arrow

के हुँदैछ संसदमा मंगलबार ? यस्तो छ कार्यसूची

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद्को पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेपछि दोस्रो बैठक मंगलबारका लागि बोलाइएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे एकैसाथ सञ्चालन हुने भएको छ ।

बैठकले प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको संसद् सचिवालयका सह–प्रवक्ता केशवराज अर्यालले जानकारी दिए । 

उनका अनुसार मंगलबारको कार्यसूचीमा दुवै सदनले बैठकको अध्यक्षता गर्ने र सञ्चालन गर्ने मुख्य व्यक्तिको निर्वाचनको मिति तय गर्नेछ । 

सभामुखको निर्वाचनका लागि २६ फागुनको मिति तय गर्ने विषयमा राजनीतिक सहमति जुटिसकेको छ भने राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनका लागि ३० फागुनको मिति तोक्ने विषयमा सहमति जुटेको छ ।

मंगलबार हुने बैठकको पहिलो कार्यसूचीमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको सभामुख निर्वाचनको मिति तय हुनेछ । 

एमाले र माओवादी केन्द्रको गठबन्धनले पद भागबन्डा गर्दा सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ । दुवै दलले आफ्ना तर्फबाट उम्मेदवारको छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन् ।

दुवै सदनको दोस्रो कार्यसूचीमा सदनमा मान्यताप्राप्त दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय दलको मान्यताप्राप्त एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताले सदनलाई सम्बोधन गर्नेछन् । 

आफूहरूले राष्ट्रिय दलको मान्यता नपाए पनि सदनमा बोल्न पाउनुपर्ने भन्दै स्वतन्त्र सांसदका हैसियतमा रहेका नयाँ शक्ति नेपालका डा बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले माग गरेका छन् । 

उनीहरूले सदनमा बोल्नका लागि समय माग गरेपछि बोल्न दिने परम्परा भएकाले उनीहरूले समेत बोल्ने कार्यसूची बन्न सक्ने संसद् सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ