arrow

पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : प्रचण्ड

'हामी भारतपरस्त पनि होइनौँ, चीनपरस्त पनि होइनौँ'

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
prachandas.JPG

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताएका छन् ।  

प्रतिनिधिसभाको मंगलवारको बैठकलाई सम्बोधन गर्नक्रममा उनले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गरे।

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको स्मरण गर्दै उनले राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोग जरुरी रहेको बताए ।

संविधान कार्यान्वयनमा सबै पक्षको सहयोग भएकै कारण तीन वटै तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकले भोग्न लागेको आर्थिक संकटको समस्या समाधान गर्न पनि सबैको सहयोग जरुरी रहेको औँल्याए  ।

विगतमा पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्र निर्माणको महाभियानमा एक भएर जानुपर्ने र नयाँ परिस्थितिमा कार्यशैली पनि नयाँ हुनुपर्ने स्पष्ट पारे।

पूर्वाधार, पर्यटन, जलस्रोत र कृषिजन्य उद्योगको विकास गुणात्मक रुपमा लैजानुपर्नेमा उनले जोड दिए । उनले सुशासन, समृद्धि र स्थायित्व प्रदान गरेर रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउने सकिन्छ भने।


कुशासन, भ्रष्टाचार, अराजकता र अनियमितता अन्त्य गर्न वर्तमान सरकार दृढताका साथ लाग्ने अध्यक्ष दाहालको विश्वास थियो । उनले भन्नुभयो, “राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई विनाभेदभाव दण्ड दिने संस्कारको विकास गर्नु जरुरी छ ।”

हामीलाई जनताले सुशासन, स्थायित्व र विकासका लागि मत दिएको स्मरण गर्दै उनले त्यसप्रति सबै इमान्दार हुन जरुरी रहेको धारणा राखे।

चीन र भारतले गरेको आर्थिक समृद्धिबाट फाइदा लिएर नेपालको विकासको ढोका खोल्न सकिने स्पष्ट पार्दै उनले भने, “हामी भारतपरस्त पनि होइनौँ, चीनपरस्त पनि होइनौँ । हामी नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छ ।”

प्रतिपक्षसँग मिलेर वाम गठबन्धनको सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले राष्ट्रिय कार्यसूचीमा सरकार र प्रतिपक्ष नहुने र सबै मिलेर जानुपर्ने उल्लेख गरे । उनले नेपालको राजनीतिक परिवर्तनमा योगदान गर्ने सबै शहीदप्रति सम्मान पनि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ