arrow

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

logo
भीष्मराज ओझा,
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
upper-house-mp.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएका हुन्। नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ।

यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उनीहरु उपस्थित हुन पाएका थिएनन्। सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उनीहरुलाई शपथ लिन बाटो खुलेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गरिएको थिए।

सो रिट दायरपछि फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न-नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।

तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यमा मनोनयन लागि बस्नेत, पौडेल र जोशीको नाम गत माघ २६ गते सिफारिश गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती नाम फिर्ता लिएर फागुन ८ गते राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि डा खतिवडा, विडारी र डा पौड्यालको नाम सिफारिश गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकि थिइन्। नेपालको संविधानमा सातै प्रदेशबाट आठ-आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ।

राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउने छैन। राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।

निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ। उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन्। सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन। तसर्थ आज शपथ लिनुभएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ।

तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ