arrow

राष्ट्रियसभाको अध्यक्ष को बन्ला, हुँदै मनोनयन, यी हुन् भोट हाल्न नपाउने अभागी सांसद

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
sanghiya-samsad.png

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष चुन्न निर्वाचन बुधबार हुँदैछ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । 

सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैबीच, सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् । 

उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले अस्ति बिहीबारमात्रै शपथ लिएका थिए । 

मतदाता नामावली एक दिनअघि बुधबारनै प्रकाशित भइसकेको थियो । 

मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा कुनै हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ । 

राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ