arrow

केन्द्र विवादले दुधकोशीबासी आन्दोलित, गाउँपालिका प्रमुखलाई नै कार्यालयमा प्रवेश निषेध 

logo
सन्तोष राउत,
प्रकाशित २०७४ फागुन २४ बिहिबार
dudhkoshi-gaupalika-birodh.jpg

सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको चर्को विरोध शुरु भएको छ। गत पुस १३ गतेको गाउँसभाबाट पारित भएको निर्णय विपरित गाउँपालिकाको केन्द्र कायम भएको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका छन्।

वडा नम्बर ३ को बासा स्वास्थ्य चौकी नजिकैको माझगाउँ खोला–सोमबारे खास्ताप बासा मुनीदेखि दाम्कु हाल रहेको गाउँपालिकाको कार्यालयसम्मको सडक आसपासमा राख्ने उल्लेख गरिएको भए पनि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँसभाको निर्णय विपरित गाउँपालिकाको केन्द्र खास्ताप, बासामा राख्ने एकलौटी सिफारिस गरेको आरोप लगाउँदै स्थानीयले आन्दोलन चर्काएका हुन्। 

गाउँसभाबाट पठाइएको निर्णयअनुसार फागुन १४ गते गाउँपालिकाको केन्द्र साविक बासा गाविसको खास्तापमा तोकेर राजपत्रमा सूचना प्रकाशित भएपछि स्थानीय आन्दोलित भएको स्थानीय आन्दोलनकर्तामध्येका ललित कार्कीले बताए। गाउँपालिकाको केन्द्र सार्ने अध्यक्षको पछिल्लो सिफारिस विरुद्ध वडा अध्यक्षहरु विभाजित देखिएका छन्। केही वडा अध्यक्षहरुले साविकको दाम्कुमा रहेको केन्द्र सार्न नहुने बताएका छन् भने केही वडा अध्यक्षले भने अहिले तोकिएको स्थान सबैलाई उपयुक्त भएका बताएका छन्। 

अध्यक्ष राईले केन्द्रको विषयमा गाउँसभाले पारित गरेकै निर्णयलाई आधार मानेर आफुले सिफारिस गरेको बताए। गाउँपालिकाको केन्द्रबारे व्यक्तिगत रुपमा कुनैपनि निर्णय नगरेको र बहुमतले जे पारित गरेको छ त्यही कुरा सिफारिस  गरेको उनले दावी गरे।  

गाउँसभाको निर्णय अनुरुप केन्द्र सच्याउनुपर्ने र अध्यक्ष राईलाई कानुनी कारबाही गरिनुपर्ने माग गर्दै स्थानीयले गाउँ कार्यपालिकाको कार्यालयमा नाराजुलुस गर्दै गाउँपालिकाका प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। गाउँसभाबाट पारित निर्णय अनुरुप केन्द्र सिफारिस नभएसम्म चरणबद्ध आन्दोलन गर्ने स्थानीय पदमबहादुर कार्कीले बताए। आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २३ गते विहान कार्यालय समयमा अध्यक्ष राईलाई कार्यकक्षमा प्रवेश निषेध गरिएको थियो। 

निर्णयको विरोधमा वडा नम्बर ३ का वडा सदस्य बुद्धिबहादुर राईको संयोजकत्व तथा पञ्चे राईको सहसंयोजकत्वमा सात सदस्यीय स्वतन्त्र समिति गठन गरिएको छ। समितिमार्फत अध्यक्षको गलत प्रबृत्ति विरुद्ध अभियान चलाउने र कानुनी उपचारका लागि प्रक्रिया अघि बढाउने निर्णय भेलाले गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ