arrow

मोबाइलमा बोल्न पाउँदा गुर्जामा खुसीयाली

एक पटकमा ३६ जनाले मोबाइलबाट कुराकानी गर्न सकिने क्षमता रहेको छ ।

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
Myagdi-hamrakura.jpg.jpeg
म्याग्दी । म्याग्दीको दुर्गम गाविस गुर्जामा मोबाइल सेवाको पहुँच पुगेको छ । जिल्ला सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जामा नेपाल टेलिकम म्याग्दी शाखाले स्याटलाइट प्रविधिबाट जिएसएम मोबाइल फोनको सेवा विस्तार गरेसँगै स्थानीयवासी खुसी भएका छन् । 

टेलिकमको माइक्रो विटिएस मोडल सेवाको लागि आवश्यक उपकरण जडान गरेपछि सोमबार बिहानदेखि गुर्जामा मोबाइल फोनको सेवा पुगेको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले जानकारी दिए । एक पटकमा ३६ जनाले मोबाइलबाट कुराकानी गर्न सकिने क्षमता रहेको छ । 

उक्त मोबाइल फोन सेवामार्फत इन्टरनेटसमेत चलाउन सकिनेछ । मोबाइल सेवा निर्देशनालयबाट उपलब्ध भएको उपकरण जडान गर्न गुर्जा पुगेका टेलिकम धवलागिरी अञ्चल कार्यालय बाग्लुङका इन्जिनियर अमृत नेपालले परीक्षण सफल भएसँगै गुर्जा मोबाइल फोनको सञ्जालमा जोडिएको बताए । 

जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको यात्रापछि पुगिने गुर्जामा मोबाइल फोन सेवाको पहुँच विस्तारका लागि कोरियामा गएका स्थानीय युवाले उपकरण ढुवानीको लागि रु ६० हजार सहयोग गरेका छन् भने इङलेखोला लघुजलविद्युत् परियोजनाबाट पाँच किलोवाटको विद्युत् सेवा उपलब्ध गराइएको छ । 

समुदायका सबै घरधुरीले उपकरण राख्नका लागि पाँच दिनको श्रमदानबाट भवन निर्माणसमेत गरेको स्थानीय अगुवा झकबहादुर छन्त्यालले जानकारी दिए । ‘‘मोबाइल सेवाको पहुँचले गुर्जावासीमा उत्साह र खुसीयाली छाएको छ । मोबाइल र इन्टरनेट सुविधा उपलब्ध भएपछि देश विदेशमा रहेका आफन्तसँग सजिलै कुराकानी गर्र्न सुविधा पुगेको छ ’’ छन्त्यालले भने । 

गुर्जामा यसअघि चार लाइन ‘भिस्याट’ प्रविधिको टेलिफोन सेवाको पहुँच भए पनि मौसममा खराबी हुँदा बन्द हुने र महँगो प्रविधिका कारण उक्त टेलिफोनमा सर्वसाधारणलाई सहज हुनसकेको थिएन । मोबाइल फोन सेवा विस्तार भएसँगै एक कल फोन गर्न घन्टौँ लाइन लागेर पर्खनुपर्ने बाध्यता समेत हटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ