arrow

विवेकशील साझाले किन राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने ?

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
bibeksil-sajha.jpg

काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । 

प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । 

संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । 

पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । 

संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ । 

प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ । 

अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेलको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ