arrow

प्रधानमन्त्री ओलीको मनमा संघीयताको बारेमा अझै शंका छ : गगन थापा

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
gagan-thapa-mp-congress.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक‘सवल’को आज बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। उनले भने,‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होईन, त्यस्तै मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस्।’

यद्धपी उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे। उनले भने,‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन्।’ 

कालिकोट स्थायी घर भएका लेखक बमको उक्त पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता थापाले पुस्तक लेख्नको लागि आँट चाहिने बताए। उनले भने,‘पुस्तक लेख्न आँट चाहिन्छ, म पनि अलि–अलि लेखपढ गर्छु, तर मैले आँट गर्न सकेको छैन्, नरेशजीले यूवा उमेरमै पुस्तक लेख्नुभयो, उहाँ जनप्रतिनिध पनि हुनुहुन्छ, यूवाहरुले राजनीतिक सँगसँगै परोपकारी कार्यहरु जारी राख्नुपर्छ, त्यसो गर्दा  राजनीतिक यात्रा अर्थपूर्ण बन्छ।’

अधिकाशं समय लेखक बमको लागि खर्चेका नेता थापाले पुस्तकमा भएका गल्तिहरुलाई सच्याउँदै आगामी दिनमा सशक्त लेखनमा उत्रिन आग्रह गरे। उनले भने,‘कालिकोटजस्तो दुर्गम जिल्लामा जन्मेर त्यहाँका व्यक्तिहरुले प्रगति गर्नुभएको छ, अब परिचय बदुल्नुपर्छ, संयोगबस आज मेरो जीवनसाथी पनि कालिकोट पुग्नु भएको छ।’

नेता थापाले अघि थपे,‘म कालिकोटकै बारेमा यहाँ बोल्दैछु, उहाँले फोन गरेर भन्नु भएको छ, कालिकोट फरक छ, हो कालिकोट राजधानी भन्दा धेरै पछाडि छ, हिजोका दिनमा राजतन्त्रलाई गालि गरेर बस्यौं, विकास गर्न सकेनौं, पछिल्लो समय अस्थिर सरकार विकासको बाधक मान्यौं, अब त साच्चै पाँच वर्षको लागि स्थिर सरकार आएको छ, विकास नगरीकन अब सुखै छैन्।’

उनले भने,‘हिजोका दिनमा अरुलाई दोष दिने ठाउँ थियो अब त्यो ठाउँ छैन्, कर्णाली प्रदेशको मुख्यमन्त्री पनि कालिकोटकै व्यक्ति हुनुहुन्छ, विकास सम्भव भएन भने अरुलाई गाली गर्ने स्थिति नै रहँदैन।’

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटका सभापति हर्ष बहादुर बमले कालिकोट कांग्रेस र व्यक्तिगत तर्फबाट लेशक शाहीलाई बधाई तथा शुभकामना दिएका छन्। उनले भने, ‘धेरैले कुरा काट्दै थिए, नरेशले वडा अध्यक्षमा जित निकाल्न सक्दैन भनेर हामीले त्यसको वास्ता गरेनौं, हाम्रो जित भयो, कांग्रेस यूवा नेतृत्वलाई मुलुकको जिम्मेवारी थमाउन अग्रसर छ, हामीले त्यो अभ्यास गरिसकेका छौं, जीवन भोईका अनुभूति र मुलुकलाई आवश्यक कुराहरुलाई संग्रहित गर्नु कुनै सामान्य व्यक्तिले गर्ने र सामान्य काम पनि होईन, लेखकलाई हार्दिक बधाई छ।’कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कालिकोटका अध्यक्ष नगेन्द्र शाही ‘नेशनल’ले कालिकोटको परिचय बदल्नको लागि यूवाहरु अग्रसर हुनुपर्ने बताएका छन्। 

उनले भने,‘आज शूरु नगरे, कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? कालिकोटको परिचय बदल्नको लागि यूवाहरु रचनात्मक बन्नुपर्छ, अध्ययनशिल बन्नुपर्छ, राजनीतिक क्षेत्रमा के नै गर्लान भन्नेहरुका लागि नरेश बमले गरेर देखाई सक्नुभएको छ, हामीले त्यो देखिसकेका छौं।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ