arrow

फागुन २७ मा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

विश्वासको मत लिएपछि राजधानी र प्रदेशको नाम

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २२ मंगलबार
shankar-pokh.jpg

बुटवल ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फागुन २७ गते विश्वासको मत लिनेभएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार फागुन २७ गते दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् ।
 
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ । मुख्यमन्त्रीले संसदमा मतका लागि प्रस्ताव गरेपछि अन्य सांसद्हरूले धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिनेछन् । जवाफपछि सभामुखले मतदानका लागि आह्वान गर्नेछन् । मतदानमा आफ्नो पक्षमा ४४ मत वा बढी आएमा शंकर पोखरेल मुख्यमन्त्री कायम रहनेछन् ।

एमाले संसदीय दलका नेता पोखरेल माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।  प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद् छन् । जसमा मुख्यमन्त्री रहेको दल एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद् छन् । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ४४ मत यी दुई दलसँग छ । त्यस्तै कांग्रेसको १९, संघीय समाजवादी फोरमको ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद् छन् । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन पेश नगरे पनि संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चा सरकारलाई समर्थन गर्ने पक्षमा छन् ।

मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिएपछि केही दिनका लागि संसद् स्थगित हुनेछ । राष्ट्रपतिको निर्वाचनमा प्रदेश सभा सदस्यहरूसमेत मतदाता रहने भएकाले संसद् बैठक स्थगित गरेर सांसद्हरू काठमाडौं जानेछन् । काठमाडौंबाट फर्किएपछि प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी छ । प्रदेश सभामा दुईतिहाई संख्याले प्रदेशको नाम र राजधानीको टुंगो लगाउनेछ । ‘हामी सहमति जुटाएर उपयुक्त समयमा प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउँछौं, सरकारका प्रवक्ता वैजनाथ चौधरीले भने ।

प्रदेशको नाम लुम्बिनी र राजधानी बुटवल हुने संभावना बलियो छ । तर विभिन्न समस्याहरू देखाएर बुटवलबाट प्रदेशको राजधानी सार्नका लागि प्रयत्न भएको चर्चा चल्न थालेका छन् । सांसद्हरूलाई नै बुटवलमा भौतिक पूर्वाधारको अभाव भएको र स्थानीयले असहयोग गरेको भन्दै राजधानी सार्नका लागि चलखेल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ