arrow

बस्ने ठाउँ नभएर जनताको काम गर्न सकिएन : मुख्यमन्त्री राउत

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
cm_raut.jpg

काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक÷दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन्। उनले भने,‘संविधान संशोधनको लागि विभिन्न धारा÷उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए। उनले भने,‘हो, उपेन्द्रजीकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ, हिजो पार्टीले सरकारमा जाने निर्णय समेत गरिसकेको छ।’

आयोजित साक्षात्कारमा बोल्दै प्रदेश नम्बर २ लाई समृद्ध बनाउनको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री राउतले भने,‘मुख्यमन्त्रीको रुपमा मैले सपथ लिएकै दिन केही प्रतिबद्धता जनाएको थिएँ, सोही अनुसार म जनताको सेवामा उत्रिनेछु, मेरो पहिलो प्राथमिकता भनेको नै सुशासन कायम गर्दै प्रदेशलाई व्यापक विकासको माध्यमबाट समृद्ध बनाउनु हो, यसको लागि म सँग सक्षम टिम छ।’

उनले सुशासन भन्ने वित्तिकै ढिलासुस्तीको अन्त्य, अनियमितता रोक्नु र भ्रष्टाचार नियन्त्रण गर्नु भएकोले त्यतातर्फ आफ्नो सम्पूर्ण ध्यान जाने पनि सुनाए । राउतले भने,‘हामी त जनताका सेवक हौं, त्यसैले दिनरात नभनी हामी जनताको सेवामा लाग्छौं, सुशासन कायम गर्न कुनै सम्झौता गर्दैनौं।’

अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र बाटोघाटोको व्यापक समस्या रहेको उनको गुनासो थियो। मुख्यमन्त्री राउतले भने,‘हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ, मानव विकासको सूचांकको हिसाबमा पनि हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था धेरै तल छ, यसलाई स्तरोन्नती गर्नु हाम्रो दायित्व हो, त्यतातिर हाम्रो पर्याप्त ध्यान जान्छ।’

उनले आफूहरु जनताको चाहना अनुसार नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। २ नम्बर प्रदेशमा कृषिको पनि धेरै ठूलो सम्भावना भएको उल्लेख गर्दै उनले थपे,‘कृषिको व्यापक सम्भावना छ, जनताले मल, खाद्य र वीउ–विजन समयमै पाएका छैनन, कुनै जमाना यस्तो थियो, हामी खाद्यान्न विदेशतिर निर्यात गर्दथ्यौं, तर अहिलेको अवस्था आयात गर्नुपर्नेमा छ।’ उनले अब कृषि उत्पादनमा बढोत्तरी गर्ने आफूहरुको योजना रहेको सुनाए। 

विकास र समृद्धि हाँसिल गर्ने अभियानमा आफूहरु जुटेको उल्लेख गर्दै अहिले स्रोत र साधानको अभाव रहेको गुनासो पोखे। उनले थपे,‘हामीसँग गर्नसक्ने साहस र आँट छ, भएका स्रोत र साधनलाई ईमानदारपूर्वक सबै जनताले उपभोग गर्ने अवस्थामा पुर्याउँछौं।’यद्धपी उनले आफूहरु अहिले प्रारम्भिक चरणमा रहेकोले गर्नुपर्ने काम धेरै रहेको फेहरिस्त सुनाए। 

मुख्यमन्त्री राउतले आफूहरु अहिले संरचना निर्माणमा केन्द्रित रहेको पनि सुनाए। उनले भने,‘कार्यालयहरुको अभाव छ, हामी शुन्य अवस्थामा छौं, कार्यालय र मन्त्रालयको स्थापना हुँदैछ, कहाँबाट काम थालनी गर्ने हो ? बस्ने ठाउँ पनि छैन, बस्ने ठाउँहरु नभएर जनताको काम गर्न सकिएन्, तर यो समस्या नौलो होईन, यी र यस्ता खाले चूनौतिहरु पार लगाउँदै हामी प्रदेश नम्बर २ लाई समृद्ध बनाउँछौं।’

उनले भ्रष्टाचारीलाई कारबाही गर्ने पनि कडा चेतावनी दिए। यद्धपी अहिले ऐन तथा नियम बनाउने काम भैरहेकोले यो बनेसँगै आफूहरु कडा एक्सनमा उत्रिने उनको भनाई थियो। उनले थपे,‘दोषीलाई कारबाही गर्नको लागि ऐन त चाहियो नि? हामी त्यतातिर लाग्छौं, विधिसम्मत् रुपमा हामी भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही गर्छौं।’

त्यस्तै उनले आफूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफूलाई पूर्ण सहयोग रहने प्रतिबद्धता आएको पनि जनाए। उनले थपे,‘प्रधानमन्त्रीज्यूसँग मेरो बडो सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो, उहाँले जस्तोसुकै सहयोग गर्नपनि म तयार छु भन्नुएको छ।’

राउतले अनुसार कर्मचारी पुग्ने क्रम जारी रहेको पनि सुनाए। उनका अनुसार अहिलेसम्म करिब ७० प्रतिशत कर्मचारी पुगेका छन्। राउतले थपे,‘उहाँहरु निकै सहयोगी हुनुहुन्छ, यो महिनाभित्रै सबै कर्मचारी पुग्नुहुन्छ।’कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मुख्यमन्त्री राउतलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। उनले जनताका चाहना र अपेक्षा अनुसार काम गर्न पनि सुझाए। 

धमलाले भने,‘म भर्खरै जनकपुर भ्रमण सम्पन्न गरेर आज आउँदैछु, त्यहाँका जनताले म सँग धेरै गुनासोहरु पोख्नुभएको छ, विकास र सुशासन कायम गर्न मुख्यमन्त्रीको ध्यान जाओस्, २ नम्बर प्रदेशलाई समृद्ध बनाउनेगरि काम गर्नुहोस्, हामी तपाईको साथमा छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ