arrow

सडक निर्माणका ठूला योजना आफूखुशी, ४३ करोड बाटामा 

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७४ फागुन २९ मंगलबार
Palpa_District.png

पाल्पा । गाउँ या शहर धुलाम्मे छन, अहिले । जता ततै डोजरमयी वातावरण छ ।  स्थानीय सरकारहरुले आ–आफ्ना कार्ययोजनाहरु बनाएर काम गर्नेक्रममा बाटो निर्माणमा सबै भन्दा बढी प्राथमिकता दिईएको छ ।

जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका सरकारहरुले विकासको मेरुदण्ड ठानिने सडकलाई पहिलो प्राथमिकतामा दिएका छन् ।  

गाउँ गाउँमा सडक निर्माण तथा मर्मतको काम अहिले धमाधम भईरहेका छन् ।  पहाडी क्षेत्र र भौगोलिक विकटताले गर्दा पनि ग्रामीण वस्तीलाई सुगम र यातायातको सहज पहुँचका लागि स्थानीय सरकारले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएको उनीहरुको भनाई छ  । निर्वाचित जनप्रतिनिधीले, सडकको स्तरउन्नती तर्फ भन्दा नयाँ ट्रयाक खोल्न तर्फ धेरै बजेट विनियोजन गरेका छन् ।

युवाहरुको  श्रम र सीपलाई स्वदेशमै उपयोग गर्ने मूख्य माध्यम कृषि व्यवसाय हो । गाउँमा किसानहरु व्यवसाय उन्मूख भएका छन् । उनीहरुले उत्पादन गरेको कृषि उपज बजार सम्म पु¥याउनका लागि र सहज रुपमा आवत जावतका लागि पनि सडकलाई मूख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गरेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । 

अध्यक्ष थापाका अनुसार, गाउँपालिकाले सडकका लागि चार करोड ५० लाख रकम विनियोजन गरेको छ । प्रदेश कै जेठो नगरपालिका तानसेन नगरपालिकाले चालुवर्ष स्थानीय तहहरुमा सडक सञ्जाले जोड्नु पर्ने भएकाले सडक वर्षका रुपमा काम अगाडी बढाएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

शाहीका अनुसार नगरपालिकाले चालुवर्ष, १० करोड रुपैयाँ रकम सडक क्षेत्रलाई विनियोजन गरेको छ ।  जिल्लाको दोस्रो व्यापरिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकाले ६ करोड रकम विनियोजन गरेको नगर प्रमुख रमण थापाले बताए ।  

सडकको ट्रयाक खोलेर स्तर उन्नतीका लागि गाउँपालिकाले मात्र नभई वडा कार्यालयहरुले समेत मुख्य प्राथमिकतामा राखेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । 

वडा कार्यालयले पनि धेरै रकम सडकमै विनियोजन गरेको छ । वडाको वजेटले मात्र नभ्याउने भएकोले गाउँपालिकाले ३ करोड ६ लाख ३५ हजार रुपैया विनियोजन गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।


बजेट तथा नीति कार्यक्रम निर्माण,कार्यन्वयनका लागि पूर्ण अधिकार सहित सबै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्था भएमा विगतमा कम बजेटले सडक निर्माण गर्दा रकम अपुग भएकोले यस पटक सबैको माग सडक निर्माण भएको बगनासकाली गाउँपालिकाको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । 

अध्यक्ष बस्यालका अनुसार गाउँपालिकाले सडकका लागि ३ करोड भन्दा बढी रकम विनियोजन गरेको छ । शुरुमा पूर्वधार निर्माणमा लागि सडक सञ्जालले जोड्नुपर्ने भएकाले गाउँपालिकामा पहिलो प्रथामिकता सडकलाई दिएको  तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । अध्यक्ष घर्तीका अनुसार सडकका लागि यस वर्ष ३ करोड ६३ लाख ९३ हजार रुपैयाँ रकम छुट्याएर काम थालिएको छ । 

गाउँपालिकामा विगतमा सडक सञ्जालले जोड्न नसकेका स्थानहरुमा यस वर्ष सडक पुर्याउने उद्धेश्यले सडकमा ४ करोड रकम विनियोजन गरेको रैनादेवी गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । 

त्यस्तैगरी रम्भा गाउँपालिकाले सडक क्षेत्रलाई २ करोड ६८ लाख रकम छुट्एको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । रिब्दीकोट गाउँपालिकाले पनि सडकलाई नै प्रथामिकतामा राखेर काम गरेको अध्यक्ष नारायणबहादुर जिसीले बताए । 

अध्यक्ष जिसीका अनुसार गाउँपालिकाले २ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । निस्दी गाउँपालिकाले पनि सडक क्षेत्रलाई नै प्रथामिकता दिएर काम गरेको  छ । 

सडक क्षेत्रमा ३ करोड ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । दुइ दशक भन्दा धेरै समय पछि स्थानीय तहमा जनप्रतिनिधि वहाल भएपछि निर्वाचनका समयमा आफुले गरेको प्रतिवद्धता बमोजिम अध्यक्षहरुले  ५० हजार रुपैयाँ देखि २ करोड रुपैया सम्मका एउटै सडक योजनाका लागि रकम विनियोजन गरेको सम्बद्ध गाउँपालिकाका प्राविधीकहरु बताउँछन् ।  

जिल्ला भित्रका बासटारी – झडेवा, हार्थोक –छहरा, आर्यभञ्ज्याङ्ग– रामपुर यी तीन वटा मुख्य सडकहरु जिल्ला विकास समिति निर्माण गरेर स्तरउन्नति गरी कालोपत्रे समेत गरिसकेको छ । 

तिनै सडकलाई गाउँबस्ती सम्म जोडिनका लागि स्थानीयतहले चालुबर्षमा ४२ करोड ६३ लाख २८ हजार भन्दा बढी रकम विनियोजन गरेका छन् ।

जिल्लाको सबै स्थानीयतह सम्म सडक सञ्जालले जोडिएको छ । पछिल्लो समयमा ट्रयाक खोलिएका सडकहरुमा बर्षायाम सुरु हुनासाथ सवारीका साधनहरु ठप्प हुने गर्दछन् । 

तिनै सडकहरुमा बाह्रै महिना सवारीका साधन सञ्चालन गर्न सकिने गरी स्तरउन्नतीको पनि काम भएको गाउँपालिका अध्यक्षहरुले बताउँछन् ।  पूर्वाधार निर्माणका क्रममा प्राविधिकले नापजाच गरेर त्यसैको आधारमा रकम विनियोजन गर्नु पर्ने हो । 

तर प्राविधिकको नाप जाँच विना नै सडक निर्माणका लागि धेरै वजेटहरु विनियोजन भएका छन् । जसले गर्दा कार्यान्वयनमा समस्या परेको प्राविधिकहरु बताउँछन् । केही गाउँपालिकाका अध्यक्षहरुले सडक निर्माणका योजनाहरु मध्ये ठूला योजना आफुखुशी सञ्चालन गरेको पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ