arrow

कांग्रेसबाट शिक्षा लिइएन भने एमालेभित्र भाँडभैलो हुन्छ : ज्ञवाली (अन्तर्वार्ता)

अहँकारले पतनतिरै डोर्‍याउँछ

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
yubraj_gyewali.JPG

एमाले माओवादी केन्द्रबीचको पार्टी एकतासँगसँगै शक्ति सन्तुलित गर्दै राज्यका महत्वपूर्ण पदहरु एकअर्काले लिने सहमतिसँगै अहिले वाम एकता बढिरहेको छ । वाम एकताका लागि बनेको कार्यदलले विभिन्न तारतम्य मिलाउँदै छ । अहिले यी दुई पार्टीमा देखिएकाे भागवण्डा र जिम्मेवारीबारे हामीले  एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग कुरा गरेका छाैँ :

० राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र घम्साघम्सी नै परेछ हैन ?
– प्रधानमन्त्ती निवास बालुवाटारमा राति १ बजेसम्म पार्टीको बैठक चलेको थियो । स्वभाविक रुपमा हामीले निकै लामाे र गम्भीर रुपमा छलफल गरेका हौं । पार्टीमा कुनै नेतालाई कुनै पदमा पुर्‍याउँदा हामी कसरी जानुपर्ने हो, पार्टी कसरी चलाउनुपर्ने हो, मन्त्री छान्दा वा मान्छे पुर्‍याउँदा छलफल हुन्छ, हामीले पनि गम्भीर ढंगले छलफल गर्‍यौं ।

विभिन्न समयमा भएको कमी कमजोरीको पनि चर्चा भयो, पार्टी र देश हामीले विधिपूर्वक चलाउनुपर्ने हुन्छ, त्यसका लागि नेताहरुको व्यवस्थापन ठीक ढंगले गर्नुपर्ने हुन्छ । यदि व्यवस्थापन गर्न सकिएन भने हामीले जनतालाई देखाएको सपना पूरा हुँदैन । अन्ततः हामी असफल रहने स्थिति आउन सक्छ ।

त्यसकारण पहिले पार्टीलाई बलियो र एकताबद्ध बनाऔं । माओवादी र हामीबीच एकता हुँदैछ, त्यसलाई अझ व्यवस्थित बनाएर लैजान जरुरी छ । फराकिलो दृष्टिकोणका आधारमा अगाडि बढौं । कुनै गुटगत मान्यता र पूर्वाग्रहका आधारमा नचलौं । केही कमीकमजोरी हामीबाट भएका छन् भन्ने महसुस नेताहरुले गरे। आइन्दा हामीले गल्ती दोहाेर्‍याउनु हुँदैन, हामी ठीक ढंगले जानुपर्छ । पार्टीभित्र बहस विवाद हुन्छ, त्यसलाई समाधान गरेर जानुपर्छ ।

अन्त्यमा झलनाथजीले म पनि राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नुभएको थियो, वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई पनि उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा चल्यो । एकजना महिला हो, थोरै समय मात्रै राष्ट्रपति हुनुभयो, उहाँलाई दोहोर्‍याउन ठीक हुन्छ भनियो ।

० विद्या भण्डारीलाई राष्ट्रपति बनाउन के कुरामा सहमति भयो ?
– अध्यक्ष केपी शर्मा ओलीले त्यत्ति धेरै नेताका बीचमा मबाट कमीकमजोरी भएको छ भने सच्चाउँछु भन्नुभयो । मिलेर, मिलाएर अझ घनीभूत छलफल गरेर हामी अघि बढ्नुपर्छ भन्नुभयो । अगामी दिनमा हामी कसरी जाने हो, हामी फेरि बैठक बसेर छलफल गरौंला, अहिले राष्ट्रपतिका विषयमा टुंग्याउँ भन्ने कुरासमेत भयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले यति कुरा भनिसकेपछि अरुले नाइनास्ती गर्ने हुँदैन ।

० विद्यालाई नै राष्ट्रपतिमा दोहोर्‍याउँदा कस्तो सन्देश गयो ?
– सन्देश के गयो भन्ने कुरा कार्यकर्ता र जनताले मूल्यांकन गर्ने विषय हो । तर, हामीले एउटा सन्दर्भमा व्यापक छलफल गरेर निर्णय गरेका छौं । विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदमा समर्थन गर्ने हामीले निर्णय गरेका छौं । यो निर्णय ठीक वा उचित हो कि होइन, त्यो त एमालेका आम कार्यकर्ता, पार्टी सदस्य र सम्पूर्ण नेपाली जनताले मूल्यांकन र समीक्षा गर्ने कुरा हो ।

० पार्टी अध्यक्ष सहमति र सहकार्यमा हिडेजस्तो देखिएन नि ?
– सबै कुरा सार्वजनिक गर्नु उपयुक्त हुँदैन, तर नेकपा एमाले कुनै एक व्यक्तिले बनाएको पनि होइन, चलाएको पनि छैन । सबैको प्रत्यन्त, मेहनत र परिश्रमबाट निर्माण भएको पार्टी हो । यो पार्टीमा सयौं सहिदको रगत बगेको छ, हामी विभिन्न पदमा रहेर काम गरिरहेका छौं, अनेक घुम्ती, उकालो आरोलो पार गरेर हामी यहाँसम्म आइपुगेका छौं । अहिले ऐतिहासिक उपलब्धी प्राप्त भएको छ, यसलाई हामीले व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियारको रुपमा प्रयोग गर्छौं कि राष्ट्र र जनताको हितमा यो शक्तिलाई प्रयोग गर्छौं अब हाम्रो सामू एउटा चुनौति देखापर्दैछ । आगामी दिनमा पनि व्यापक छलफल र बहस गरेर पार्टीलाई ठीक बाटोमा हिडाउने हाम्रो प्रयत्न जारी रहन्छ । बढ्ता मात्तियो भने, त्यहीअनुसार तल झर्ने स्थिति आउँछ, यो विज्ञानको नियम हो । जीतमा दम्भ र अहँकार बढ्यो भने त्यो आरालो लाग्छ ।

० पार्टीभित्रको बलियो समूहले पेल्दै जाने वातावरण बनेको हो ?
– जसलाई जे मन लाग्छ, त्यही गर्न सक्छ, तर त्यो केही समयका लागि मात्र हो । कम्युनिष्ट पार्टीमा सक्रिय रुपमा मैले काम गरेको ४५ वर्ष भयो । पुष्पलाललगायत धेरै नेताहरुको संगत गरेको छु, देखेको छु, बुझेको छु । त्यत्ति सजिलो छैन, एकपटक म शक्तिमा आएँ, मसँग बहुमत छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाउँछु, सक्छु भन्ने दम्भ र अहँकार बढ्यो भनेदेखि त्यो अहँकारले पतनतिर डोर्‍याउँछ । हामी र हाम्रा नेतालाई यी सबै कुरा थाहा छ । त्यसकारण असाध्य गम्भीर भएर चल्नुपर्छ ।

० मौका पाएका बेला गरौं न भन्ने परिस्थिति देखियो ?
– हो, अहिले त्यस्तो परिस्थिति देखिएको छ । खाइहालौं, गरिहालौं, कांग्रेसले पनि पटक‍-पटक बहुमत ल्याएकै हो, मन्त्री पटक-पटक भएकै हुन् । आजीवन मन्त्री हुने मान्छे त्यहाँ थिए । आखिर चल्दो रहेनछन त, त्यसबाट एमालेले पाठ सिक्नु पर्दैन ? मलाई लाग्छ, हामीले शिक्षा लिन्छौं ।

० एमालेभित्र आन्तरिक व्यवस्थापन नभएका बेला माओवादीसँग एकता हुँदैछ, यसले कस्तो प्रभाव राख्ला ?
– पार्टी एकताबद्ध भएर जानुपर्छ भनेर हामीले छलफल र बहस गर्दै आइरहेका छौं । आज नयाँ परिस्थिति आएको छ, दुईवटा पार्टी एक हुने निश्चित भइसक्यो । यसलाई २२ अप्रिलका दिन हामी घोषणा गर्दैछौं । दुईवटा पार्टीलाई कसरी जोड्ने त्यसबारे एक्ससाइज भइरहेको छ । पार्टी एकता ऐतिहासिक सफलता हो, तर त्यो धेरै चुनौतिपूर्ण छ । संकीर्ण र गुटगत मानिसकताबाट आग्रह, पूर्वाग्रह राखेर चल्ने हो भने पार्टी भद्रगोल हुन्छ । फराकिलो सोचले हामी अघि बढ्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ