arrow

''क्याप्चर मिसन'' सफल भएसँगै ओली झनै शक्तिशाली, खनाल मच्चिए मच्चिए थच्चिए  

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
kp-sharma-oli.jpg

काठमाडौं । अन्ततः विद्यादेवी भण्डारी नै फेरी राष्ट्रपति बन्ने भइन्, जो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चाहन्थे। एकपछि अर्को मिसनमा सफल बन्दै आएका ओली पछिल्लो समय पार्टीभित्र चुनौतीविहिन बनेका छन् । एक हिसावले उनको पार्टी र सरकारमा शुरू भएको मिसन क्याप्चर पूरा हुँदै गएको छ। विद्यालाई राष्ट्रपतिमा दोहोऱयाउने योजना अध्यक्ष ओलीले चुनावको परिणाम सार्वजनिक हुँदादेखि नै बनाएका हुन् । त्यसो त जारी कार्यकालका लागि पनि विद्यालाई राष्ट्रपति बनाउन ओलीकै योगदान छ। तर यसपाली परिस्थिति अलिक भिन्न थियो । 

पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपति बन्नका लागि मुख मिठ्याएर बसेका थिए । आन्तरिक लबिङ पनि नगरेका होइनन् । पार्टी स्थायी कमिटिमा खनाल—नेपाल पक्ष र ओली पक्षका लगभग बराबरी मान्छे थिए। तर पछिल्लो समय नेता माधव नेपाल ओलीसँग लहसिन थालेपछि, खनाल छट्पटिमा थिए। राष्ट्रपति बनुँला भन्ने ध्याउन्नमा लाग्दा खनाल आफैं पार्टीभित्र पनि कमजोर परिस्थितिमा पुुगेका थिए। नेता नेपालको पहिलो रोजाइ खनाल भन्दा पनि पूर्वसभामुख सुवास नेम्बाङप्रति थियो, त्यसपछि मात्रै खनाल थिए। परिस्थितिको आँकलन गर्दै आएका नेता नेपालले अब ओलीसँग सिंगौरी खेल्नुभनेको पहरामा कुहिनो ठोक्नु सहर हुने अड्कल काट्दै बरु, उनैलाई फकाएमा फलिफाप हुने मानसिकता देखाए । 

नेपाल पक्षले ओलीसँग जोरी खोज्दा मुख्य मन्त्री चुनावमा प्रदेश एकमा नेता भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यले हार व्यहोरे । आफैं पनि महाधिवेशनमा ओलीसँग हारिसकेका नेता नेपालले यसपाली सकेसम्म आफ्ना मान्छे ९नेम्बाङ र त्यसपछि खनाल० लाई अघि सार्ने र उपस्थिति मात्रै देखाउने योजना बनाए । एकपछि अर्को रणनीति सफल पार्दै आएका ओली विद्यादेवी भण्डारी बाहेक राष्ट्रपतिमा अरुलाई मनै नपराउने अबस्थामा देखिएपछि, नेता नेपाल लगभग तटस्थको भूमिकामा रहे । नेता नेपालले पाए तातो पानीले नुहाउने नपाए चिसैले भए पनि काम चलाउने मनस्थिति देखाएपछि, खनाल पनि किंकर्तव्यविमूढ बने। मुख्य मन्त्रीमा हार व्यहोरेपछि फन्किएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य राष्ट्रपति उम्मेदवारको आकांक्षी थिइन् । शाक्यले समेत खनाललाई नै पाखा लगाउने स्थिति समेत देखियो । 

उम्मेदवारीका लागि जोड गर्न थाले आफैं पाखा लाग्ने संभावना देखिएपछि नेता खनाल बिच्किए। नेम्बाङले त यसअघि नै हार खाइसकेका थिए। हिजोको ६ घण्टे बालुवाटार बैठकमा उनलाई उम्मेदवार बनाउनेबारे खासै छलफल समेत नभएको, एक नेताले बताए । राष्ट्रपति उम्मेदवारका सबै आकांक्षीको नाडी छामिसकेपछि अध्यक्ष ओलीलाई राष्ट्रपतिमा भण्डारीलाई नै रिन्यू गर्ने उपयुक्त मौका मिल्यो । त्यसमाथि भण्डारीलाई दोहोऱयाउँदा नेपाली सेना पनि खुशी हुनेभएपछि, स्थायी कमिटि बैठकमा मोटामोटी सहमति बन्यो । बैठकपछि खनालले लाज जोगाउन भने “सक्रिय राजनीतिमै लाग्छु, “मैले छोड्दिएँ, अझै सक्रिय राजनीतिमै लाग्छु ।“ नेता प्रदीप ज्ञवालीले भने कुनै विवाद बिना भण्डारीलाई राष्ट्रपतिमा दोहोऱयाउने निर्णय भएको जिकिर गरे । विवादै थिएन भने मध्यरातसम्म के खेलेर बसियो कमरेड ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ