arrow

ओलीबारे के भन्छन् जोली ?

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
bijaya-joli.jpg.jpeg

काठमाडौं। नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना साक्षात्कारमा बोल्दै नेता जोलीले भने,‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहने रहन्छ।’ भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाई थियो । जोलीले भने,‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको विश्वास थियो ।

उनले आफूले पहिलोपटक काठमाडौं बाहिरको भ्रमण गरेको उल्लेख गर्दै भने,‘मलाई पहिलोपटक काठमाडौं बाहिर पश्चिम नेपाल जाने अवसर मिल्यो, पश्चिम नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएको छ, सुनौली, भैरहवा, बुटवल, वालिङ, पोखरा यी सबैलाई जोड्ने सिद्धार्थ हाईवेले जोड्छ, जुन १९६४ मा भारत सरकारको सहयोगमा निर्माण सुरु भएर १९७१ मा सम्पन्न भएको थियो, यो १८१ किलोमिटरको लामो हाईवे बनेको हो।’


उक्त हाईवे अहिले जर्जर अवस्थामा रहेको जोलीको गुनासो छ । उनले थपे,‘सडकहरु फुटेका छन्, जीर्ण अवस्थामा छन्, सन् २०१८ मा यदि पश्चिम नेपालको विकास भएको हेर्न मन छ भने पोखरा जाने सडकलाई स्तरोन्नती गर्न जरुरी छ, रेभिन्यू बृद्धि गर्ने हो भने, अब सिद्धार्थ हाईवेलाई ५ लेनको बनाउन जरुरी छ, म यो कुराको ध्यानाकार्षण गराउन चाहन्छु।’


उनले आफूले यस सम्बन्धमा भारत र नेपाल दुवै तर्फका सम्बन्धित निकायसँग कुरा राख्नेपनि सुनाए । उनले थपे,‘यस सम्बन्धमा म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी, रेल तथा सडक यातायात मन्त्री नीतीन गड्करी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग पनि कुरा राख्न चाहन्छु।’ उनले पश्चिम नेपालमा बस्ने साँढे ४९ लाख नेपालीहरुको विकास र समृद्धिको लागि पनि यो सडक स्तरोन्नती गरेर ५ लेनको बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौंमा अहिलेपनि व्यापक प्रदुषणको समस्या रहेको बताउँदै जोलीले भने,‘यहाँ देखिएको र दिनप्रतिदिन बढ्दै गएको वातावरण प्रदुषण अलार्मीङ लेभलमा छ, यसलाई अब समाधान गर्ने, खासगरी न्यूनिकरण गर्नतिर ध्यान दिनुपर्छ।’ उनले वर्तमान ओली नेतृत्वको नयाँ सरकारले वातावरण प्रदुषण कम गर्न सजग हुनुपर्ने बताए । उनले थपे,‘सरकारले यसबारेमा सार्थक कदम उठायोस्, नेपाल ग्रिन, चलायमन र पूरा राज्य समृद्धिशाली होस्।’

उनले नेपाल–भारतबीचको प्रवुद्ध व्यक्ति समूहले द्धिपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्न साथर्क रुपमा काम गर्ने पनि विश्वास व्यक्त गरे । त्यस्तै उनले नेपालमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरुलाई बैंकिङ च्यानलमार्फत आफूले आर्जन गरेको पैसा पठाउन सहज वातावरण बनाउन पनि नेपाल सरकारलाई आग्रह गरे । उनले भने,‘जसरी भारतमा बस्ने नेपाली नागरिकहरुले भारतमा आफूले कमाएको पैसा स्वदेश ल्याउन पाउने सहज व्यवस्था छ, त्यस्तै नेपालमा बसोबास गर्ने भारतीयहरुले पनि लैजान पाउनुपर्छ।’

नेपाल र भारतबीचको सम्बन्ध रोटी र बेटीको सम्बन्ध भएकोले यो ऐतिहाँसिक सम्बन्ध भएको उनको दाबी थियो । उनले थपे,‘अब द्धिपक्षीय सम्बन्धलाई थप सबल र सशक्त बनाउनुपर्छ, विकासको माध्यमबाट सम्बन्धलाई अघि बढाउनुपर्छ, नेपाल र भारत दुवै नागरिकाहरुले आउन र जानको लागि भिसा हान्नु पर्दैन्, यो ऐतिहाँसिक सम्बन्धलाई अब पिपुल टु पिपुल अर्थात जनस्तरमा अझै थप मजबुद बनाउनुपर्छ, मेरो र भारतको यही विषयमा हरहमेश कोशिस रहन्छ।’

आफूले नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गरेको सुनाउँदै भने,‘म निकै कृतज्ञ छु, आगामी दिनमा हामीबीचको मित्रताको सम्बन्ध, व्यापारमैत्री हुँदै जानेछ, दोष्ती राम्रोसँग अघि बढ्नेछ।’
यद्धपी उनले पछिल्लो पटक देखिएको नेपाल–भारत सम्बन्धको समस्यामा भारतको कुनै हात नरहेको जिकिर गरे । जोलीले भने,‘त्यतिवेलापनि र अहिलेपनि भारतको नेपालमा सकारात्मक भूमिका थियो, आर्थिक नाकाबन्दीको जुन आरोप हामीमाथि लगाईएको थियो, त्यो झुठ हो, यो त बरु नेपालकै आन्तरिक राजनीतिक घट्नाक्रमले भएको थियो ।’

आफूहरु नेपालमा जहिल्यैपनि विश्वास र आन्तरिक समझदारीको आधारमा दलहरु समग्रतामा र सह–अस्तित्वको भावानाले अघि बढुन् भन्ने पक्षमा रहेको जिकिर गरे । उनले भने,‘हामी सहमतिको आधार र सह–अस्तित्व अनुसार नेपालका दलहरु अघि बढुन भन्ने पक्षधर हौं।’

नेपालमा भैरहेको धर्म परिवर्तनबारे पत्रकारद्धारा सोधिएको एक प्रश्नमा उनले भने,‘कुन धर्म मान्ने हो वा नमान्ने हो, यो नेपालीहरुले आँफै तय गर्ने विषय हो, यसबारेमा बोल्ने मेरो अधिकार छैन्।’ यद्धपी उनले आफू हिन्दु भएकोमा गौरवान्वित भएको सुनाए । उनले भने,‘पैसा वा प्रलोभनको आधारमा नेपालमा भएको धर्म परिवर्तनबारे मैले अघिल्लो पटक नेपालका पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा र ओलीसँग कन्र्सन राखेको थिएँ, उहाँहरु यो गलत हो भन्ने कुरामा एकमत हुनुहुन्थ्यो, उहाँहरुले धर्मपरिवर्तनबारे आफ्नो चिन्ता व्यक्त गर्नुभएकै हो।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ