arrow

अहिले न्यायालय भकभक उम्ली रहेको छ : प्रधानमन्त्री ओली

वैशाखअगावै पार्टी एकता

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
oli.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनसक्ने बताएका छन् ।  

सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताए ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उनले भने—“वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गरे ।

उनले भने– “अहिले न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने मान्छे तमासा हरेर पुर्पुरोमा हात लाएर बसिरहेका छन्, जिम्मेवार पदका बारेमा जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् अवस्था हो ।”

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधैँ तत्पर रहेको प्रष्ट पारे।

सो अवसरमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गरे ।

उनले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गरे।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ