वनमा गाभिएको छ । तर, नेम प्लेटमा उनकै नाम छ  । जनसंख्या तथा वातावरणमन्त्री ।

अहिले बनेको वन तथा वातावरण मन्त्रालयको बाहिर मात्रै वन तथा वातावरण मन्त्रालय लेखिएको छ । भित्र सांगठनिक संरचना र मन्त्री बस्ने ठाउँ व्यवस्थापन भइसकेको छैन । मात्र नामाकरण भएको छ । मन्त्रालयका एक कर्मचारीले भने, ‘वातावरण मन्त्रालय त यही हो । मन्त्री उतै हुनुहुन्छ । पुरानैमा ।’

वातावरण मन्त्रालयकी प्रवक्ता लक्ष्मी कुमारी बस्नेतले मन्त्रालयको कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशन भएको तर, आधिकारिक पत्र आइनसकेको सुनाइन् । उनले भनिन्, ‘अहिले सांगठनिक संरचना बनाउने काम भइरहेको छ । सचिवज्यूहरु सबै व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री कार्यालयले खाका बनाउन दिएको समय सकिँदैछ । सबैजना व्यस्त हुनुहुन्छ ।’

प्रधानमन्त्री कार्यालयमा पनि अहिले भ्याइ नभ्याई छ । सबै छलफलमै छन् । ओलीको पहिलो रोजाईमा परेका मन्त्री पण्डित भने अलमलमा छन् । उनले अहिले आफ्नो कुन मन्त्रालय हो भन्ने नै थाहा नभएको बताए । वन तथा वातावरण माओवादी केन्द्रको भागमा परेपछि उनलाई अफ्ठेरो परेको हो । केही दिन अघिसम्म त मन्त्री पण्डित एक वर्षभित्र काठमाडौंलाई मास्क मुक्त बनाउँछु भन्ने अभिव्यक्ति दिँदै थिए । अहिले उनी आफै अलपत्र छन् । काठमाडौंको धूलो कसरी कम हुन्थ्यो र ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ